मंगलसेन नगरपालिकाको गाडीमा आगजनी



अछाम - सदरमुकामस्थित मंगलसेन नगरपालिकाको गाडीमा मंगलबार राती अज्ञात पक्षले आगजनी गरेको छ । नगरप्रमुखले चढ्ने फोर्ड कम्पनीको बा २ झ ३६९४ नम्बरको गाडीमा राती करिब २ बजेतिर आगजनी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । नगरपालिकाको कार्यालय अगाडी पार्किङ गरी राखेको उक्त गाडीमा कसले आगजनी गरेको भन्ने खुलेको छैन । गाडीमा आगजनी भएको थाहा भएपछि डिएसपी सहित प्रहरी सेनाका गणपति, नगर उपप्रमुख लगायत कार्यालयमा पुगेपनि गाडी क्षति भइसकेको थियो । गाडीसँगै रहेको नगरपालिकाको जस्तापाताको भवन र कार्यालयमा रहेका सामग्री भने सुरक्षित रहेका छन् । एक वर्ष अघि नगरपालिकाले एक करोड २० लाखमा उक्त गाडी खरिद गरेको थियो । 

घटनाका बारेमा अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेको हुनसक्ने केही स्थानीयले अनुमान गरेका छन् । नगरको कामको सिलसिलामा काठमाडौँ रहेका मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले घटना दुखद भएको भन्दै कुनै गुनासा भए आफुसंग राख्न सकिने भएपनि सार्वजनिक सम्पतिमा आगो लगाउन निन्दनीय भएको बताउनुभयो ।

शिवराज ढुंगाना


about author
प्रतिक्रिया