सिक्टा सिँचाइको क्षतिग्रस्त भाग आयोजनाले नै बनाउने



नेपालगन्ज - परीक्षणकै क्रममा दुई पटक भत्किएको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको मूल नहरको मर्मत सम्भार हालका लागि आयोजनाले नै गर्ने भएको छ । परीक्षणको क्रममा भत्किएर क्षतिग्रस्त भएको मूल नहरको मर्मत तथा सुधारको काम हालका लागि आयोजनाले गर्ने प्रस्तावलाई सरकारले स्वीकृत गरेकोले अब मर्मत सम्भारको काम केही दिनभित्रै सुरु गरिने आयोजनाका प्रमुख कृष्ण नेपालले बताउनुभयो । सरकारको निर्णयपछि नौ महिनादेखि अलपत्र अवस्थामा रहेको क्षतिग्रस्त नहरको मर्मत तथा सुधारको काम सुरु गरिने तयारी भइरहेको जनाउँदै आयोजनाका प्रमुख नेपालले प्रक्रिया पूरा भएपछि अब छिटै काम सुरु गरिने बताउनुभयो । बाँकेका किसानका लागि बहुप्रतिक्षित सो आयोजनाको निर्माण सम्पन्न नहँुदै अगैयादेखि महादेवपुरीसम्मको मूल नहर पटक–पटक भत्किएर क्षतिग्रस्त भएपछि त्यसको मर्मत सम्भार आयोजना वा निर्माण कम्पनी कसले गर्ने भन्ने अन्योल लामो समयदेखि रहेको थियो । 

क्षतिग्रस्त मूल नहर खण्डको मर्मत सम्भार गर्ने सम्बन्धमा देखिएको अन्योल हटाउनका लागि आवश्यक निर्णय गरी उपयुक्त निकास निकाल्न आयोजनाले गत ६ महिनादेखि निरन्तर प्रयास गर्दै आएको प्रमुख नेपालले बताउनुभयो । 

मर्मत सम्भारको प्रस्ताव पारित भएलगत्तै त्यसको अनुमानित लागत स्टिमेट तयार गरेर विभागमा बुझाइएको छ, सो स्टिमेट स्वीकृत भएर आउने वित्तिकै काम सुरु गरिनेछ, प्रमुख नेपालले भन्नुभयो । करिब एक साताभित्र विभागबाट स्टिमेट पास भएर आउने तथा त्यसपछि मर्मत सम्भारका प्रक्रियाहरू पूरा गरेर काम सुरु गरिने उहाँले जनाउनुभयो । वर्षा अगावै धेरै काम गर्न नसकिए पनि केही अति आवश्यक काम पूरा गर्ने योजना आयोजनाले बनाएको जनाउँदै आयोजना प्रमुख नेपालले त्यसपछि कामलाई तीव्रता दिइने बताउनुभयो । मर्मत सम्भारका लागि कति रुपियाँको स्टिमेट बनाएर विभागमा पठाउनु भएको छ भनी सोधिएको प्रश्नको जवाफमा उहाँले विभागबाट स्वीकृत भएर नआउँदासम्म भन्न नमिल्ने बताउनुभयो । ५० क्युमेक्स (५० हजार लिटर प्रतिसेकेन्ड) क्षमताको मूल नहरमा ४ क्युमेक्स पानी छोड्दा २०७५ साउन ७ गते राति ढकेरीको चंगाई खोला नजिकै र २०७३ असार १४ मा पनि ढकेरी क्षेत्रमै मूल नहर भत्किएपछि सिक्टा नहरको भविष्यका बारेमा विभिन्न आशङ्का उत्पन्न भएका थिए ।


about author
प्रतिक्रिया