प्रचण्ड र बाबुरामको अनौठो संयोग !



काठमाडौँ -  उतारचढावपूर्ण राजनीतिक जीवनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई अहिले नयाँ भूमिकामा छन् । विगतमा लामो समय एउटै पार्टीमा फरक–फरक जिम्मेवारी लिएका प्रचण्ड र बाबुरामले अहिले फरक फरक राजनीतिक कोर्स अगाडि बढाएका छन् । संयोग कस्तो परेको छ भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको एकीकृत पार्टीमा दुई अध्यक्ष रहने व्यवस्था भयो । त्यसै अनुसार प्रचण्ड एक अध्यक्ष भएरछन् । एमाले र माओवादीबीचको एकता भएको एक वर्ष हुन लाग्दा बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरम, नेपालबीच एकता भयो । नयाँ शक्ति र फोरम मिलेर बनेको समाजवादी पार्टी नेपालमा पनि दुई अध्यक्ष रहने व्यवस्था रह्यो । यहाँ पनि दुई अध्यक्षको संरचना बन्यो र त्यसै अनुसार बाबुराम पनि नयाँ पार्टीको अध्यक्ष बने ।

प्रचण्ड र बाबुरामको राजनीतिक जीवनमा आएको नयाँ भूमिका संयोग पनि हो । तर, यो संयोग विगतमा प्रचण्ड र बाबुरामको राजनीति जीवनको भन्दा अलि फरक छ । यसबाहेक यो संयोग प्रचण्ड र बाबुराम दुवैका लागि अनुभव र अनुभूतिका हिसाबले नयाँ पनि छ ।

विगतसँग मिल्दैन अहिलेको भूमिका

२०४३ को सेक्टर काण्डपछि तत्कालीन महासचिव मोहन वैद्यले राजीनामा गरे र प्रचण्डलाई पहिलो पटक पार्टीको मूल नेतृत्व लिने मौका मिलेको थियो । त्यसपछि एमाले र माओवादीबीच एकता हुनु अगाडिसम्म कहिले महासचिव त कहिले अध्यक्षात्मक मोडलमा प्रचण्डले ३० वर्ष पार्टीको नेतृत्व गरे । पार्टी कमजोर हुँदा होस् या बलियो हुँदा, जनयुद्ध लड्दा होस् या शान्ति प्रक्रियामा आउँदा नै किन नहोस्, प्रचण्ड सधैँ कार्यकारी भूमिकामा रहे र एकल नेतृत्वबाट पार्टी चलाए अर्थात प्रचण्ड जहिल्यै पनि नेतृत्वमा रहँदा शक्तिशाली बनिरहे ।

उदारणका लागि प्रचण्डले २०३१ सालमा मार्क्सवादी अध्ययन समूहको गठन गरेर त्यसको नेतृत्व गरे । त्यस्तै २०३८ सालमा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भएर काम गरे । २०४० सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको अध्यक्ष बने । प्रचण्ड २०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित भए । पाँचौँ महाधिवेशनबाट २०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटब्युरो सदस्य भए । २०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री बने भने २०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री बनेर काम गरे । त्यस्तै २०५१ सालमा ने.क.पा. (माओवादी) को महामन्त्री बनेका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट ने।क।पा। (माओवादी)को अध्यक्ष बने ।

२०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएर जनयुद्ध गरे । ०६९ मा हेटौँडा महाविधेशनबाट पार्टी अध्यक्ष बनेका प्रचण्ड २०७१ को विराटनगर सम्मेलनबाट पुनः पार्टी अध्यक्ष भए । तर यति लामो समय पार्टीको प्रमुख कमान्डर रहेका प्रचण्डका अगाडि त्यसबेला नयाँ भूमिका आइलाग्यो, जतिबेला उनले नेतृत्व गरेको तत्कालीन माओवादी केन्द्रले ०७५ जेठ ३ गते एमालेसँग पार्टी एकता गर्यो र बन्यो नेकपा ।

एकीकृत पार्टीले दुई अध्यक्षात्मक पद्धति अपनायो । विधानतः दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको समान हैसियत छ । तर व्यवहारतः अवस्था फरक छ । अध्यक्ष प्रचण्डले मात्रै चाहेर नेकपामा बैठक बोलाउन नसक्ने अवस्था छ । अझ भन्दा प्रधानमन्त्री ओलीको अनुपस्थितिमा अहिलेसम्म अध्यक्ष प्रचण्डले कुनै बैठक बोलाउन सकेका छैनन् । विधानले एकता महाधिवशसम्मका लागि बैठकमा लागि आलोपालो अध्यक्षता गर्ने भनेको छ ।

पार्टीका हरेक निर्णय प्रधानमन्त्री ओलीले एक्लै लिने गरेका छन् । सचिवालय, स्थायी कमिटीको बैठक, साङ्गठनिक एकीकरण, पार्टीको दस्तावेज लगायतका विषयमा प्रधानमन्त्री ओली नै हाबी छन् । जस्तो कि नेकपाको राजनीतिक प्रतिवेदनलाई अध्यक्षद्वयकै छलफल र सहमतिमा प्रचण्डले सम्पादनसहित अन्तिमरूप दिएर प्रकाशन गर्ने गरी गत ०७५ जेठ महिनामै प्रधानमन्त्री ओलीलाई बुझाएका थिए । प्रचण्डले फाइनल गरेको उक्त प्रतिवेदन एक वर्ष वितिसक्दा पनि प्रधानमन्त्रीकहाँ गएर अड्किएको छ अर्थात् प्रकाशित हुन सकेको छैन ।

विधान र व्यवहारमा फरक हुनुको अर्को पनि कारण देखिन्छ । मूलतः २०७० को संविधानसभाको चुनाव र २०७४ को स्थानीय तहको चुनावी अङ्कगणितका हिसाबले तत्कालीन एमाले सबैभन्दा ठूलो दल बन्यो । तत्कालीन माओवादी तेस्रो दल बन्यो । २०७४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा दुई दलले ६०–४० को अनुपातमा गठबन्धन गरे । चुनावी परिणाममा पनि तत्कालीन एमाले ठूलो दल बन्यो । त्यसअर्थमा पनि पार्टी एकीकरण हुँदा एमाले ठूलो दलको हैसियतमा नेतृत्वमा दाबी गर्यो । अहिले नेकपाका हेरक निर्णयमा पहिलो नै छ । त्यसबाहेक तत्कालीन एमालेको पुरानो सङ्गठन पनि अर्को कारण बनेको छ ।

प्रचण्डको मनोविज्ञान

यसरी हेर्दा प्रचण्डको अहिलेको भूमिका उनको मनोविज्ञानसँग मेल खानेको खालको छैन । विगतलाई हेर्ने हो भने सधैँ प्रमुख पदमा रहने, धेरैभन्दा धेरै शक्ति केन्द्रित गर्ने र जहिल्यै पनि राजनीतिलाई आफ्नो वरिपरि घुमाउने प्रचण्डको भूमिका देखिन्छ । तर अहिले दुई अध्यक्ष हुँदा प्रचण्डले सोचेजस्तो हुने अवस्था छैन । पूर्वमाओवादीहरु यसलाई प्रचण्डको मनोविज्ञानभन्दा फरक भूमिकाका रूपमा बुझ्न थालेका छन् । प्रचण्डले लामो समय यही भूमिका स्वीकारे बस्छन् वा कुनै पनि बेला नाटकीय निर्णय गरेर आफ्नो भूमिका बदल्छन्, त्यो चाहिँ अहिल्यै भन्न सकिन्न ।

बाबुरामको पनि विगतसँग मिल्दैन अहिलेको भूमिका

तत्कालीन माओवादी आन्दोलनमा बाबुराम जुन वरियतामा रहे पनि आम जनमासमा प्रचण्डपछि उनकै नाम चर्चामा रह्यो । २० वर्ष माओवादीमा रहँदा उनी सधैँ दास्रो र तेस्रो वरियतामा रहेर राजनीति गरे । जनयुद्ध होस् वा शान्ति प्रक्रियामा आउँदा होस्, बाबुराम तेस्रो वरियतामा रहेर पनि प्रचण्डसँगै सार्वजनिक भए । तर नेतृत्वको तहमा बाबुराम सधैँ कमजोर रहे । वैचारिक रूपमा आफूलाई अब्बल ठहर्याए पनि पार्टी नेतृत्वको तहमा उनी सधैँ कमजोर रहे । बाबुरामले मूल नेतृत्व गरेका तिथिमिति कमै छन् । उदाहरणका लागि ०३४ सालमा अभानेविसङ्घ स्थापना गरेर त्यसको अध्यक्ष भए । ०३८ सालमा नेकपा (चौम) को सदस्य भए भने ०४१ सालमा पार्टी विभाजन हुँदा मोहनविक्रम सिंहको नेकपा (मसाल) लाई साथ दिए । ०४६ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिको प्रवक्ता भएर काम गरे । ०४७ मा मसालबाट विद्रोह गरी प्रचण्ड नेतृत्वको नेकपा (एकता केन्द्र) मा सामेल भए ।

बाबुराम ०५२ सम्म संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भए भने ०५८ माओवादी सत्ताका रूपमा रहेको संयुक्त क्रान्तिकारी जनपरिषद्को अध्यक्ष भए । त्यसयता माओवादीमा तेस्रो वरियतामा बाबुराम रहे । पछि माओवादीमा बाबुरामलाई दोस्रो वरियतामा पुग्ने अवसर मोहन वैद्यले नै जुटाइदिएका थिए । वैद्यले पार्टी परित्याग गरेपछि बाबुराम दोस्रो वरियतामा पुगे । बाबुराम ०५९ मा माओवादी वार्ताटोली प्रमुखका रूपमा सार्वजनिक भए । त्यस्तै ०६१ सालमा अन्तरसङ्घर्षका क्रममा पार्टी जनपरिषद् र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त भए । ०६८ सालमा प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरे । तर संविधान जारी भएको ६ दिनपछि अर्थात् असोज ९ गते ‘रातो स्टिकर पाएको घर’ घोषित गर्दै बाबुरामले ०७२ असोज ९ गते औपचारिक रूपमै माओवादी पार्टी परित्याग गरे । तत्कालीन माओवादी छाड्नुका पछाडि जेजस्ता तर्कहरु दिइए पनि पार्टी अध्यक्ष बन्ने चाहना पूरा नहुने देखेपछि नै उनले पार्टी छाडेका हुन् भन्नेखालका तर्क उनी निकट रहेर काम गरेका केही नेताको छ । त्यो चाहना नयाँ पार्टी खोलेर तृष्णा पूरा गरेका हुन् भन्ने विश्लेषण गर्नेहरु पनि छन् ।

नेपालमा वैकल्पिक शक्तिको बहस चलाउँदै उनले ०७३ मा नयाँ शक्ति पार्टी, नेपालको घोषणा गरे । लामो समय दोस्रो वरियतामा रहेर नेतृत्व गरेका बाबुरामका लागि पार्टीको पूरै बागडोर सम्हाल्ने मौका नयाँ शक्ति पार्टी गठनपछि मिल्यो । बाबुरामसँगै माओवादीबाट केही नेता नयाँ शक्तिमा गए । पार्टी घोषणा हुँदा देखिएको उत्साह क्रमशः एक वर्षमा घट्दै गयो । पुराना शक्तिलाई धक्का दिने सोचले गठन गरेको नयाँ शक्तिले ०७४ को स्थानीय तहको निर्वाचनमा परिणाम निकै कमजोर रह्यो । पार्टी गठनको केही महिनामै नेताहरुले पार्टी छाड्ने क्रम बढ्यो । ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा नयाँ शक्ति एक सिटमा सीमिति भयो । त्यो पनि काँग्रेसँग चुनावी तालमेल गरेका कारण नयाँ शक्तिबाट बाबुरामले चुनाव जिते । त्यसबाहेक ३ नम्बर प्रदेशको रसुवाबाट प्रदेशसभा १ ठाउँमा मात्रै चुनाव जित्यो । सधैँ दोस्रो वरियताम रहेर पनि राजनीतिको चर्चामा रहने बाबुरामले नयाँ शक्ति पार्टीलाई पनि साङ्गठनिक रूपमा बलियो बनाउन सकेनन् ।

अन्ततः उनले संसदमा १६ सिट भएको सङ्घीय समाजवादी फोरम, नेपालसँग ०७६ वैशाख २३ गते पार्टी एकता गरे । एकतापछि बनेको साजवादी पार्टी नेपालको पहिलो वरियताको अध्यक्ष बाबुराम बनेका छन् । एकतापछि बाबुराम सङ्घीय परिषद्का अध्यक्ष भएर पार्टीका मुख्य निर्णयहरुमा प्रभाव पार्न सक्ने पोजिसनमा पुगेका छन् ।

बाबुरामको मनोविज्ञान

प्रचण्डको जस्तै बाबुरामको अहिलेको भूमिका पनि उनको मनोविज्ञानसँग मेल खाने खालको छैन । बाबुराम आफै पनि बेलाबेला नेतृत्वमा हुनुपर्ने केही गुण आफूसँग नभएको बताउने गर्छन् । लामो समय दोस्रो वा तेस्रो भूमिकामा बसेका बाबुराम तीन वर्षदेखि नयाँ भूमिकामा देखिए । तर नयाँ शक्तिको संयोजकका रूपमा उनको कार्यकाल सङ्गठन निर्माणका हिसाबले सफल देखिएन । नयाँ शक्ति गठनसँगै उनले वैकल्पिक राजनीतिक शक्तिको बहस गराउन सफल भए । तर सङ्गठनका हिसाबले दिनदिनै कमजोर बन्दै गए । एकीकृत पार्टीमा पनि बाबुरामलाई पहिलो नेताको जिम्मेवारी दिएको छ । तर उनको विगत त्यहाँ पनि दोहोरिन्छ वा आफूलाई कसरी लैजान्छन्, त्यो भने हेर्न बाँकी छ ।


about author
प्रतिक्रिया