नेतृत्वविहीन नेविसंघले मनायो जन्मजयन्ती



प्रशन्न पोखरेल

काठमाडौं
- नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आज शुक्रबार स्थापनाको ४९ औं वर्षगाँठ मनाउँदैछ। नैनसिंह महरले राजीनामा दिएपछि नेतृत्वविहीन भएको नेविसंघले स्थापना दिवस पनि जिल्ला समितिको आयोजनामा मनायो। कार्यक्रमको ब्यानरमै नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनमा लेखेर नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत नेविसंघका निवर्तमान सभापति महरलाई बोलाएर जन्मजयन्ती मनाए। २०२७ सालमा तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईको अगुवाइमा वैशाख ६ गते नेविसंघ गठन भएको सम्झनामा स्थापना दिवस मनाएको हो। आज देशैभर नेविसंघले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछ। कांग्रेसको ‘नर्सरी’ मानिएको नेविसंघमा पार्टीभित्रको गुट र उपगुटको छाँया देखिएपछि संगठन विघटनको अवस्थामा छ। ११ औं महाधिवेशनबाट निर्वाचित समिति समय सकिएर भंग भएपछि १२ औं महाधिवेशन हुन सकेको छैन। नेविसंघमा अहिले तदर्थ समिति पनि छैन। 

केन्द्रीय समिति नभएकोले गुट, उपगुट आफुखुसी जन्मजयन्ती मनाउन लागेका छन्। दीप प्रज्वलन गर्नेदेखि अन्तरक्रियासम्म कार्यक्रम राखिएका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिने वैद्यले सभापतिलाई नै बोलाएर राष्ट्रिय सभागृहमा कार्यक्रम गरेका हुन्। सो कार्यक्रममा पुगेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेविसंघप्रति आक्रोशित देखिए। महतले निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले समूहको आलोचना गरेका छन्। ‘आफ्नो जिम्मेवारी सकिएपछि नेतृत्वलाई गालीगलौज गर्दै हिड्ने?,’ काफ्लेको नाम नलिई महतले थपे, ‘आफ्नै पार्टी नेतृत्वविरुद्ध आन्दोलन गर्ने? खबरदारी गर्ने?’ केही दिनअघि काफ्ले समूहले वाल्मिकी क्याम्पसमा पार्टी सभापति देउवा र ओली सरकारविरुद्ध खबरदारी सभा गरेका थिए। महतले सोही कार्यक्रमप्रति लक्षित गरेर थपे, ‘सभापतिले विप्लव समूहलाई वार्तामा आउ भन्नुभएको छ। विप्लवको खुट्टा समाउन खोजेको भनेर सभापतिको आलोचना गर्ने?’

अहिलेको नेविसंघ आफ्नो पालाकोजस्तो नभएको महतको टिप्पणी थियो। ‘काम गर्ने तर पदको आशा नगर्ने जमाना थियो। म पद नपाउँदा रोएँ होला तर नेतृत्वलाई गाली गर्दै कहिल्यै हिँडिनँ,’ महतले भने, ‘मैले यति गरें। बाँकी काम अब आउने नेतृत्वले गर्छ भन्ने भावना नेविसंघमा छैन।’ नेविसंघका निवर्तमान उपाध्यक्ष ऋषिकेशजंग शाहले पार्टीभित्रको गुटले नेविसंघ झन् भद्रगोल हुँदै जाने चिन्ता रहेको बताए। ‘आपसमा नेताहरुले जुहारी खेलिदिनु भएन,’ उनले भने, ‘पार्टीभित्रको आन्तरिक समस्याको हल पार्टीभित्रबाटै खोज्नुपर्योन। सडक र सामाजिक सञ्जालमा हल्ला गर्ने होइन।’ उनले ओली सरकारका नराम्रा कामप्रति खबरदारी गर्न नेविसंघको आयोजनामा ११ विद्यार्थी संगठनले वैशाख १३ गते काठमाडौंमा कार्यक्रम गर्न लागेको बताए। पार्टीले घोषणा गरेको राष्ट्रिय जनजागरण अभियानमा सक्रियतापूर्वक केन्द्रदेखि गाउँसम्म नेविसंघ खट्ने उनको प्रतिवद्धता थियो। नेविसंघ नेतृत्वविहीन भएको दुई महिना हुँदासमेत कांग्रेसले तदर्थ समिति गठन गर्न सकेको छैन। सहमहामन्त्री प्रकाशशरण महतले छिट्टै पार्टीले नेविसंघलाई नेतृत्व दिने बताए।

‘केही दिनमा पार्टीले नेविसंघको नेतृत्व दिन्छ,’ उनले भने, ‘यसरी गर, उसरी गर वा यति सदस्य बनाउ उति बनाउ भनेर कसैले भनिराख्नुपर्दैन।’ उनले १२ औं महाधिवेशनबाट २१ वर्षे उमेरहद नेविसंघमा लाग्ने स्षष्ट रूपमा विधानमा लेखिएकोसमेत बताए। ‘कुनै अलमलमा पर्नुपर्ने जरुरी छैन १२ औं महाधिवेशनपछि ३२ वर्षे उमेरहद लागू हुन्छ हुन्छ तर त्यसअघि ३२ वर्ष माथि वा तलका पनि नेतृत्वमा आउन सक्छन्,’ उनले भने। नेविसंघको तदर्थ समिति गठनमा ढिलाइ हुनुको एउटा कारण उमेर हद पनि हो। उमेर हदबारे बोलेका सभापति शेरबहादुर देउवाले पनि ३२ वर्षे कायम गर्ने वा नगर्ने भन्नेमा बिबाद रहेको बताए। ‘१२ औं अधिवेशनपछि त ३२ वर्षे लागू भइहाल्छ। तर अहिले तदर्थ समिति बनाउँदा ३२ वर्षमुनिको कि माथिको बनाउने भन्नेमा बिबाद छ,’ देउवाले भने, ‘३२ कटेकोलाई पनि अन्तिम मौका दिने हो कि भन्ने छलफल पनि भएको हो। तर निर्णय साथीहरूबीच व्यापक छलफल गरेर केन्द्रीय समितिबाटै हुन्छ।’


about author
प्रतिक्रिया