जहाँ गर्मीले पनि हँसाउँछ



बाँके - छोरी गर्मीले आत्तिएकी थिइन् । बुबा अनिल नापित झोलाबाट इलेक्ट्रोनिक हाते पंखा निकालेर उनको अनुहारतिर तेर्स्याउँदै थिए । ‘नआत्तियौ छोरी,’ उनले भने, ‘अब गेम सुरु हुँदैछ ।’ आठौं राष्ट्रिय खेलकुदमा फेन्सिङ खेलमा सहभागी हुन छोरीका साथ ४४ वर्षे अनिल नेपालगन्ज आएका हुन् । उनले कहिल्यै चर्को घामको अनुभूति नगरेकी छोरीलाई चिसो बनाउन हरेक उपाए अपनाए । काठमाडौंबाटै इलेक्ट्रोनिक हाते पंखा ल्याएका थिए । घरि हातले पसिना पुछिदिन्थे त घरि पंखाले । गर्मी तामपक्रमले हुने हो । यसमा मनोवैज्ञानिक पक्षले पनि ठूलो भूमिका खेल्ने अनिलले बताए । ‘तिमी जति धेरै अत्तालिन्छौ, उति नै गर्मी हुन्छ है ∕,’ छोरीलाई सान्त्वना दिँदै उनले भने ।

नेपालगन्जमा अहिले ३५ देखि ३७ डिग्री तापक्रम छ । विगतमा भन्दा कम तापक्रम भएको स्थानीयले बताए । मैदानमा उत्रिने खेलाडी र नेपालगन्जमा पहिलोपटक आउनेले तातै अनुभूति गरेका छन् । अनिलकी १६ वर्षीया छोरी शिक्षाले यहाँ बसुन्जेल भरपूर गर्मीको मजा लिने बताइन् । चिसो कुरा खाने उनको धोको यहीं पूरा हुँदैछ । आइसक्रिम, लस्सी र खरभुजा उनले धीत मरुन्जेल खाने सुनाइन् । काठमाडौंबाटै आएकी फेन्सिङ खेलाडी सम्झना तामाङले भने नेपालगन्जको बिरयानी फेमस रहेको थाहा पाएकी थिइन् । हिजो मात्रै आएको बताउने उनले खेलपछि बेलुका बजार घुम्ने र स्ट्रिड फुडको मज्जा लिने तालिका बनाएको सुनाइन् । ‘गर्मी मौसमको बेग्लै मजा छ,’ उनले भनिन्, ‘यसलाई सदुपयोग गर्न जान्नेले मात्रै मजा लुट्न सक्छन् ।’

रंगशालाको कभर्ड हलमा फेन्सिङ खेल भइरहेको थियो । त्यहाँ कतिले हाते पंखा ल्याएका थिए भने कतिले घाँटीमै झुन्ड्याएको परिचय पत्रले शरीर हम्किएका थिए । पुरुषहरू त शरीरको एक सरो लुगा पनि फुकालेर बिन्दास बसेका थिए । झन्डै तीन वर्षदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता नभएको भोक खेलाडीमा थियो । उनीहरू गर्मीले तताउनुभन्दा पनि खेलका प्यासा थिए । काठमाडौं बस्ने १६ वर्षीया सम्झनाले खेलमा सहभागी हुन पाउनु नै ठूलो उपलब्धि रहेको बताइन् । ‘समयमै भइदिएको भए गर्मीको सिकार बन्नु पर्दैन थियो,’ उनले भनिन् ।

बालुवाटारकी १९ वर्षीया यमुना आचार्यले नेपालगन्ज आउनुअघि गुगल सर्च गरेको बताइन् । तीन दिनअघि उनले गुगलमा यहाँको तापक्रम हेर्दा २९ देखि ३० डिग्रीको हाराहारी पाएकी थिइन् । बुधबार एयरपोर्ट ओर्लिंदा तीनरचार डिग्री तापक्रम बढेको उनले सुनाइन् । कुनै पनि ठाउँमा जानुपूर्व तापक्रम र त्यहाँको वातावरण बुझेर तयारी गर्नु उचित लाग्छ उनलाई । त्यसैले उनले घरदेखि नै गर्मी लक्षित सुतिका शीतल लुगा ल्याएको सुनाइन् । ‘काठमाडौंमा अझै सिरक ओढेर सुत्नुपर्छ,’ उनले भनिन्, ‘यहाँ शरीरमा लुगा अड्याउनै धौधौ छ ।’ उनले यसलाई आफ्नो देशको भौगोलिक विविधताको उपहार भएको पनि बताइन् । खेलमा सहभागी पोखराका १६ वर्षीय लेखबहादुर घर्तीले रंगशाला, कभर्ड हलभरि आईडी कार्ड हल्लाइरहे । परिचयपत्र उनका लागि हाते पंखा बनेको थियो । आफ्नो जन्मथलोबाट देखिने हिमशृंखला झलझली सम्झँदै उनले नेपालगन्जको तातोमा चिसो महसुस गरे । गर्मी सबैका लागि कठिन थियो ।

प्रतियोगितामा भाग लिन यहाँ आएका धेरै खेलाडीले त्यसलाई रमाइलोमा उडाए । ‘यहाँको गर्मीले हिमाल सम्झायो,’ लेखबहादुर साथीसँग ठट्टा गर्दै थिए, ‘यदि तराईमा हिमाल मिसिन आए मैन बत्तीझैं पग्लिन्छ होला है ।’ उनका काल्पनिक कुरा सुन्दा अन्य साथीहरू निधारका पसिना पुछदै गर्मी बिर्सने प्रयास गरिरहेका थिए ।मधु शाही


about author
प्रतिक्रिया