धमाधम गुरुङ फिल्म



लमजुङ - पोखराको कल्पना सिनेमा हलमा गतहप्ता राजु गुरुङद्वारा निर्देशित गुरुङ फिल्म ‘साली ने औमो’ (साली र भेना) प्रदर्शन भयो । त्यसको भोलिपल्टै (चैत २१) मा मिडटाउन ग्यालरिया हलमा कृष्णकुमार गुरुङद्वारा लिखित तथा निर्देशित ‘सबन मु’ (सन्चै छु) देखाइयो । आउँदो शुक्रबार र शनिबार भमरकोट पार्टी प्यालेस रामबजारमा ‘स्यु रु’ (काँचो धागो) प्रदर्शन हुँदै छ । बिन्दवासिनी फिल्म मन्दिरमा वैशाख ७ मा जसु गुरुङद्वारा निर्देशित ‘म्ले क्यु’ (बिर्साउने पानी) प्रदर्शन हुने तय भइसकेको छ । तीन सातामा लगातार चार छुट्टाछुट्टै गुरुङ फिल्म प्रदर्शनमा ल्याइएको यो पहिलो पटक हो ।

धेरैवटा फिल्म प्रदर्शनमा आउनु पक्कै पनि राम्रो हो । तर, मातृभाषी फिल्मको साँघुरो बजारका कारण कतिपयले यसलाई अस्वस्थ प्रतिस्पर्धाको संज्ञा दिएका छन् । फिल्मकर्मी भूपालकुमार गुरुङले यसलाई ‘गाइजात्रे’ पारा भनेका छन् । प्रविधिको सहजतासँगै पछिल्लो समय धमाधम गुरुङ फिल्महरू बन्न थालेपछि यसको व्यवस्थापनमा भने समस्या पैदा भएको हो । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष गिरिप्रसाद गुरुङका अनुसार ‘पहिले वर्षमा एउटा पनि फिल्म बन्दैन थियो, अहिले महिनामा कम्तीमा पनि एउटा फिल्म बनिरहेको छ । २३ वर्षअघि ‘पातें’ (माइली) र ‘न्हाम्स्यो न्होंरी’ (कुहिरोभित्र) निर्माणपछि गुरुङ फिल्मको सुरुवात भएको थियो । अध्यक्ष गुरुङका अनुसार त्यसयता २ सयबढी गुरुङभाषी फिल्म बनिसकेका छन् । फिल्म धेरै बन्न थालेपछि जिफानले केहीअघि एउटा सहरमा तीन साताको अवधिमा एउटा फिल्म मात्रै प्रदर्शन गर्ने नियम नै बनाएको थियो । पछिल्लो समय दुई साताको अवधिमा एउटा मात्रै फिल्म प्रदर्शन गर्ने नियम बनायो । भीआईपी सोका लागि भने कुनै समयावधि नतोकी निर्माताबीचमै अपसी समझदारी गर्ने नियम बनाएपछि समस्या पैदा भएको फिल्मकर्मीको गुनासो छ ।

भूपालका अनुसार भीआईपी सो नै अहिलेको समस्या हो । समय पर्खिरहनु नपर्ने भएकोले यो सोलाई धेरैले आआफ्नो पहुँच देखाउने माध्यम पनि बनाएका छन् । ‘जेसुकै भए पनि हानिनोक्सानी गुरुङ फिल्मलाई नै छ,’ उनले फेसबुकमै लेखेका छन्, ‘भीआईपी सोकै नाममा फिल्म देखाउन तँछाडमछाड हुँदा एकै घरमा चार फिल्मको टिकट पुग्ने अवस्था बन्दै छ ।’ अर्का फिल्मकर्मी विमल गुरुङले पनि जिफानले व्यवस्थापन गर्न नसकेको आरोप लाएका छन् । ‘पाँच वर्षअघि भ्रें (पाहुना) फिल्म युनिटले दुई साता अगाडि टिकट बजारमा ल्याउँदा हामीले जिफानसँग पेनाल्टी (जरिवाना) तिरेका थियौं,’ उनले भने, ‘अहिले दुई सातामै ३र४ वटा फिल्म प्रदर्शन गर्दा केही पनि नहुने किन ?’ उनले गुरुङ फिल्म प्रदर्शन पनि नेपाली फिल्मजस्तै विस्तारै ‘जसको शक्ति, उसकै भक्ति’ को परिपाटीतिर अघि बढिरहेको टिप्पणी गरे । आमदर्शकमा सहज ढंगले फिल्म पुर्‍याउनेभन्दा पनि भीआईपी सोमार्फत छिट्टै पैसा बटुल्नेतिर लागेको देखिन्छ फिल्मकर्मीहरू । अघिल्लो साता प्रदर्शित गुरुङ फिल्म ‘सबन मु’ हेर्न दर्शकले २ हजार रुपैयाँको टिकट काटे । त्यस्तै ‘साली ने औमो’ फिल्म हेर्न दर्शकले २ सयदेखि ५ सयसम्म टिकट काटे । शुक्रबार प्रदर्शन हुन लागेको फिल्म ‘स्यु रु’ का लागि १ हजार रुपैयाँको टिकट बनाइएको छ । फिल्म प्रदर्शनका लागि आफूखुसी टिकट बनाएर घरघरै लगेर भिडाउने गरिएपछि ‘टिकट महँगो भयो’ भन्ने गुनासो आएको फिल्मकर्मीहरू नै बताउँछन् । तर, टिकट दिएर चन्दा असुलेझैं गरिने यस कार्यप्रति जिफान भने मौन छ । ‘सबन मु’ का निर्देशक कृष्णकुमार गुरुङ यस्तो कार्य गैरकानुनी मान्छन् । ‘तर समस्या पनि त राज्य तहबाटै छ,’ उनले भने, ‘सेन्सरको नाममा नेपाली फिल्म बराबर पैसा तिर्नुपर्छ । हामीलाई पब्लिक हल उपलब्ध हुँदैन । बुकिङ सो गर्न ४५र५० हजार रुपैयाँ तिर्नुपर्छ । अनि भीआईपी सोका लागि त्यसै बाध्य छौं । फिल्म देखाउनेमाक्रै होइन, सांस्कृतिक कार्यत्रमसहित डिनर वा लन्चको पनि व्यवस्थाहुने भएकाले टिकट दर ठीकै रहेको उनी बताउँछन् ।

‘पब्लिक सो र भीआईपी सो फरक नै हुने’ दाबी गर्छन्, ‘सबन मु’ का लेखक निर्देशक कृष्णकुमार गुरुङ । अर्का फिल्मकर्मी भोजबहादुर गुरुङ भने फिल्म दर्शकका लागि सहज बनाइनुपर्छ । ‘मैंरिमो’ (सम्झिरहेछु) लाई उनले सय र एक सय ५० रुपैयाँको टिकट काटेर फिल्म हलमै हेर्ने व्यवस्था मिलाएका थिए र फिल्म एक साता चलेको पनि थियो । ‘दर्शकका लागि त यस्ता प्रयोग पो गर्नुपर्छ,’ उनले भने, ‘थोरै पैसा भएका शुभचिन्तक पनि फिल्म हेर्ने मौका पाउँछन् नि ।’ अहिले भीआईपी सोले गुरुङ फिल्मको क्रेज घट्दै गएको उनको दाबी छ । जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार फिल्म हेर्ने संस्कृतिकोविकास गुरुङ समुदायमा राम्रोसँग हुन सकेको छैन । ‘आफन्त, छरछिमेकलाई घरघरै गएर टिकट भिडाएर फिल्म हेर्न आग्रह गर्नुपर्ने अवस्था राम्रो हैन,’ उनले भने, ‘बरु सरकारसित सहज हल उपलब्ध गराउन माग गर्नुपर्छ ।’आश गुरुङ


about author
प्रतिक्रिया