द्विदेशीय छलफल : दशगजामै हाटबजार



सिलगढी, भारत - ‘कन्फ्रेड्रेसन अफ इन्डियन इन्डस्ट्रिज’ ले आइतबार सिलगढीमा आयोजना गरेको अन्तर सीमा पर्यटन तथा व्यापारसम्बन्धी द्विदेशीय छलफलमा नेपाल–भारत (पश्चिम बंगाल) सीमाको दशगजामा ‘इन्डो–नेपाल हाट बजार’ को अवधारणा अघि सारिएको छ । इन्ड्रस्टिजले प्रस्ताव गरेको यो नौलो अवधारणलाई कोलकाताका लागि नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले सकारात्मक रूपमा लिएको बताए । ‘हाम्रा उत्पादनहरू भारतीयले र भारतको उत्पादन हामीले किनबेच गर्नेछौं,’ अर्यालले भने, ‘यसबाट दुवै देशका किसानले प्रत्यक्ष लाभ उठाउन सक्नेछन् ।’ उनका अनुसार नेपाल र भारतका अर्गानिक कृषि उत्पादन, हस्तकलालगायत विभिन्न उत्पादनहरू बजारमा बेच्न राखिनेछ । खासगरी कृषिजन्य उत्पादन बिक्री गर्दा किसानहरू सधैं बिचौलियाको फन्दामा पर्ने र उत्पादनको भाउ सोचेजस्तो नपाउने यथार्थ छ । ‘सीमा हाटबजारले बिचौलियाको चलखेल पूर्ण रूपमा अन्त्य गर्नेछ,’ कन्फ्रेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजका सदस्य राज वासुले भने ।

अर्यालका अनुसार नेपाल र भारतका प्रहरी, प्रशासन र खासगरी स्थानीय सरकारसँगको सहकार्यबाट चाँडै काम थालिनेछ । ‘यसका लागि सरकारले वातावरण बनाउने हो । स्थानीय सरकारले यसको स्वामित्व लिनुपर्छ,’ अर्यालले भने, ‘स्थानीय सरकारसँग चाँडै छलफल गर्छौं ।’ नेपाल र भारतका सरकारी अधिकारीबीचको छलफलमा अर्यालले नेपाली कृषिजन्य उत्पादन निकासीमा हुने अवरोध सधैंका लागि हटाउन भारत सरकारलाई औपचारिक रूपमा अनुरोध गरिएको बताए । उनका अनुसार भारतीय बजार पुर्‍याउने क्रममा उत्पादनमाथि हुने अवरोध हटाउन दुवै देशका वाणिज्य मन्त्रालयबीच छलफल भएको छ । भारतले गल्ती नदोहोर्‍याउने जनाएको छ ।

‘हामीले आईजीसीको सचिवस्तरीय वार्तामा पनि प्रस्ताव गरेका छौं,’ उनले भने, ‘भन्सारले सूचनाहरू नबुझ्दा यदाकदा समस्या हुने गरेको देखियो ।’ उनले नेपाली ल्याबमा जाँच गरेर प्रमाणित भइसकेको वस्तुलाई समेत भारतीय भन्सारले मान्यता दिनुपर्ने बताए ।

उनका अनुसार नेपालले यो कुरा उठाएको करिब ७ वर्ष बित्यो । भारत सरकार कार्यान्वयनमा सधैं अनकनाउने गरेको देखिन्छ । अर्यालले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० का लागि रेल र हवाई सेवा विस्तार गर्दा दुवै देशले आर्थिक लाभ लिन सक्ने दाबी गरे । महावाणिज्य दूत अर्यालले बागडोग्रा–काठमाडौं र बागडोग्रा–पोखरा नियमित हवाई सेवा सुरु गर्न सकिने सम्भावना व्यक्त गरे । उनले नक्सलबारी–काँकडभिट्टा रेल सेवा विस्तार गर्न पनि कुनै गाह्रो नरहेको बताए । भने, ‘पर्यटन विकासका लागि हवाई र रेल सेवामा भारतसँगको कनेक्टिभिटी अत्यन्तै जरुरी छ ।’

छलफलमा नेपाल तथा भारतका सरकारी अधिकारीहरूले पर्यटन विकासका लागि दुई देशबीच सहकार्यमा जोड दिनुपर्ने बताएका थिए ।झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नेपालले सन् ०२० लाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको बताउँदै भारतीय पर्यटकहरूलाई नेपाल घुम्न आउन निम्ता गरे । उनले नेपाल पर्यटकका लागि स्वर्ग रहेको चर्चा गरे । इलामका प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिनाले भारतसँगका सीमावर्ती झापा, इलाम, पाचथर र ताप्लेजुङमा प्रशस्त पर्यटकीय गन्तव्यहरू रहेकाले त्यसको प्रवर्द्धनमा लाग्न व्यवसायीहरूलाई अनुरोध गरे । प्रदेश १ का पर्यटन सचिव बद्रीराज ढुंगानाले नेपालको पर्यटन विकासमा भारतीय पर्यटकहरूको ठूलो हिस्सा रहेको बताए ।

छलफलमा सीमा सुरक्षा बल (एसएसबी) सिलगढी फ्रन्टियरका महानिरीक्षक श्रीकुमार बन्दोपाध्यायले मानव बेचबिखन, लागूऔषध, हतियार कारोबार र तस्करी नियन्त्रणका लागि दुवै देशबीच सहकार्य आवश्यक पर्ने बताए । ‘नेपाल या भारतको एक्लो प्रयत्नले मात्रै यस्ता गतिविधि न्यूनीकरण गर्न गाह्रो हुन्छ,’ उनले थपे, ‘दुवै देशबीच सहकार्यको खाँचो छ ।’


about author
प्रतिक्रिया