युवा तान्‍ने गीत



काठमाडौं - शंकरदेव क्याम्पसमा बीबीए अध्ययनरत मुकेश शर्मालाई हिजोआज एउटा गीतले मोहनी नै लगाएको छ। पटक्कै गीत नसुन्ने उनले दैनिकजसो सुन्ने गीत हो ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’। गायक शिव परियारको उक्त गीतको फ्यान कसरी बने उनी रु यो प्रश्नको ठ्याक्क जवाफ दिन उनी आफैं सक्दैनन्। कुरा गर्दै जाँदा उनले आफ्ना बाबाको रक्सी पिउने बानी र यसबाट आमा र परिवारमा पर्न गएको असरबारे बेलिविस्तार लगाए। कुनै उपायबाट बाबाको पिउने बानी छुटाउन नसके पनि गीतले भने मोहिनी नै लगाएको उनले बताए। बाबाको कुरा गर्दागर्दै उनी आफ्नो पनि कथा सुनाउँछन्। ‘कलेजको पिकनिकमा साथीहरूले कोकमा रक्सी हालेर खुवाएछन् तर पत्तै पाइनँ। कहिल्यै रक्सी नखाएको मलाई यसको असर तत्काल परिहाल्यो। डेरामा फर्किंदासमेत म गीत र नृत्यमा झुमिरहेको थिएँ रे।’ त्यसदिनदेखि उनले चिसो पेयसमेत पिउन छाडे। रक्सी खाने त कुरै भएन। घरबेटीलाई स्पष्टीकरणसमेत दिनु परेपछि डेरा नै सर्न लागेका उनलाई घरबेटीका छोरा र छोरीले रोके। आफू पियक्कड नभए पनि उनलाई उक्त गीतको शब्द र संगीतले तानिरहन्छ। ‘प्रायः दिनमा एक पटक सुनेकै हुन्छु। शब्द संगीत दुवै मन पर्छ।’ उनले भने।

एमएस्सी अध्ययनरत सविन नेपाललाई आधुनिक गीत धेरै मन पर्छ। बारम्बार हिन्दी फिल्म हेरे पनि हिन्दी गीतले उनलाई खासै तान्दैन। अंग्रेजी, कोरियनलगायतका गीतमा पनि उनलाई खासै रुचि छैन। उनलाई रामचन्द्र काफ्ले, उदय सोताङ, प्रमोद खरेल, प्रेमध्वज प्रधानका गीत ज्यादै मन पर्छ। गुलाम अलीको गीत ‘गाजलु ती ठूला ठूला आँखा’ उनले सबैभन्दा बढी सुन्ने गीतमा पर्छ। केही समयदेखि उनी बेलुका निद्रा नपर्दासमेत उही गीत पटकपटक सुन्छन्। ‘गीत सुन्दासुन्दै कति बेला निदाउँछु, पत्तै हुन्न। नयाँ भन्दा पुराना गीत राम्रा लाग्छन्। पुराना गीतमा बेग्लै शक्ति हुन्छ। स्थानीयपन झल्किन्छ।’ उनी भन्छन्।

सविता गुरुङ ९१८० गीत सुन्न भने पछि हुरुक्कै हुन्छिन्। उनलाई अंग्रेजी गीतमा रुचि छ। नेपाली र हिन्दी गीत प्रायः सुन्दिनन्। हिन्दी फिल्म हेर्न भने उनी छुटाउँदिनन्। हलमा गएर फिल्म नहेरेसम्म उनलाई चित्त पनि बुझ्दैन। तर पनि उनको रोजाइ साथीहरूको भन्दा परक छ। उनलाई ट्रेन्डिङको खासै मतलव पनि हुँदैन। उनी पुराना गीत सुनिरहेकी हुन्छिन्। ‘मलाई पुराना गीत सुन्न मनपर्छ। पिंक फ्लोइडका गीत भनेपछि हुरुक्कै हुन्छु। ‘कमिङ ब्याक टु लाइफ, वास यु वेयर हियर, साइन टु क्रेजी डाइमन्ड, हाई होप्स आदि गीत रोजाइमा पर्छन्।’ उनी घरमा हुँदा मोबाइलमा गीत सुन्दिनन्। उनका बुवाले कोठामा साउन्ड सिस्टम जोडिदिएका छन्। सुरुमा उनले सुन्ने गीत सुनेर हजुरआमा दिक्क भइन्। हिजोआज सविता अरूलाई असर नपर्ने गरी गीत सुन्छिन्। उनी पढाइमा पनि अब्बल छिन्। परीक्षामा सधैं राम्रो ग्रेड ल्याउँछिन्। गीत संगीतले मान्छेलाई ऊर्जा दिने उनको भनाइ छ।

इलामका पवन कट्टेल पनि अंग्रेजी गीत, संगीत भनेपछि हुरुक्कै हुन्छन्। उनलाई गीत सुन्न पाए भोक लाग्दैन। सबै कामधन्दा बिर्सिन्छन्। उनी सबै खाले गीत सुन्छन्। रोज्न लगाउँदा अंग्रेजी गीत रोज्छन्। नयाँ गीतले भन्दा पुराना गीतले नै उनको मन जितेका छन्। एरिक क्लाप्टन, टुल, बब सेगर, क्विनलगायतका गीत उनी बारम्बार सुन्छन्। यसका अतिरिक्त उनी कहिलेकाहीँ लोकगीत पनि सुन्छन्। ‘लोक गीतमा ठ्याक्कै यही भन्ने छैन। युट्युबमा जाँदा जे आउँछ त्यही सुन्ने हो। विष्णु माझीको ‘सालको पातको टपरी हुने’ गीत उनलाई ज्यादै मन पर्छ। उनलाई एक दुई पटक सुनेपछि गीत कण्ठ भइहाल्छ।

संस्कार रिजाल इन्जिनियरिङ पढ्छन्। पढाइको चाप बढ्ना साथ उनी गीतसंगीत सुन्न थाल्छन्। रिजाल गीत सुन्दै पनि पढ्न र लेख्न सक्छन्। संगीतले पढाइमा सकारात्मक ऊर्जा थप्नेमा उनको विश्वास छ। उनी बिहानको समयमा भजनसमेत सुन्छन्। साँझ लोकगीत पनि छुटाउँदैनन्। तर अधिकांश समय उनी हिन्दी भाषाका गीतमा झुम्छन्। तु जाने ना, तेरे नाम आदि गीत उनले गुनगुनाइरहनेमा पर्छन्। रिजाल गीतसंगीतमा आएको नयाँपनले पनि खासै तरंग ल्याउन नसकेको तर्क राख्छन्। राम्रा गीतका श्रोता सधैं उत्तिकै हुने उनको बुझाइ छ। ‘गीतसंगीतको क्षेत्रमा आधुनिकताको प्रभाव छ। तर लामो समयसम्म टिक्ने गीत आउन सकेका छैनन्।’ हिजोआजका संगीतकर्मीमा धैर्य नभएकाले सुनिरहुँ लाग्ने कालजयी गीत आउन नसकेको उनको तर्क छ। पपगीतमा पनि राम्रोसँग काम हुन नसकेको उनी बताउँछन। संगीत पनि सिकिरहेका रिजाल नयाँ गायकलाई हतार नगर्न सुझाव दिन्छन्।       


about author
प्रतिक्रिया