जब मन्त्री पण्डितलाई केही व्यक्तिहरुले काले, मधेशी भनेर होच्याए



ललितपुर - नेताहरुले जनताकाबीचमा आफ्नो विगतलाई याद गर्नु कुनै नयाँ विषय होईन । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो विगत याद गर्दै आफूलाई काले भनेपछि हंगामा भएको घटना खुलासा गर्नुभएको छ । आफू स्कुले विद्यार्थी हुँदा केही साथीहरूले काले, मधेशी भनेर विभेद गर्ने गरेको र त्यसको जवाफमा आफूले पेटी खोलेर हिर्काउने गरेको बताउँनु भएको हो ।

आफू पनि विभेदकै कारण राजनीतिक आन्दोलनमा लागेको र त्यसकै उपज अहिले यो ठाउँमा आइपुगेको उहाँले जानकारी दिनुभयो । मंगलबार ललितपुरको होटेल हिमालयमा समता फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको सन्दर्भमा, जातीय विभेद र छुवाछुत अन्त्यका लागि ६ महिने महाअभियानको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभयो ।

प्रमुख अथितिको भूमिकामा आफ्नो मन्तव्य राख्दै देशमा अझै पनि जातीय विभेद भइरहनु दुःखद भएको भन्दै यसको अन्त्यका निम्ति सरकारले काम गरिरहेको उहाँको जिकिर छ । संविधानबाट जातीय विभेदको अन्त्य गरिए पनि यो व्यवहारमा लागू भई नसकेकोप्रति इंगित गर्दै यसलाई व्यवहारमा उतार्न केही समय उहाँले जिकिर गर्नुभयो ।


about author
प्रतिक्रिया