तराईमा आज होली मनाइँदै



काठमाडौँ - रङ, अबिर र प्रेम सद्भावको पर्वको रूपमा रहेको होली पर्व उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा बुधबार मनाइए पनि तराईमा विहिबार मनाइँदै छ । 

विराटनगर घर भई अहिले राजधानीको लगनटोलमा व्यापार व्यवसाय गरी बसोबास गर्दै आउनुभएका सोचन महतोले उमेरको हद र नातागोताको बन्देज समेत नहुने यो पर्व एक–अर्काबीच रङ अबिर छ्यापाछ्याप गरेर मनाइने गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तराईमा यो पर्व विशेषगरी दुई दिन मनाइने गरिन्छ । पहिलो दिनलाई ‘होलिका दहन’ ९समत० भन्ने गरिन्छ भने दोस्रो दिनलाई होलीको रूपमा मनाइन्छ । पूर्णिमाको रातको अन्तिम प्रहरमा ‘होलिका दहन’ गर्ने गरिन्छ ।” 

‘होलिका दहन’ को दिन राति गाउँ टोलका मानिसहरु आ–आफ्नो घरमा पाकेका परिकार, काठ दाउरा र खेतबारीमा लगाइएका अन्नबालीको केही अंश लिएर जम्मा हुने गर्दछन् । परिकार, काठ दाउरा र अन्नबालीलाई एक ठाउँमा राखी त्यसमा आगो लगाई ‘होलिका दहन’ गरिन्छ । ‘होलिका दहन’ भइसकेपछि मानिसहरू होलीको गीत गाउँदै आ–आफ्नो घर फर्कन्छन् । जयष् ितबचबष् 

‘होलिका दहन’ भइसकेपछि मात्र होली पर्व सुरु भएको मान्ने गरिएको बताउँदै ‘होलिका दहन’ नभएसम्म कसैले कसैलाई रङ अबिर लगाउन नमिल्ने महतोले बताउनुभयो ।

त्यसैगरी, पर्सा घर भई अहिले बालाजुमा बस्दै आउनुभएका पर्सा वीरगञ्जका सुदर्शन त्रिपाठीले ‘होलिका दहन’ पछि मात्र होली पर्व सुरुभएको मानिने बताउनुभयो । विहानै स्नान गरी नयाँ लुगा कपडा लगाइने गरिन्छ र एकले अर्कालाई रङ अबिर लगाउने परम्परा रहेको उहाँले जानकारी दिनुभयो । यस पर्वमा रङ अबिर लगाई मान्यजनबाट आशीर्वाद समेत लिने गरिन्छ ।

त्यसैगरी, यस दिन नातागोता, ईष्टमित्रलाई आफ्नो घरमा बोलाएर विभिन्न परिकार, फलफूल, बदाम, सुकमेल खान दिई रङ अबिर लगाई सद्भाव र आत्मीयता सटासाट गरिन्छ । यस क्रममा बर्षभरिको रिस, द्वेष, शत्रुतालाई समाप्त पारी मित्रताको भावनालाई यस पर्वले प्रवाह गर्ने गरिएको त्रिपाठीले बताउनुभयो ।

संस्कृतिविद् डा। रामदयाल राकेशले होलीको पौराणिक महत्वबारे जानकारी दिंदै यस पर्वलाई हिरण्यकश्यपु, प्रल्हाद र होलिकासँग जोडेर हेर्ने गरिएको बताउनुभयो । हिरण्यकश्यपु, प्रल्हाद र होलिकाको पालादेखि नै होली पर्वको सुरुआत भएको बताउँदै उहाँले भन्नुभयो, “आफूलाई सर्वेसर्वा र भगवान् ठान्ने हिरण्यकश्यपुका छोरा प्रल्हाद भगवान विष्णुका भक्त थिए, जुन कुरा हिरण्यकश्यपुलाई अलिकति पनि मन परेको थिएन ।” 

“जति सम्झाए बुुझाए पनि प्रल्हादले विष्णुको पूजा अर्चना गर्न नछोडेपछि हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने विचार गरे” संस्कृतिविद् राकेशले थप्नुभयो, “तर प्रल्हादलाई कसरी मार्नेबारे कुनै उपाय नलागेपछि हिरण्यकश्यपुले आगोबाट समेत नजल्ने बरदान पाएकी आफ्नो बहिनी होलिकाको काखमा प्रल्हादलाई राखेर आगो लगाई मार्ने निष्कर्षमा पुगे र त्यसै अनुसार गरे । प्रल्हादलाई आगो लगाई मार्ने प्रयास गरेपनि प्रल्हाद जलेनन्, होलिकाको नै जलेर मृत्यु भयो ।”

फागुन पूर्णिमाको दिन नै होलिका दहन गरिएको बताउँदै संस्कृतिविद् डा। राकेशले त्यसैको सम्झनामा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको रातिको पहरमा ‘होलिका दहन’ गर्ने गरिन्छ । त्यसको भोलिपल्ट होली पर्व मनाउने गरिएको बताउनुभयो ।

“अहिले गाउँमा न त त्यति मात्रामा ढोल, मृदङ्ग (मादलजस्तै बाजा) नै बज्ने गर्छन्, न फागु गीत नै सुन्न पाइन्छ” उहाँले थप्नुभयो, “पहिला पहिला होलीको गीतमा धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमङ्ग, सँस्कृतिको प्रभाव लुकेको हुन्थ्यो, तर अहिले विदेशी संस्कृतिको प्रभावले धेरै कुरा फरक भइसकेको छ ।’



 


about author
प्रतिक्रिया