फेरि चम्किए मेसी, उपाधि यात्रा सहज बनाउँदै बार्सिलोना



एजेन्सी - स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अर्को सानदार प्रदर्शन गरेका छन् । बार्सिलोनाले रियल बेटिसलाई उसकै मैदानमा ४–१ ले हराउने क्रममा मेसी आफ्नो करियरको ५१ औं ह्याट्रिक गर्न सफल भए । 

खेलको १८ औ मिनेटमा फ्री किकमार्फत उत्कृष्ट गोल गरी टोलीलाई अग्रता दिलाएका मेसीले पहिलो हाफको अतिरिक्त समयमा एक गोल थपे ।  पहिलो हाफमै २-० को अग्रता बनाएको बार्सिलोनाका लागि ६३ औं मिनेटमा स्वारेजले गोल गरे ।

त्यसपछि मेसीले ८५ औं मिनेटमा व्यक्तिगत तेस्रो र टोलीका लागि चौथो गोल गरी ह्याट्रिक गर्न सफल भए ।  रियल बेटिसका लागि गार्सियाले ८२ औ मिनेटमा गरेका एक गोल सान्त्वना गोल बन्यो । 

जितसँगै २८ खेलबाट ६६ अंक बनाएको बार्सिलोनाले दोस्रो स्थान रहेको एथ्लेटिको मड्रिडलाई १० अंकले पछि पारिसकेको छ । एथ्लेटिकोको समान खेलबाट ५६ अंक छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको यस सिजनमा पनि उपाधि यात्रा सहज बन्दै गएको छ ।  ला लिगाको यस सिजनमा २० जित निकालेको बार्सिलोनाले २ खेलमा हार व्यहोर्दा ६ मा बराबरी खेलेको छ । 


about author
प्रतिक्रिया