मुख्यमन्त्री कप : सुदूरपश्चिम फाइनलमा



धनगढी - मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ घरेलु टोली सुदूरपश्चिम र प्रदेश १ फाइनल पुगेका छन् । शनिबार सुदूरपश्चिम समूह ‘ए’ र प्रदेश १ समूह ‘बी’ बाट उपाधि भिडन्तमा पुगेका हुन । प्रदेश ३ र प्रदेश ५ तेस्रो स्थानलाई भिड्ने छन् । 

मुख्यमन्त्री कफमा महिला क्रिकेटमा शनिबार रन बटुल्ने त्रममा प्रदेश १ का खेलाडी ।

प्रदेश १ ले प्रदेश २ लाई एक सय रनले हरायो । पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २० ओभर खेल्दै २ विकेट गुमाई १ सय ७६ रन बनायो । रमा थापाले ८१ र काजोल श्रेष्ठले ६१ रन बनाए । सुस्त गतिमा रन जोडेको प्रदेश २ ले २० ओभरमा ९ विकेट गुमाई ७६ रनमात्रै बनाउन सक्यो ।

प्रदेश ३ ले कर्णाली प्रदेशमाथि १ सय ८६ रनको फराकिलो जित पायो । प्रदेश ३ ले २० ओभरमा २ विकेट २ सय ४९ रन

जोड्यो । कञ्चन श्रेष्ठले ७९, करुणाश्री लामाले ४३, सजनी श्रेष्ठले ३४ रन बनाए । कर्णालीकी लक्ष्मी रिमालले एक विकेट लिइन् ।

पुरुष क्रिकेटको उपाधिलाई प्रदेश २ र गण्डकी प्रदेश भिड्ने छन् । समूह ‘ए’ बाट प्रदेश २ र ‘बी’ बाट गण्डकी फाइनल पुगेका हुन् । ‘बी’ मा समान अंक हुँदा रनरेटका आधारमा पहिलो हुँदै गण्डकी अगाडि बढ्यो । घरेलु टिम सुदूरपश्चिम र प्रदेश १ तेस्रो स्थानलाई भिड्ने छन् ।

पुरुषतर्फ गण्डकीले प्रदेश ३ लाई ५ रनले हरायो । गण्डकीले २० ओभरमा ६ विकेट गुमाई १ सय ७ रन बनायो । अनिल गुरुङले ४४ रन बनाए । प्रदेश २ का इशान पाण्डेयले २ बिकेट लिएका थिए ।

प्रदेश ३ ले १९.२ ओभरमा अलआउट हुँदै १ सय २ रनमात्रै जोड्यो । इशानले २७ रन बनाए । गण्डकीका विपिन खत्री र आकाश थापाले ३–३ विकेट लिए ।

प्रदेश २ ले सुदूरपश्चिमलाई ६ विकेटले हराएको छ । टस जितेर ब्याटिङ गरेको सुपले २० ओभरमा ८ विकेट गुमाई १ सय ८ रन बनायो । सन्जु दमाईले ४१ र दीपेन्द्र बोहराले ३४ रन बनाए । प्रदेश २ का सन्जम रेग्मीले ३ र प्रियांशु मल्लिकले २ विकेट लिए । जवाफमा प्रदेश २ ले १८।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । विशाल सुस्लिङले ३४ र हरिशंकर साहले २५ रन बनाए । सुपका विकास श्रेष्ठ, नरेन्द्र साउद, खड्ग बोहोरा र सुरज तिरुवाले १–१ विकेट लिए । फाइनल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

फुटबल

धनगढी रंगशालामा भइरहेको पुरुष फुटबलको उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्ने भएका छन् । शनिबार सेमिफाइनलमा सुदूरपश्चिमले प्रदेश २ लाई टाइब्रेकरमा ४–१ ले हरायो ।

निर्धारित समय गोलरहित भएपछि टाइब्रेकरमा सुपका राकेश हमाल, नरेन्द्र चौधरी, भागेन्द्र चौधरी र सन्दीप कुँवरले गोल गरे । प्रदेश २ बाट साने चौधरीले मात्रै गोल गरे । सनिल लामाको प्रहार बाहिरिँदा देवेन्द्र चौधरीको प्रहार गोलरक्षक टेकेन्द्र थापाले रोकेका थिए ।

अर्को खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १–० ले हरायो । एकमात्र गोल दीपेन्द्र घिसिङले गरे । पराजित कर्णाली प्रदेश र प्रदेश २ ले तेस्रो स्थानमा प्रतिस्पर्धा गर्नेछन् ।

भलिबल

पुरुष तथा महिला भलिबलमा लिग चरणका सबै खेल सकिए । पुरुषतर्फ सेमिफाइनलमा प्रदेश १ र प्रदेश ५ तथा गण्डकी प्रदेश र सुदूरपश्चिम भिड्नेछन् ।

महिला भलिबलको सेमिफाइनलमा प्रदेश ५ र गण्डकी तथा प्रदेश ३ र सुदूरपश्चिम आमनेसामने भएका छन् । फाइनल आइतबार हुनेछ ।

ब्याडमिन्टन

महिला तथा पुरुषतर्फ यू–१९ र यू–१७ उमेर समूहका सेमिफाइनल सकिए । यू–१९ पुरुषमा सुदूरपश्चिमका देशराज राना र प्रदेश १ का प्रनिश ठकुरी फाइनलमा पुगेका छन् । देशराजले सुपकै योगेश खड्का र प्रनिशले सुपका अमित चौधरीलाई हराएका हुन् । यू–१९ महिलातर्फ सुपकी निलिमा महरा र प्रदेश १ की नीता लम्साल फाइनल भिड्ने छन् ।

निलिमाले कर्णालीकी सामना भट्टराई र नीताले सुपकी विष्णा विष्टलाई हराए । यू–१७ पुरुष फाइनलमा भने साउद दाजुभाइ रोशन र जेवी भिड्ने छन् । रोशनले सुपकै प्रियांशु क्षेत्रीलाई हराउँदा जेवीले प्रदेश १ का पेम्बा शेर्पामाथि जित पाए ।

यू–१७ महिलातर्फ प्रदेश १ का सीमा राजवंशी र अन्जना राईफाइनल पुगेका छन् । सीमाले प्रदेश ५ की कृष्णा बज्राचार्य र अन्जनाले सुपकी एलिना तिरुवालाई हराएका थिए ।


about author
प्रतिक्रिया