एनसेलको खुद नाफा तीन अर्ब घट्यो



विश्वास रेग्मी

काठमाडौं
- देशमै अधिक नाफा कमाउने कम्पनीमध्येको एक एनसेलको आम्दानी र खुद नाफा दुवैमा कमी आएको छ । एनसेलको मुख्य लगानीकर्ता कम्पनी एजियटाले हालै सार्वजनिक गरेको सन् २०१८ को वित्तीय प्रतिवेदन अनुसार कम्पनीका धेरै वित्तीय सूचक घटेको देखाइएको छ । 

उक्त प्रतिवेदन अनुसार कम्पनीको आम्दानी सन् २०१८ मा ५७ अर्ब ४६ करोड रुपियाँ रहेको छ । यो आम्दानी सन् २०१७ को तुलनामा करिब ५९ करोड रुपियाँले कम हो । उक्त वर्ष कम्पनीको आम्दानी ५८ अर्ब पाँच करोड रुपियाँ थियो । आम्दानीको हिस्सा केही घटे पनि डेटाबाट हुने आम्दानीमा भने निरन्तर वृद्धि भइरहेको प्रतिवेदनले देखाएको छ ।  सन् २०१७ मा डेटाबाट प्राप्त आम्दानीमा १९ प्रतिशतको वृद्धिदर हासिल गरेको कम्पनीले सन् २०१८ मा उक्त शीर्षकको आम्दानी २३ प्रतिशतले बढाएको छ । 

आम्दानी सामान्य घटे पनि कम्पनीले प्राप्त गर्ने खुद नाफा भने निकै नै घटेको छ । तथ्याङ्क अनुसार एनसेलले समीक्षा वर्षमा १५ अर्ब २८ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । सन् २०१७ मा कम्पनीको खुद नाफा १८ अर्ब ८७ करोड रुपियाँ थियो । यस हिसाबले कम्पनीले एक वर्षमै करिब तिन अर्ब ४० करोड रुपियाँले घटेको छ ।

खर्च बढ्यो 

पछिल्लो वर्ष कम्पनीको खर्चमा पनि वृद्धि भएको छ । सन् २०१७ मा आम्दानीको ३५.७ प्रतिशतमात्र खर्च गरेको कम्पनीले सन् २०१८ मा ३८.३ प्रतिशत खर्च गरेको छ । खर्चसँग सम्बन्धित धेरै सूचक बढेका छन् । सबैभन्दा धेरै हुने प्रत्यक्ष खर्च भने कम्पनीले घटाएको छ । प्रत्यक्ष खर्च आम्दानीको ९ प्रतिशत छ जुन त्यसको अघिल्लो वर्ष ९.२ प्रतिशत रहेको थियो । विक्री तथा मार्केटिङ शीर्षकमा कम्पनीको खर्च ५.३ प्रतिशतबाट बढेर सन् २०१८ मा ६.२ प्रतिशत पुगेको छ । नेटवर्कका लागि हुने खर्च ८.३ प्रतिशतबाट बढेर ८.७ प्रतिशत पुगेको छ । कर्मचारी खर्चमा भने सन् २०१७ को तुलनामा कुनै वृद्धि भएको छैन । दुवै वर्षमा यस्तो खर्च कुल आम्दानीको ५.४ प्रतिशत कायम छ । अन्य खर्च भने ७.६ प्रतिशतबाट बढेर नौ प्रतिशत पुगेको छ । 

आधाले घट्यो नगद

समीक्षा अवधिमा कम्पनीको नगद रकम सन् २०१७ को तुलनामा आधाभन्दा बढीले घटेको छ । सन् २०१७ मा ४१ अर्ब ४० करोड रुपियाँ नगद रहेकोमा सन् २०१८ मा घटेर जम्मा १८ अर्ब ४८ करोड रुपियाँ पुगेको छ । कम्पनीको खुद सम्पत्तिमा सामान्य कमी आएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ मा ७४ अर्ब १७ करोड खुद आम्दानी रहेकोमा अर्को वर्ष घटेर ७१ अर्ब ११ करोड रुपियाँ पुगेको छ ।

ग्राहक आम्दानी घट्यो 

कम्पनीले आफ्ना ग्राहकबाट गर्ने औसत आम्दानी पनि घटेको छ । सन् २०१७ मा प्रति ग्राहक वार्षिक २९८ रुपियाँ आर्जन गर्दै आएकोमा सन् २०१८ मा घटेर २८६ रुपियाँ पुगेको छ । पोस्टपेड ग्राहकबाट हुने आम्दानी एक रुपियाँ घटेर ४६० रुपियाँ पुगेको छ भने प्रति प्रिपेड ग्राहक आम्दानी २७८ बाट २७२ रुपियाँ पुगेको छ ।  कम्पनीका ग्राहकले वार्षिक औसत ८१७ एमबी डेटा प्रयोग गर्ने पाइएको छ । जुन सन् २०१७ को तुलनामा एक एमबीले कम हो । कम्पनीका हाल एक करोड ६० लाख प्रिपेड र दुई लाख ६३ हजार पोस्टपेड गरी एक करोड ६३ लाख ग्राहक छन् ।  कम्पनीले हाल देशभर थ्रीजीका दुई हजार ९४१ र फोरजीका ९४१ ओटा टावर विस्तार गरेको छ ।


about author
प्रतिक्रिया