एथलेटिकोविरुद्ध रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वाटरफाइनलमा



काठमाडौँ - युइएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस क्वाटरफाइनलमा प्रवेश गरेको छ । 


गएराती भएको प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा युभेन्टसले एथलेटिको म्याड्रिडलाई ३-० ले पराजित गर्दै संग्रहमा ३-२ को नतिजा सहित युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।


युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । रोनाल्डोले च्याम्पियन्स लिगमा व्यक्तिगत रुपमा उत्कृष्ट पुनरागमन गर्दै युभेन्टसलाई च्याम्पियन्स लिगमा अगाडी बढाएका छन् । रोनाल्डोले खेलको २७औ मिनटमा, ४९औ मिनेटमा र खेलको ८६औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । 


यो सँगै युभेन्टस, म्यानचेस्टर सिटी, एजाक्स, म्यानचेस्टर युनाइटेड, टोटोनह्याम र पोर्टो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै बायर्न म्युनिख र लिभरपुल तथा बार्सिलोना र लियोन आज राति हुने दोस्रो लिगमा खेल्दै छन् ।


रोनाल्डोको रेकर्ड :


यस सिजनमा यस अघि ६ खेलमा केबल एक गोल गरेका रोनाल्डोले यो ह्याट्रिक सहित ४ गोल पुर्याएका छन् । 


च्याम्पियन्स लिगको इतिहासमा रोनाल्डोले अहिलेसम्म १२४ गोल गर्दै च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गरेका छन् । तर रोचक त के छ भने रोनाल्डोले च्याम्पियन्स लिगमा एथलेटिको क्लबले भन्दा बढी गोल गरेका छन् । एथलेटिकोले अहिलेसम्म च्याम्पियन्स लिगमा कुल ११८ गोल गरेको छ भने रोनाल्डो एक्लैले १२४ गोल गरेका छन् । 


साथै रोनाल्डोले आफ्नो क्यारियरमा एथलेटिको म्याड्रिडविरुद्ध २५ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा रोनाल्डोले यो सहित कुल ८ ह्याट्रिक गर्दै लियोनेल मेसीसँग बराबरी गरेका छन् । 


 



about author
प्रतिक्रिया