अन्नबालीभन्दा कागतीबाट फाइदा



देउखुरी - दाङको देउखुरीमा व्यावसायिक कागती खेती शुरु गरिएको छ । दाङको लमही नगरपालिका ९ निवासी नवीन कुँवरले १८ कट्ठा जग्गामा व्यावसायिक कागती खेती गर्नुभएको छ । कुँवरले राजनीति र कागती खेतीसँगै गर्दै आउनुभएको छ । अन्नबालीभन्दा कागतीबाट राम्रो आम्दानी हुने भएपछि किसान कागतीतर्फ आकर्षित भएका छन् । 

सशस्त्रद्वन्द्व कालमा भूमिगत भई तत्कालीन नेकपा माओवादीको राजनीति गर्नुभएका नवीनले आयआर्जनसँगै राजनीतिलाई अघि बढाउने उद्देश्यका साथ कागती खेती थालेको बताउनुभयो । हर्दवा निवासी नवीनले कागती खेती गर्न लागेको चार वर्ष भयो । 

गत सालदेखि फल्न लागेको र त्यहीबेला ३० हजारको कागती बेचेको उहाँले बताउनुभयो । ३५० वटा बिरुवा लगाउनुभएका नवीनले प्रतिबोट ४० देखि ५० किलो कागती फल्ने बताउनुभयो । 

लमही नगरपालिका ९, बाङ्गेतालका बमबहादुर चौधरीले पनि कगती खेती गरेको केही वर्ष भयो । चौधरीले बाह्र कट्ठा जग्गामा कगती खेती गर्दै आउनुभएको छ । बमबहादुरले पनि पहिलो चोटी ४८ हजारको कगती बिक्री गरेको स्मरण गर्नुभयो । यस वर्षदेखि कागतीले राम्रो फल दिने आशामा रहेको व्यवसायी चौधरीले बताउनुभयो । 

बल्ल अब कागतीले राम्रो फल दिने भएको छ, यस वर्षदेखि राम्रो आम्दानी हुने आशा लागेको छ, बमबहादुरले भन्नुभयो । अन्य बालीको तुलनामा कागतीबाट राम्रो आम्दानी हुने देखेपछि कागती खेती शुरु गरिएको उहाँले बताउनुभयो । कुँवर र चौधरीले आफूहरू कागती खेतीबाट सन्तुष्ट रहेको बताउनुभयो ।


about author
प्रतिक्रिया