आर्सनलसँग हार्‍यो म्यानचेस्टर युनाइटेड




लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति भएको खेलमा आर्सनलले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडमाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । जिततसँगै आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा खेलिएको खेलमा आर्सनलले दुबै हाफमा एक÷एक गोल गर्‍यो । खेल १२औं मिनेटमै स्विट्जरल्यान्डका मिडफिल्डर ग्रानिट जाकाले आर्सनललाई अग्रता दिलााएका थिए । ६९औं मिनेटमा पियर एमरिक आउबामेयाङले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल थपेका थिए ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सकरका लागि पनि यो खेल निराशाजनक रह्यो । म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकममा नियुक्त भएयता सोल्सकरले प्रिमियर लिगमा भोगेको यो पहिलो हार हो ।

प्रिमियर लिगमा ३०औं चरणको खेलको समाप्तिपछि म्यानचेस्टर सिटी ७४ अंकसहित पहिलो र लिभरपुल ७३ अंकसहित दोस्रो स्थानमा आसिन छन् । म्यानचेस्टर सिटी र लिभरपुलबीच केवल एक अंकको फरक देखिएकाले पनि यसपटक उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ ।

लिभरपुलले आफ्नो पछिल्लो खेलमा बर्नलीलाई घरेलु मैदानमा ४—२ गोलले हराउँदै म्यानचेस्टर सिटीसँगको दुरी एक अंकमा झारेको हो । टोट्टनहाम भने ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । आर्सनल ६० अंकसहित चौथो, म्यानचेस्टर युनाइटेड ५८ अंकसहित पाँचौं र चेल्सी ५७ अंकसहित छैटौं स्थानमा छन् ।

चेल्सी भने आफ्नो पछिल्लो खेलमा घरेलु मैदानमै उल्भरह्याम्पटनसँग १—१ गोलको बराबरीमा रोकिएको थियो । म्यानचेस्टर युनाइटेड गत डिसेम्बर १६ तारिखयता अवे खेलमा पराजित भएको यो पहिलो पटक हो ।


about author
प्रतिक्रिया