news-details

माईस्थानमा अस्थायी जलसरोवर निर्माण

Total Share : 516 Total Views : 3.6 K

सिन्धुली, पुस १७ गते । सिन्धुली जिल्लाको कमलमाई नगरपालिका-५ स्थित ऐतिहासिक शक्तिपिठ कमलामाई मन्दिर माईस्थान अगाडि अस्थायी जलसरोवर निर्माण गरिएको छ । कमलामाई मन्दिर व्यवस्थापन समितिले मन्दिर अगाडिको ग्वाङखोलामा ड्याम कसेर करिब चार सय मिटर लम्बाइको अस्थायी जल सरोवर निर्माण गरी परीक्षणका रुपमा सञ्चालनमा ल्याएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले एउटा डुङ्गा (बोट)बाट मासिक दश हजार रुपियाँ मन्दिरलाई आम्दानी हुने गरी जल सरोवर निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, "ड्याम निर्माण गर्न अढाई लाख रुपियाँ खर्च भएको छ । तलाउको सुरक्षाका लागि तारले घेराबेरा गर्नुका साथै एक जना कर्मचारी भर्ना गरिएको छ ।" तलाउमा डुङ्गा चढेर घुम्ने यात्रुका लागि लाइफ ज्याकेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

हिउँदकाे मौसमलाई लक्षित गरी जलसरोवर सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । अहिले तलाउमा दुई वटा डुङ्गा सञ्चालनमा रहेको र अहिलेसम्म दुई साताको बिचमा  करिब आठ सय जनाले डुङ्गामा यात्रा गरिसकेका व्यवसायी विक्रम बुर्जामगरले बताउनुभयो ।

माईस्थानमा शुक्रबार र शनिबार मात्रै २० देखि २५ वटा समूह वनभोज खान आउने र उनीहरुसहित स्थानीय व्यापार व्यवसायलाई टेवा पुर्‍याउन जल सरोवर निर्माण गरी सञ्चालनमा ल्याएको उहाँले सुनाउनुभयो । 

व्यवसायी मगरले भन्नुभयो, "तलाउको गहिराइ एकदेखि दुई मिटरसम्म छ । यात्रुको सुरक्षाका लागि सकेसम्म सबै उपाय अपनाइएको छ ।" त्यसो त कमलामाई मन्दिरमा प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्दै आएको छ । 

You can share this post!

Total Share : 516 Total Views : 3.6 K

प्रतिक्रिया