news-details

नेपाल प्रज्ञा प्रतिष्ठान ६६ औँ वर्षमा प्रवेश

Total Share : 516 Total Views : 3.6 K

काठमाडौँ ।  नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गर्दै छ ।

विसं २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन, २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो ।

 विसं २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्को ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साबिक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था भयो ।

प्रतिष्ठानले हाल भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शन शास्त्र विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्व बोकेको छ । नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने, गराउने काम प्रतिष्ठानले गर्दै आएको छ । 

आवश्यकताअनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्चस्तरीय कृतिको अनुवाद एवं प्रकाशन गर्ने, गराउने कार्य पनि भइरहेको छ । प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान् एवं प्रतिभाको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो ।  

प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने गरेको छ । भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रवचन, गोष्ठी, विचार विमर्श, प्रदर्शनी आदिमा सहभागी गर्ने, गराउने कामको नेतृत्व पनि प्रतिष्ठानले गर्ने गरेको छ ।

भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सम्बन्ध राख्ने, भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने दायित्व पनि प्रतिष्ठानकै हो । 

भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विकासको निमित्त सम्बन्धित विषयका विद्वान् साहित्यकार एवं सामाजिक शास्त्रीको प्रतिभा विकसित हुने वातावरणका लागि सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्ने कामलाई पनि प्रतिष्ठानले प्राथमिकता दिएको छ ।

नेपालका विभिन्न जाति तथा समुदायका साहित्य, लिपि, संस्कृति तथा लोकोक्तिको सम्वद्र्धन र संरक्षण गर्ने, नेपाली लोक साहित्यको अध्ययन, अनुसन्धान, सम्वद्र्धन र संरक्षण गर्ने, नेपालका सबै भाषा, विभिन्न विदेशी भाषा र नेपालमा बोलिने भाषामा विश्व कोश तथा शब्दकोश तयार गरी प्रकाशन गर्ने तथा नेपालका सबै भाषालाई समृद्ध र वैभवशाली बनाउन विभिन्न शब्द तथा शब्दावलीको सृजना गरी प्रचलनमा ल्याउने जिम्मेवारी पनि प्रतिष्ठानकै हो ।

भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिक शास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार, सामाजिक शास्त्रीे, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाको विकासमा सहयोग पुर्‍याउने, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने काम पनि प्रतिष्ठानले गर्दै आएको छ । 

नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने, नेपालका विभिन्न जातजातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न प्राथमिकता दिने दायित्व पनि प्रतिष्ठानले निर्वाह गर्दै आएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले बताउनुभयो ।

प्रतिष्ठान स्थापना दिवसको अवसर पारेर विसं २०२२ देखि राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै आएको छ । महोत्सव विभिन्न कारणले बीचमा केही वर्ष रोकिए पनि अनुकूल समयमा निरन्तरता दिइएको प्रतिष्ठानको सञ्चार संयोजकसमेत रहनुभएका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष पनि महोत्सवलाई निरन्तरता दिइएको छ । महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुहुने सदस्य सचिव उपाध्यायले सुनाउनुभयो । महोत्सव विसं २०४६ सम्म निरन्तर चलेको थियो ।

विसं २०४७ मा विशेष कारणवश रोकिएको जनाइएको छ । विसं २०६३ देखि २०६६ सालसम्म प्राज्ञ परिषद् गठन नभएका कारण कविता महोत्सव आयोजना हुन सकेन । विसं २०६७ देखि महोत्सव निरन्तर रूपमा आयोजना भइरहेको छ ।

कोरोना महामारी सुरु भएपछिको कविता महोत्सव २०७७ मा प्रतिष्ठानले जुम माध्यमबाट यसलाई निरन्तरता दिएको थियो । गत वर्ष भने भौतिक रूपमै कार्यक्रम गरिएको जनाइएको छ । यस पटक कविता महोत्सवको ५३ औँ शृङ्खला आयोजना हुँदै छ ।

यस वर्ष महोत्सवका लागि ५८८ जना कवि एवं कवयित्रीले आवेदन दिनुभएकामा २० वटा प्रतियोगी कविता छनोट भएको छ । महोत्सवमा १६ जना अतिथि कविले कविता वाचन गर्नुहुने कार्यक्रम रहेको सदस्य सचिव उपाध्यायले बताउनुभयो ।

प्रतिष्ठानले प्रकाशन गरेका नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोश, अमरकोशलगायत विभिन्न भाषाका शब्दकोश पुस्तक चर्चित छन् । प्रतिष्ठानले हालसम्म हजारभन्दा बढी प्रकारका पुस्तक प्रकाशन गरिसकेको बजार व्यवस्थापन शाखा प्रमुख सुधीर ढुङ्गेलले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्र प्रतिष्ठानले ७० भन्दा बढी प्रकारका पुस्तक बजारमा ल्याएको पनि उहाँले सुनाउनुभयो ।रासस

You can share this post!

Total Share : 516 Total Views : 3.6 K

प्रतिक्रिया