news-details

मनोहरा किनारमा रेस्टुरेन्ट हबको जग बसाउने ‘सिलौटो’

Total Share : 602 Total Views : 4.2 K

४ चैत, काठमाडौं । धेरै समय भएको छैन, मनोहरा किनारले रुपरंग फेरेको । केही वर्षअघिसम्म खेतबारीको रुपमा रहेको यो किनार अहिले ‘रेस्टुरेन्ट हब’ बनेको छ । सहरका नाम चलेका फास्टफुड चेनदेखि नयाँ–नौलो शैलीमा निर्माण गरिएको रेस्टुरेन्टले मनोहरा किनार गुल्जार बनाइदिएको छ ।

खासमा आवासका लागि व्यवस्थित सहरी योजनाअन्तर्गत बनाइएको ठाउँ थियो यो । दिव्येश्वरी जग्गा एकीकरण विकास आयोजनाले स्थानीयवासीको ५४५ रोपनी जग्गा लिएर प्लटिङ सुरु गरेको थियो । त्यहाँ पानी, बिजुली, सडक, बगैंचा जस्ता सम्पूर्ण पूर्वाधार तयार गर्न करिब डेढ दशक लाग्यो । जसै भौतिक निर्माणका काम धमाधम हुँदै थियो, त्यही गतिमा यहाँ चहलपहल बढ्न थाल्यो । मर्निङ वाक गर्नेदेखि टिकटक बनाउनेसम्मको भीड जम्मा हुन थाल्यो ।

ठीक त्यहीबेला हो, सिलौटो सेकुवा घर खुलेको । त्यसबेलासम्म यहाँ कुनै रेस्टुरेन्ट थिएन । ‘मान्छेहरुको आउजाउ बढ्न थालेपछि रेस्टुरेन्ट खोल्ने सोच आयो,’ सञ्चालक हरि थापा मगर सुनाउँछन्, ‘अनि हामी साथीभाइ मिलेर सिलौटो सेकुवा घर सञ्चालनमा ल्यायौं ।’

यस क्षेत्रमा खुलेको पहिलो रेस्टुरन्ट हो यो । रैथाने स्वादको परिकार बनाएर यसले ग्राहकलाई आकर्षित गरेको छ । सिलौटोमा पिसेको मरमसला, अचार, त्यही पालिएका कुखुरा, कालिज, माछा । आगन्तुकले सिलौटोको स्वाद रुचाए । ‘हामीले स्वाद र स्वास्थ्य दुवैलाई ख्याल गरेर परिकार बनाइरहेका छौं,’ थापा भन्छन्, ‘त्यसैले यहाँ आएका ग्राहकहरु फेरि फर्किएर आउँछन् ।’

सिलौटोको खास परिकार त सेकुवा हो । खसीको सेकुवा, कुखुराको सेकुवा वा सुँगुरको सेकुवा । ग्राहकको मर्जीअनुसार तीनथरी सेकुवा पाक्छ । त्यससँगै कोदो, मकै, फापर आदिको ढिंडोले स्वाद फेर्न पाइन्छ । त्यसो त नेवारी खाजासेटदेखि बर्गरसम्म यहाँको मेनुमा समेटिएका छन् ।

तुलनात्मक रुपमा हाम्रो मेनु सस्तो पनि छ,’ थापा भन्छन् । रेस्टुरेन्ट परिसरमै कुखुरा, कालिज, माछा पालिएको छ । ताजा माछा खान चाहने हो वा कुखुरा ? ग्राहकको इच्छाअनुसार तुरुन्तै परिकार तयार हुन्छ ।

पारिवारिक जमघट होस् वा कुनै सानोतिनो भोजभतेर सिलौटो उपयुक्त थलो हुनसक्छ । यहाँ ग्राहकको आवश्यकता अनुसार छुटाछुटै बस्ने व्यवस्था छ । खुला बगैंचामा बसेर मीठोमसिनो व्यञ्जनको स्वाद लिए हुन्छ वा बेग्लै क्याबिनमा बसेर आफन्तजन तथा साथीभाइसँग खुसी साटे हुन्छ ।

डान्स क्लबदेखि सभाहलसम्म

फराकिलो क्षेत्रफल, उत्तिकै लगानी । नयाँ काम थाल्नु चुनौतीपूर्ण थियो थापालाई । ‘तै पनि हामीलाई विश्वास थियो, यहाँ गरेको लगानी व्यर्थ हुँदैन भन्ने,’ उनी सुनाउँछन् । रेस्टुरेन्टमा सुरुमा तीन जनाको साझेदारी थियो । अहिले दुई जना मात्र छन्, थापा र विश्वराज रेग्मी ।

पछिल्लो कारोबारबाट उत्साहित उनीहरुले यसमा लगानी पनि बढाउँदै लगेका छन् । साथसाथै त्यस अनुरुपको सेवा सुविधा पनि थपिंदैछ । ‘अहिले हामी धमाधम संरचना बनाइरहेका छौं,’ थापा सुनाउँछन्, ‘यहाँ सभाहलदेखि डान्स क्लबसम्म सञ्चालन हुँदैछ ।’

 

 

You can share this post!

Total Share : 602 Total Views : 4.2 K

प्रतिक्रिया