news-details

ज्यानभन्दा ठूलो धार्मिक आस्था : शील गरिएको देवघाटमा १२ हजार भक्तजन

Total Share : 688 Total Views : 4.8 K

तनहुँ । नजानुहोस् । खतरनाक कोरोना भाइरस फैलिएको छ । पहिले त तपाई स्वयंको ज्यान जोखिममा छ ।

त्यसपछि तपाईबाट घर परिवार, समाज हुँदै समग्र नागरिकमा फैलिन्छ । विभिन्न सचेतनाका सामाग्रीले पवित्र तीर्थस्थल देवघाट तर्फ हिँडिरहेका मानिसलाई आग्रह गरिरहेका थिए ।

प्रशासनले कर्फ्यू जारी गरेर शील गरेको समाचार आइरहेका थिए । तर कस्तो धार्मिक आस्था यस्ता कुनै कुराले १२ हजार मानिस नरोकिएको खुल्न आएको छ ।

कोरोना फैलने जोखिमले शील गरिएको पवित्र तीर्थस्थल देवघाटमा माघे संक्रान्तिको दिन झण्डै १२ हजार भक्तजन पुगेको तथ्यांक आएको हो ।

गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा मकर स्नान गर्नाले पुण्य प्राप्त हुने जनविश्वासले शील हुँदाहुँदै पनि हजारौँ भक्तजन देवघाट पुगेका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमा फैलन थालेपछि देवघाट क्षेत्रमा हुने माघे संक्रान्ति मेला स्थगित गरिएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार शुक्रबार दिउँसो २ बजेदेखि शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने नाका शील समेत गरिएको थियो ।

देवघाट प्रवेश गर्ने नाका आँपटारी, ठिमुरा, दासढुंगा र रामनगरबाट प्रवेशमा रोक लगाएको थियो । तैपनि पनि मकर स्नान गर्न झण्डै १२ हजार भक्तजन पुगेका छन् ।

भक्तजन बिहानैदेखि गेटमा आएर बसेपछि बिहान साढे ८ बजेदेखि पैदलयात्रीलाई देवघाट प्रवेश गर्न दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक घिरणबाबु घिमिरेले बताउनुभयो । त्यसपछि साँझसम्म १० देखि १२ हजार भक्तजन देवघाटमा स्नान गर्न आएको समितिले जनाएको छ ।

‘प्रशासनको आदेश अनुसार देवघाटमा लाग्ने माघे संक्रान्ति मेला स्थगित गरेका थियौँ । ९० प्रतिशत तयारी पुरा भइसकेको थियो । देवघाट शील भएको सूचना जारी गरेका थियौँ । नाका शील हुँदा समेत भक्तजन आउनुभयो । देवघाटप्रतिको आस्था, महिमाका कारणले हो’, उहाँले भन्नुभयो ।

विगतको तुलनामा यसपालि देवघाट सुनसान बनेको घिमिरे बताउनुहुन्छ । मेला स्थगित गरेर नाका शील नभएको भए देवघाटमा भक्तजनको घुइँचोले खुट्टा टेक्ने ठाउँ समेत नहुने उहाँले उल्लेख गर्नुभयो ।

विगतका वर्षमा देवघाटमा मकर स्नान गर्न पाँच लाख बढी भक्तजन आउने गरेका थिए । देशभरबाट माघे संक्रान्तिमा देवघाटमा स्नान गर्नलाई आउने भक्तजनको भिड अघिल्लो दिनबाटै लाग्दथ्यो । भजनकिर्तनले देवघाट क्षेत्र गुञ्जायमान हुने गरे पनि यसपालि सुनसान नै रह्यो ।

देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । कोरोनाको जोखिमले गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त–महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा मात्रै बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो । माघे संक्रान्तिमा देवघाटमा हुने मेला देशकै ठूलो र प्रसिद्ध मानिन्छ ।

 
 

You can share this post!

Total Share : 688 Total Views : 4.8 K

प्रतिक्रिया