news-details

महन्थ ठाकुर र राजेन्द्र महतोबीच तीब्र विवाद

Total Share : 0 Total Views : 0

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद सुरू भएको छ।

 

पार्टी अध्यक्ष ठाकुरले एकलौटी ढंगले पार्टीका निर्णय गरेको महतो पक्षको आरोप छ।

 

महत्वपूर्ण निर्णय गर्दासमेत ठाकुरले कार्यकारिणी बैठकमा र शीर्ष नेताहरूसँग छलफल नगरेको महतोनिकट एक नेताले सेतोपाटीलाई बताए।

लोसपमा ३१ सदस्यीय कार्यकारिणी समिति छ। महतो र शरतसिंह भण्डारी वरिष्ठ नेता छन्।

 

‘भदौ ९ गते निर्वाचन आयोगबाट पार्टीको मान्यता पाएको दिनदेखि नै कार्यकारिणी बैठक बोलाइएको छैन। पार्टी अध्यक्षले आफूखुसी निर्णय गर्नुभएको छ। कसैलाई जिम्मेवारी दिनुभएको छैन,’ ती नेताले भने, ‘झण्डै डेढ महिनादेखि उहाँ र अध्यक्षबीच भेट भएको छैन। पछिल्लो समय महतोजी पार्टी कार्यालयसमेत आउन छोड्नुभएको छ।’

 

महतोले अनामनगरमा रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रको कार्यालयबाट समानान्तर गतिविधि गरिरहेको ठाकुर पक्षको आरोप छ।

महतो पक्षले भने ठाकुरले लोसपालाई तमोलपाकरण गर्न खोजेको आरोप लगाएको छ।

 

२०७३ मा राजपा गठन हुनुभन्दा पहिला ठाकुर तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष थिए भने महतो सद्भावना पार्टीका अध्यक्ष थिए।

 

२०७४ वैशाखमा ७ गते तत्कालीन तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक मिलेर राजपा बनेको थियो।

 

२०७६ वैशाखमा राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको एकता भएपछि जसपा बनेको थियो। जसपाबाट टुक्रिएर गत भदौमा लोसपा बनेको हो।

 

राजपा अध्यक्ष मण्डलमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादवले लोसपा गठनमा ठाकुरलाई साथ दिएनन्। महतोसँगै शरतसिंह भण्डारी र अनिल झाले ठाकुरलाई साथ दिएका हुन्। स्रोतका अनुसार ठाकुर, भण्डारी एक ठाउँमा छन् भने महतो र झा एक ठाउँमा छन्।

 

तराईका १७ जिल्लामा अध्यक्ष र पर्यवेक्षक तोक्दा ठाकुरले एकलौटी ढंगले गरेको महतो पक्षको आरोप छ।

जितेन्द्र सोनललाई प्रदेश २ को अध्यक्ष तोकेकामा महतो पक्ष सबैभन्दा धेरै असन्तुष्ट छ।

 

ठाकुरले एकलौटी ढंगले पार्टीमा निर्णय गरेको र आन्तरिक लोकतन्त्रलाई नस्विकारेको महतोनिकट नेता रमण पाण्डेले सेतोपाटीलाई बताए।

 

‘पार्टीमा कुनै पनि महत्वपूर्ण निर्णय गर्दा कार्यकारिणी बैठक बोलाउनुपर्ने हो। तर उहाँले यस्ता कुरालाई ध्यान दिनुभएको छैन। हामीले यसको विरोधमा काठमाडौंमा धर्ना समेत दियौं,’ उनले भने, ‘जितेन्द्रजीलाई उहाँले छलफल नै नगरी जिम्मेवारी दिनुभयो। उहाँले पार्टीमा सामूहिक निर्णय गर्नुभएको छैन। आफूनिकटलाई मात्रै जिम्मेवारी दिनुभएको छ।’

 

पुस दोस्रो साता धनुषा, महोत्तरीबाट महतोनिकट नेताहरू बबरमहलस्थित लोसपा कार्यालयमा धर्नासमेत दिएका थिए। जसको नेतृत्व पाण्डेले गरेका थिए।

 

पार्टीमा कुनै पूर्वसमूह नरहेको र सबै लोसपा भएको ठाकुर निकट नेता सरेन्द्र झाले बताए।

 

‘कार्यकारिणी समितिले अध्यक्षलाई काम गर्ने अधिकार दिएको छ। अध्यक्ष अनि दुई वरिष्ठ नेता सहितको हाइकमाण्ड बनाइएको छ,’ उनले भने, ‘तीन जनाको छलफलमै सबै निर्णय भएको छ।त्यसैले एकलौटी निर्णय भएको छ भन्ने मलाई लाग्दैन।’

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया