भाद्र १८, लमजुङ । गत असार १ गते मर्स्याङ्दी नदिमा आएको बाढीका कारण माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा अझै विद्युत् उत्पादन हुन सकेको छैन ।
निरन्तर वर्षा, बाढी र पहिराले क्षति पुर्याएको आयोजना दुई महिना हुँदासमेत संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो ।
गण्डकी प्रदेशको लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिकामा रहेको यस आयोजनाका अनुसार दुईवटै टर्बाइनलगायतका संरचनामा क्षति पुगेको छ । संरचना निर्माणको कार्य भने भइरहेको आयोजनाको भनाई छ ।
आयोजनाका अधिकृत कर्ण अधिकारीले बाढीका कारण आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको र यसको मर्मत कार्यमा ३ महिना समय लाग्ने बताउनु भयो ।
हाल विद्युत् उत्पादन हुन नसक्दा दैनिक ६० लाख देखि रु एक करोडको हाराहारीमा नोक्सान भइरहेको समेत बताउनु भयो ।
विद्युत् उत्पादन गर्ने आयोजनाहरु मध्ये यो आयोजना लमजुङकै दोस्रो आयोजना हो ।
प्रतिक्रिया