news-details

होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै

Total Share : 387 Total Views : 2.7 K

‘जोगिरा सररर …’
कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग
कौन तालपर गौरिया नाचे, कौन तालपर हम
जोगिरा सररर …’

तराई-मधेशमा प्रचलित फागु पूर्णिमा अर्थात् होलीमा गाइने मौलिक गीत ‘जोगिरा सररर’ लोप हुँदै गएको छ । यो मौलिक गीत मधेशका शहर र गाउँ देहातमा होलीका बेला गाइने प्रचलित गीत हो तर आधुनिक आगन्तुक संस्कृतिको प्रभाव बढेसँगै यो मौलिक गीत हराउँदै गएको छ । फागु आउन १५ दिनअघिदेखि धनुषासहित तराई-मधेशमा गुञ्जिने गीतहरू अहिले सुनिन छाडेका छन् ।

क्षीरेश्वरनाथ नगरपालिका-५ का ६७ वर्षीय रामसागर ठाकुरलगायत जोगिरा गायकहरु वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा दुःखी छन् । ठाकुरले भने, ‘होली पर्वको आगमनसँगै कुनै बेला गाउँघरमा राति गुञ्जिने होली गीत अचेल सुनिँदैन । उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न त ढोल, मृदङ्ग नै बज्छन् न त फागु गीत नै गुञ्जिन्छन् ।’

संस्कृतिविद् रामभरोस कापडी भने, ‘एक दशकअघिसम्म फागु पूर्णिमा वा होलीमा गुञ्जिने गरेको ‘जोगिरा सरर’लगायत गीतसँगै होलीको परम्परागत मौलिकतासमेत हराउँदै गएको छ ।’ उनले तराईबाट चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र सङ्गीत पनि लोप हुँदै गएको बताए । उनले भने, ‘अवधि, भोजपुरी समुदायमा बजाइने ढोलक, हरमुनिया, तबलालगायत बाजा र होलीमा गाइने परम्परागत गीतहरू पछिल्ला पुस्ताले छाड्दै गएका छन् ।’

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत ग्रामीण क्षेत्रबाट हराउन थालेकामा मिथिला नगरपालिका-६ का ७० वर्षीय बिल्टु चौधरीले चिन्ता व्यक्त गर्दै भने, ‘पहिलेपहिले गाउँगाउँ, टोलटोल घुमेर फागु पर्वको आगमन भइसकेको गीतमार्फत जनाउ दिने गर्थे तर अब न त ढोल, मृदङ्ग नै बजाउन पाइयो, न फागु गीत नै गाउन पाइयो ।’

चौधरीका अनुसार परापूर्वकालदेखि ग्रामीण क्षेत्रमा रहेको दलान संस्कृति हराउँदै गएकाले होलीमा गाइने फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो । ‘पुरानो सामाजिक संरचना ध्वस्त भई यसको स्थानमा आधुनिकता र यान्त्रिकीकरण हाबी हुँदा फागु गीत लोपोन्मुख अवस्थामा पुगेको हो’, मैथिली भाषाका साहित्यकार उत्तिमलाल कापडीले भने, ‘वैदेशिक रोजगार र आधुनिक शिक्षाका लागि ग्रामीण क्षेत्रबाट लाखौँको सङ्ख्यामा युवा विस्थापित भएर यस्तो समस्या आएको हो ।’

कापडीले सांस्कृतिक पर्व होली आउन दुई साता बाँकी हुँदै साथीभाइहरू मिलेर गीत/सङ्गीत, कविता, हास्यव्यङ्ग्यका कार्यक्रम गरी मनाइन्थ्यो तर अहिले भने ती सबै कुरा सपनाजस्तो लाग्न थालेको भने ।

पण्डित लालबाबु झाका अनुसार होली आउन १५ दिनअगावै पण्डितहरूले विधिवत्रूपमा पूजापाठ गरी शुरुआत गरिने चलन थियो । झाले भने, ‘गाउँगाउँका युवाहरूले घरघरबाट गुइँठा (गोबर) सङ्कलन गरी राति बालेर गीत गाउने चलन थियो । होलीको एक दिनअघि ठाउँठाउँबाट चोरिएका दाउरा राति बालेर होलिकाको दहन गर्ने चलन थियो ।’

मिथिला संस्कृतिका जानकार ७० वर्षीय रमापति चौधरीका अनुसार होलिका दहनको खरानी पोत्ने र बिहान नुहाउने र बिहान ९ बजेपछि एकापसमा शुभकामना साटासाट गरी रङ लगाएर रमाइलो गरी खेलिने होलीको अहिले भने त्यो मौलिकता हराउँदै गएको छ । चौधरीले भने, ‘मूल संस्कृतिको मर्मलाई विकासको प्रक्रियासँगै बढाउन सकिएन । त्यसले अहिले क्रमशः मिथिलाबाट परम्परागत संस्कृतिहरू विलीन हुँदै गएका छन् ।’

पाँच/छ दशकयता सामाजिक आन्दोलनसमेत नभएकाले मिथिलाका मौलिकता हराउँदै गएको उहाँको कथन रहेको छ । अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण बन्दै गएको छ ।

भाङको ठाउँमा मदिरा, प्रेम सद्भावको ठाउँमा द्वेष देखा परेकाले जोगिरा गीत पनि प्रभावित भई रङबिनाको होली र माधुर्यविनाको जोगिरा हुन गएको भनेर टिप्पणी गर्छन, जनकपुरधामका अवकाश प्राप्त सिडिओ ७१ वर्षीय राजेन्द्र झा । झाको अनुसार फाट्टफुट्टरुपमा फागु पूर्णिमाको पहिलो दिन अर्थात् चतुर्दशीको रात होलिकालाई निर्जन स्थानमा लगी गाउँ देहातका मानिस त्यहाँ भेला भएर मृदङ्ग, ढोल बजाई होलिका दहन गर्ने परम्परा चाहिँ देखिएको छ ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलेन्द्र झाले अहिले शहर बजार तथा ग्रामीण क्षेत्रमा होली गीत जोगिरासम्बन्धी अश्लील शब्द मिश्रित भोजपुरी गीति एल्बम छ्याप्छ्याप्ती पाउनाले पनि जोगिरा संस्कृतिमाथि मार परेको बताए । महेन्द्रनगरका शङ्कर झाले भने, ‘पहिले पहिले त गाउँको बीचमा रहेको कुनै ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाइन्थ्यो तर अब जोगिरा नसुनेको पनि धैरै भयो । आफूहरुले गर्दै आएको कीर्तनभजनमा भने होली गीत गाउने गरेको छु ।’

धनुषा जिल्ला समन्वय समितिका सभापति ६१ वर्षीय रामदेव यादवले समयको परिवर्तन र गाउँका युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको बताए ।

यादवले भने, ‘होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा न त अब होलीको रौनक छ, न त माधुर्य नै ।’ अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यपूर्ण भएको छ । प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगिरा गीत पनि प्रभावित भएको उनको भनाइ छ ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ६५ वर्षीय रामजी सिंहले भने, ‘अहिले बजारमा पाइने जोगिराका अश्लील संस्करणहरुले पनि परम्परागत होली गीतमाथि धावा बोलेका छन् । आधुनिकताले पुरानो परम्परा लोप हुँदै गएको छ ।’ उनका अनुसार सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ र यसको रौनकता नै समाप्त भएर जान लागेको भान भएको छ ।

पहिले होलीमा गाइने गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लिल भोजपुरी गीत बढी गाउन थालिएको छ । जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद्ले जोगिरा संरक्षणका लागि विगत केही वर्षदेखि जानकी मन्दिर प्राङ्गणमा जोगिरा प्रतियोगिताको आयोजना गर्नाका साथै हास्यव्यङ्गअन्तर्गत महामूर्ख सम्मेलनसमेतको आयोजना गर्दै आएको छ ।

होली पर्व आउन दुई हप्तामात्र बाँकी छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगिरा लोप हुँदै गएकामा बूढापाकाले यसको संरक्षणमा युवा वर्गअगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् । रासस

 

You can share this post!

Total Share : 387 Total Views : 2.7 K

प्रतिक्रिया