news-details

गोरखामा किसानको ६ सय माछा मरे, पोखरीमा विष हालेको आशंका

Total Share : 2.4 K Total Views : 16.7 K

गोरखा - गोरखाको गण्डकी गाउँपालिका–५ दर्बुङका राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको पोखरीका विष हालेर मारेको पाइएको छ ।

उनको दुईवटा पोखरीमा रहेका करिब ६ सय माछा पानीमा बिष मिसिएका कारण मरेको पशु प्राविधिकले बताएका छन् । पोष्टमार्टम गर्दा माछाको ‘लिभर ड्यामेज’ देखिएको उनीहरुको निष्कर्ष छ । तर पोखरीमा कहाँबाट कसले बिष हालिदियो भन्ने अझै खुलेको छैन ।

माछालाई दाना दिन भनेर मेरो बुढी पोखरीमा पुग्दा धेरैजसो माछा उत्तानो पल्टेको देखेपछि चिच्याउँदै मलाई सुनाइन्,’ श्रेष्ठले भने, ‘मैले स्थानीयलाई फोन गरेर बोलाएँ ।’

तत्कालै स्थानीयले मिलेर पोखरीबाट माछा झिक्दासम्म ३ सय ४० वटा माछा मरिसकेको थियो । ‘पोखरीको सबै पानी फालेर नयाँ पानी हाल्यौ, नमरेका माछा बाँच्छ कि भनेर फेरि पोखरीमा राख्यौ र नुन पनि हालिदियौ तर पछि सबै म¥यो,’ श्रेष्ठले भने । मरेको सबै माछा प्राविधिकको सल्लाह अनुसार खाल्डो खनेर पुरेको उनले जानकारी दिए ।

बुढीगण्डकी पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर विगत तीन बर्षदेखि व्यवसायिक रुपमा व्यवसायिक कृषिमा लागेका श्रेष्ठले गत जेठ १२ गते चितवनबाट माउर माछाको ६ सय भुरा ल्याएर उनले पोखरीमा हालेका थिए ।

‘दशैं‌को फुलपातीमा माछा झिकेर बेच्ने योजना थियो, गाउँलेहरुले पनि यसपाली लोकल माछा चाख्ने भनिरहेका थिए, तर सबै सपना खरानी भयो,’ श्रेष्ठले भने । उनको पोखरीका माछा ८ सय ग्रामदेखि एक किलोसम्मको भइसकेको थियो ।

माछा पालनका लागि उनले चार लाख रुपैयाँ खर्चेर दुई वटा पोखरी निर्माण गरेका थिए । दाना र माछाको भुराका लागि मात्र अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको उनी बताउँछन् ।

दशैंमा माछा बेचेर करिव एक लाख नाफा कमाउने उनको लक्ष्य थियो । ‘माछा नमरेको भए दशैमा बेचेर नाफा मात्र एक लाख हुन्थ्यो तर कसले पोखरीमा बिष हालेर सखाप बनाइदियो,’ श्रेष्ठले भने ।

उनले टोल सुधार समिति, वडा कार्यालय र घ्याल्चोक प्रहरी चौकीमा उजुरी दिएका छन् । प्रहरीले घटनाको छानबिन भइरहेको बताएको छ । २८ रोपनी जग्गा भाडामा लिएर श्रेष्ठले आप, लिची, एभोगाडो, केरालगायतका खेती गर्दै आएका छन् ।

कोरोना संक्रमण भएका कारण श्रेष्ठ अहिले होम आइसोलेसनमा छन् । यही असोज ९ गते उनलाई कोरोना देखिएको थियो । घर बाहिर निस्कन नपाउँदा पनि यो समस्या आएको उनको भनाइ छ ।

 

 

You can share this post!

Total Share : 2.4 K Total Views : 16.7 K

प्रतिक्रिया