news-details

खेल प्रशिक्षण सुरु गर्न अब ढिला नगरौं- ओलम्पियन विष्ट

Total Share : 258 Total Views : 1.8 K

काठमाडौं - नोबेल कोरोना भाइरस (कोभिड १९)ले नेपालमा खेलकुद गतिविधि ठप्प भएको ३ महिना पुरा भइसकेको छ । फागुन अन्तिमदेखि रोकिएको खेल गतिविधि अहिले पुनः सञ्चालन गर्ने विषयमा बहस भइरहेको छ ।

तर, विभागीय मन्त्रालय युवा तथा खेलकुद भने यस विषयमा अहिलेसम्म अन्यौलमै छ । मन्त्रालयले न कुनै छलफल गर्न सकेको छ । नत तदारुकता नै देखाएको छ । यता, खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि कोरोना भाइरसको संक्रमण बढेपछि ठप्प बनेको खेलकुदबारे गृहकार्य गरिरहेपनि अहिलेसम्म कुनै नीति बनाउन सकेको छैन ।

 

यसकैबीच जेठ १५ मा संघीय सरकारले आगामि आर्थिक वर्षका लागि बजेट घोषणा गरेको छ । जसमा खेलकुदको बजेट उपेक्षामा परेको खेल क्षेत्रका जानकारहरु बताउँदै आएका छन् ।

कोरोना पछिको खेलकुद कसरी सुरु गर्ने, बजेटमा किन खेलकुद प्राथमिकतामा परेन जस्ता विषयबारे हामीले ओलम्पियन तथा सागका कीर्तिमानी खेलाडी दीपक विष्टसँगको कुराकानी गरेका छौं । विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

खेलकुद खेलाडीका लागि मात्रै होइन ! सबैका लागि हो । नेपाल जस्ता विकासोन्मुख मुलुकमा खेलकुदको महत्व बढी हुन्छ । हामीलाई कुनै स्वास्थ्य समस्या देखियो भने चिकित्सक कहाँ जाँदा खानामा ध्यान दिने र व्यायाम गर्ने सुझाव आउँछ । चिकित्सकले दिने सल्लाह अनुसार गरिने शारीरिक अभ्यास, व्यायाम र फिटनेस हुन गरिने गतिविधि नै खेलकुद गतिविधि हुन्।

यसका लागि हामीले गाउँ–गाउँमा बिहान–बेलुकी व्यायाम–अभ्यास गर्ने खुल्ला स्थानहरु बनाउनुपर्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पैसा खर्च गर्नुपर्छ भन्ने आशय मेरो होइन ।

कुनै एउटा गाउँ छ, भने त्यो गाउँको एक ठाउँमा सबैलाई पायक पर्ने खेलकुद गतिविधि हुन सक्ने वा अभ्यास गर्न सकिने खेलग्राम बनाउनुपर्छ । त्यो खेलकुदका लागि पनि हुन्छ ।

यस्ता कुरामा सरकारी तवरबाट कहिलै ध्यान पुगेको देखिएन । यस्ता कुराहरु सधै सरकारको उपेक्षामा परिरहे । तर, नाराहरु कहिलै हराएनन् । अहिले लकडाउनमा शहर बजारका मानिसहरु बिहान बेलुका सडकमा हिँड्न थालेका छन् ।

यसअघि यी बाटोहरु गाडिले कोलहल पूर्ण हुन्थे। सवारी चालकको अव्वस्थित सवारी हँकाइले दिक्क भएका मानिसहरु अहिले लकडाउनमा सडकमा गाडि नहुँदा आफुलाई स्वस्थ राख्न, स्टेमिना बढाउन भन्दै बिहान र बेलुकाको समय सडक किनारमा हिडिरेहका हुन्छन् ।

विदेशतिर हेर्ने हो भनेपनि थाइल्यान्ड, कोरिया, चीन जहाँ गाउँका खुल्ला ठाउँहरुलाई व्यवस्थित बनाइ व्यायाम, फिटनेस वा खेलकुद गतिविधिका लागि अभ्यास गर्ने ठाउँ बनाएका हुन्छन् । खेलाडीले खेलेर मेडल जित्ने कुरा एकतिर छ भने अर्कोतिर आम नागरिकलाई स्वस्थ राख्ने कुरा छ ।

खेलकुदले कुनै जात, रंग, धनी, गरिब, भाषा, धर्मका आधारमा विभेद गरेको हुँदैन । सामाजिक सौर्हादताका लागि पनि समाजमा खेलकुदबारे नागरिकलाई सचेत गराउन आवश्यक छ ।

विधमान नेपाली समाजमा धनी गरिब, ठूलो सानो भन्ने विभिन्न किसिमका विभेदहरु विधमान छन् । तर, खेलाडी र खेलकर्मीमा त्यो देखिँदैन ।
जसरी विदेशमा गाउँका खुल्ला ठाउँमा केही समय विताउने पार्क वा खेल स्थल बनाइएका हुन्छन् त्यसलाई हामीले पनि आफु अनुकुल प्रयोगमा ल्याउन सक्नुपर्छ । यसका लागि आवश्यक पर्ने नीति नेपाल सरकारले बनाउनुपर्छ ।

अहिले विश्वभर देखिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीमा नेपालभित्रै बसोबास गरिरहेका मानिसहरुमा सुरुमा खासै असर गरेको थिएन ।

पछिल्लो समय भारत लगायत विदेशी मुलुकबाट आउने मानिसको संख्या बढ्न थालेपछि र उनीहरुलाई सरकारले प्रभावकारी रुपमा व्यवस्थापन गर्न नसकेपछि संक्रमितको संख्या बढ्न थालेको छ । यो समूदायस्तरमा पनि फैलन थालेको छ ।

मैले भन्न खोजेको नेपालको हावा–पानी, खानपान र रहनसहनले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन महत पुर्‍याएको छ ।

मैले खेलकुदमा लगानी बढाउनु पर्यो भन्दा मेरो र खेलाडीको फाइदाका लागि मात्रै भनेको होइन । सबैका नागरिकका लागि भनेको हुँ ।

सरकारले विद्यालयदेखि नै खेलकुदलाई मुख्य विषयका रुपमा पठन पाठन गराउनु पर्छ । स्वास्थ्यमा जस्तै, खेलकुदलाई पनि सरकारले प्राथमिकता दिनुपर्छ ।

अस्वस्थ मानिसहरुको संख्या बढ्दा अस्पताल लगायत क्षेत्रहरु धेरै चाहिने हो तर, खेलकुदको माध्यमबाट नागरिकलाई स्वस्थ बनाउन सकियो भने अस्पताल किन धेरै चाहियो ।

विकसित मुलुकहरु थाइल्यान्ड, कोरिया, चीन, जापानले स्वास्थ्य र खेललाई उतिकै प्राथमिकता दिएका हुन्छन् ।

नेपालमा खेलाडीले पदक जित्यो भने युवा तथा खेलकुद मन्त्रालय र राखेपले मौखिक रुपमा यो पनि गछौं त्यो पनि गछौं भन्छन् तर, त्यो कार्यन्वयन भएको पाइँदैन ।

अहिले सांसदहरुका लागि जीमहल बनाउने कुरा चलिरहेको छ । यो राम्रो कुरा हो । तर, करोडौं जनताका केही प्रतिनिधिमात्र स्वस्थ भएर देश स्वस्थ हुन्छ भन्ने होइन । जनताका लागि पनि दैनिक अभ्यास गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ ।

दैनिक अभ्यास गर्दा, खेल गतिविधिमा सक्रिय हुँदा रोगसँग लड्ने क्षमता बढ्छ भने हामी किन लगानी नगर्ने ? सरकारको बजेटले यी कुराहरुमा ध्यान दिनुपर्यो ।

अहिले तीन तहका सरकार छन् । संघ, प्रदेश र स्थानीय तह । यसका लागि संघीय सरकारले अध्ययन गरेर त्यसका लागि आवश्यक बजेट छुट्याउनु पर्छ ।

खेलकुदलाई प्राथमिकतामा राख्नुपर्छ । स्वास्थ्यमा मात्रै लगानी गरेर हुँदैन । जनतालाई स्वस्थ राख्न सरकारले खेलकुद संरचना बनाउने मात्रै होइन त्यसको मनिटर पनि गर्नुपर्छ । बजेट छुट्याएर मात्रै हुँदैन ।

धेरै देशहरुले खेलकुदमा लगानी गरेर अर्थतन्त्रलाई माथि उकासेका छन् । आममानिस स्वस्थ भए भने राजनीतिज्ञलाई पनि राम्रो हुन्छ । शिक्षक राम्रो हुन्छ । बालबालिका स्वस्थ हुन्छन् । खेल गतिविधि स्वास्थ्य सबैका लागि अपरिहार्य भनेर वैज्ञानिकहरुले पनि भनेका छन् ।

यी सबै काम गर्न चुनौति नभएका होइनन् । तर, त्यसको सामना कसरी गर्ने ? मेकानिज्म कसरी राम्रो बनाउने ? जस्ता कुरामा ध्यान दिनसक्यो भने यी काम पुरा गर्न सम्भव छ । एकै वर्ष सबै बजेट खेलकुदमा लगाउनु पर्छ भनेको पनि होइन । तर, जसरी अहिले बजेट वार्षिक रुपमा घट्दै गएको छ त्यो हुनु भएन । वार्षिक रुपमा बजेट खेलकुदमा बढाउँदै जानुपर्छ ।

खेलकुदले कमजोर र बलियो दुवैलाई सम्मान गर्न सिकाउँछ । हामीले खेल संस्कार बनाउन सक्यौं भने समाजमा हुने हिंसा पनि कम हुँदै जानेछन् ।
नेपालमा खेलकुदमा नीजि क्षेत्रको लगानी बढाउनुपर्छ भन्ने त छ तर, त्यसलाई कार्यन्वयन गर्ने नीति बनाउन जरुरी छ ।

अर्को कुरा अहिले खेलकुद कोरोना भाइरसका कारण संसारभर ठप्प छ । तर, विस्तारै अन्य मुलुकहरुले खेलाडीलाई अभ्यासमा फर्काउँदै खेलकुद गतिविधि सुरु गर्ने तयारी गरिरहेका छन् । हामीले पनि अब खेलाडी मैदान फर्काउने तयारी गर्नुपर्छ । उनीहरुले अभ्यास गर्ने स्थान, बस्ने होटल र मान्छेलाई सेनिटाइज गरेर अभ्यास सुरु गरेका छन् ।

सबै नभएपनि अब राष्ट्रिय टोलीलाई प्रशिक्षणमा बोलाउनु पर्छ । ओलम्पिकको तयारीमा रहेका खेलाडीलाई मात्रै भएपनि प्रशिक्षणमा राख्नुपर्छ । उनीहरुलाई कसरी राख्ने ? कहाँ राख्ने ? योजना बनाउनुपर्छ । कोरोनासँग डराएर हुँदैन । अब कोरोना सँगै अभ्यास अगाडि बढाउनु पर्छ । जस्तै, तेक्वान्दो, कराते, सुटिङ लगायतका खेलहरुको अभ्यास सुरु गर्नुपर्छ ।

यसका लागि मन्त्रालय र राखेपले गृहकार्य गर्नुपर्छ । आफुसँग भएका स्रोत साधनलाई सदुपयोग गर्नुपर्छ । अभ्यास गर्ने भनेरमात्र हुँदैन त्यसको सम्पूर्ण तयारी र व्यवस्थापन गर्न जरुरी छ ।

राखेपले गर्नु पर्छमात्रै भन्छ, मन्त्रालयलाई कसरी के गरेर फर्किने भन्ने थाहै छैन । हामी अहिले पनि तयार छौं । तर, संयन्त्र तयार हुनुपर्यो । त्यो बनेको छैन ।

आगामि दिनमा सामाजिक दुरी कायम गरेर नै मैदान फर्किनु पर्छ। खेलकुद र स्वास्थ्य क्षेत्रका विज्ञसँगको छलफल गरेर कसरी मैदान फर्किने भन्ने योजना बनाउँनुपर्छ । अब ढिला हुनु हुँदैन ।

कम्तीमा पनि यतिबेला ओलम्पिक छनोट खेल्ने खेलका खेलाडीलाई व्यवस्थित तरिकाले अभ्यास सुरु गर्नुपर्छ । यसको लागि धेरै खर्च पनि लाग्दैन । तर, जागरुकता चाहिएको छ । हामी सक्दैनौं भनेर कोरोनासँग डराएर मात्रै हुँदैन । स्वास्थ्यको विज्ञहरुसँग छलफल गरी प्रोटोकल बनाउनुपर्छ । अभ्यास सुरु गर्दा एक दुई जना डाक्टरहरु ‘स्टेन्ड वाई’ राख्नुपर्छ । कोरोना निमिट्यान्न भएर हट्ने देखिँदैन त्यसैले हामीले हाम्रा दैनिकी पनि विस्तारै सहज बनाउँदै लैजानुपर्छ ।

सन्तोषराज पाण्डे

 

 

You can share this post!

Total Share : 258 Total Views : 1.8 K

प्रतिक्रिया