news-details

लकडाउनमा बालबालिकाको अत्यासलाग्दो आत्महत्या : केही गम्भीर प्रश्न

Total Share : 215 Total Views : 1.5 K

लकडाउनमा बालबालिकाको अत्यासलाग्दो आत्महत्या : केही गम्भीर प्रश्न

डा.विजय ज्ञवाली
79857331_10220363260182435_1782075247864840192_n-768x447

 

कोभिड-१९ को विश्वव्यापी प्रभाव अहिले पनि कायम छ। यसले मानव जीवनलाई प्रत्यक्ष र परोक्ष रुपमा दीर्घकालसम्मै असर पुर्‍याउने छाँट देखिन्छ । यो वैश्विक संकटबाट नेपाल पनि अछुतो छैन ।

यसले आर्थिक/सामाजिक क्षेत्रलाई जसरी छियाछिया बनाइरहेको छ त्यसैगरी मनोवैज्ञानिक समस्या पनि बढाइदिएको छ । कोभिड-१९ को संकट र त्रासदीले कुन तह र तप्कालाई बढी असर गरेको छ ? कुन वर्ग र उमेर समूहले यसको बढी मार खेपिरहेका छन् ? यस सम्बन्धमा अध्ययन-अनुसन्धान गर्न बाँकी नै छ ।

 


तर यसबीचमा आएको एउटा तथ्यांक भने अत्याउने खालको छ । लकडाउन सुरु भएको गत चैत्र ११ गतेदेखि यही जेठ १७ गतेसम्म लगभग दुई महिनको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये ५७१ जना पुरुष छन् भने ३९६ जना महिला । बाँकी संख्या भने बालबालिकाको हो । अर्थात् दुई महिने लकडाउनमा १३८ बालबालिकाले आफैँलाई सिध्याएका छन्।

लकडाउनको समयमा किन यत्तिका धेरै बालबालिका आत्महत्याको मोडमा पुगे ? यो निकै गम्भीर र सोच्नुपर्ने प्रश्न हो ।

प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा दुई सय ५० जना बालबालिकाले आत्महत्या गरेका छन् । त्यसअघिको आर्थिक वर्षमा १५० जना बालबच्चाले आत्महत्या गरेका थिए । यी अनुपातलाई केलाउने हो भने अहिले बालबच्चाको आत्महत्या दर उच्च देखिन्छ । लकडाउनकै अवधिमा यत्तिका धेरै बालबालिकाले आत्महत्या गर्नुको पछाडि कुनै जटिल कारण पक्कै लुकेको छ ।

त्यसो त नेपाल आफैँमा यस्तो मुलुकमा पर्छ, जहाँ धेरैले आत्महत्या गर्छन् । नेपाल प्रहरीको तथ्यांकलाई हेर्दा औसत दिनमा १५ जनाले आत्महत्या गर्छन् । यो अंक बढेर लकडाउनको समयमा औसत १८ जना पुगेको छ । यस संख्याभित्र बालबालिकाको संख्या पनि अधिक छ । बालबालिकाको यो अत्यासलाग्दो आत्महत्या दरले केही गम्भीर प्रश्नहरू खडा गरिदिएको छ ।

डा.विजय ज्ञवाली
आमाबुबासँग बस्न पाएका थिए

लकडाउनका कारण सर्वत्र अनेकन संकट देखिए पनि बालबच्चालाई एक हिसाबले राम्रो भएको थियो । उनीहरू आफ्नो बुबाआमाको सामिप्यमा रहेका थिए । अन्य दिनमा बुबाआमासँग टाढिँदै गएका उनीहरूको दैनिकी लकडाउनकै कारण फेरिएको थियो । बालबालिकाहरूले आफ्ना आमाबुबासँग पर्याप्त समय बिताउने अनुकूलता पाएका थिए ।

अन्य दिनमा उनीहरूलाई विद्यालय जाने हतारो हुन्थ्यो, आमाबुबालाई कामधन्दाको चटारो हुन्थ्यो । यसबीचमा उनीहरूले पर्याप्त मात्रामा आपसी समय बिताउने अनुकूलता पाएकै थिएनन् । तर लकडाउनले आमाबुबा र छोराछोरीलाई अरू एकाकार हुने मौका दियो ।

यसरी आमाबुबासँग बस्न पाउँदा बालबच्चा रमाएको हुनुपर्छ । आमाबुबासँग आफ्नो भावना साझेदार गरेको हुनुपर्छ । उनीहरू आफूलाई मनोसामाजिक रुपमा सुरक्षित महसुस गरेको हुनुपर्छ। सामान्य हिसाबले सोच्दा यस्तै लाग्छ । तर नतिजा अर्कै देखियो।

आमाबुबासँग भलाकुसारी गर्दै, खेल्दै रमाउँदै बस्नुपर्ने बालबच्चाले यही अवधिमा किन आत्महत्या गरे होलान् ? के हाम्रो परिवार बालबच्चाको मनोसामाजिक विकासका लागि अयोग्य छन् ?

कारण के होला ?

उनीहरूले किन आत्महत्या गरे ? यसको स्पष्ट र ठोस कारण त कतै फेला परेको छैन । तर हाम्रो सामाजिक मनोविज्ञान, पारिवारिक संरचना र प्रवृत्ति, बालबालिकाको अवस्था हेरेर केही कारण पहिल्याउन सकिन्छ।

क. मानवीय भावनाको अनुभूति सबैले गर्छन् । चाहे बालबच्चा हुन् वा वयस्क, सबैमा संवेदनशीलता हुन्छ । अनुभूति गर्ने, स्पर्श गर्ने, ग्रहण गर्ने शैली, अभिव्यक्ति गर्ने जस्ता विषयवस्तु बालबालिकाको हकमा पनि महत्वपूर्ण हुन्छ। जन्मजात आउने यी गुणहरू उमेरसँगै परिपक्क र विकसित हुन्छन् । उनीहरुले प्रकट गर्ने खुसी, निराशाको पनि आफ्नो शैली र भाषा हुन्छ । परिवारभित्रको वतावरणले बालबालिकाको मनोसामाजिक विकासमा ठूलो भूमिका खेल्छ । परिवारभित्र नै परिवारको सदस्यबीचको सम्बन्ध, भाषा, व्यवहार, जस्तो कुराको प्रभाव बालबालिकामा पर्छ । परिवारभित्रको द्वन्द्वमा सबैभन्दा प्रभाव बालबालिकामा पर्छ। घरेलु हिंसा, लैङ्गिक हिंसा, जाँड–रक्सीले निम्त्याउने समस्याको प्रभाव घरमै बसेका बालबालिकामा परेको हुन्छ । कोभिड–१९ को कारण परिवारमा परेको आर्थिक संकटको प्रभावले उनीहरूलाई पनि पिरोलेको हुन्छ । यही कारणले उनीहरूलाई निराश र दुःखी बनाएको हुन सक्छ ।

अहिलेको प्रतिकूल अवस्था, संकट, अभाव आदिबारे घर परिवारभित्र चर्चा परिचर्चा भइरहँदा त्यसको असर उनीहरूमा परेको हुन सक्छ । यसरी उनीहरूको निराशा र दुःखको उचित व्यवस्थापन हुन नसक्दा भावनात्मक रुपले विचलित हुन पुगेको हुन सक्ने एउटा कारण देखिन्छ ।

ख. लकडाउनको समयमा बालबालिका घरभित्रै बस्नुपर्ने भयो । उनीहरू विद्यालय, बजार, साथीभाइकहाँ जान पाएनन् । यसले उनीहरूमा एक्लोपन महसुस भएको हुनुपर्छ । एक्लोपनले निराशा पैदा गर्छ । उनीहरू मनोसामाजिक रुपमा कमजोर हुन पुग्छन् । साथीभाइसँग बोलचाल गर्न नपाउने, खेल्न नपाउने, बाहिर घुमफिर गर्न नपाउने प्रतिकूलताले उनीहरूमा तनाव उत्पन्न भएको हुन सक्छ । यही तनावको उचित व्यवस्थापन गर्न नसक्दा गलत निर्णय गर्ने सम्भावना रहन्छ ।

ग. बालबालिकाहरू लामो समय घरभित्रै बस्दा उनीहरूले अधिकांश समय स्क्रिनमा बिताए । मोबाइल, टेलिभिजन, ल्यापटपमा उनीहरू लिप्त भए । सामाजिक सञ्जाल, युट्युबलगायतमा आउने नकारात्मक, हिंसात्मक सामग्रीहरू हेरे । खासगरी कोरोनाकै विषयमा आउने नकारात्मक र भ्रामक सामाग्रीहरूले उनीहरूमा अन्यौल पैदा गर्‍यो । यस्तै, नकारात्मक र भ्रमपूर्ण सामग्रीहरूकै कारण उनीहरू चिन्तित र भयभित भएका हुन सक्छन् ।

घ. इन्टरनेटको लतले गर्दा बालबालिकाको धैर्यता हराउँदै गएको छ । उनीहरुलाई हरेक कुरा तुरुन्तै हुनुपर्छ भन्ने लाग्न थालेको छ । आफुले चाहेको, खोजेको, मागेको कुरा तत्काल पाउनुपर्छ भन्ने लाग्छ । यसरी बढेको उनीहरूको अपेक्षा र पारिवारिक यर्थाथबीच तालमेल नमिल्दा पनि बालबच्चाले आवेगमा आएर गलत निर्णय लिएको हुन सक्छ ।

के हुन सक्छ हाम्रो दायित्व ?

आत्महत्या आफैँमा दुखद् हुन्छ। त्यसमाथि बालबालिकाले आफ्नो जीवनको अन्त्य आफैँले गर्नु गम्भीर विषय हो। समस्याले डढेलोको रुप लिँदा पनि यसमा कसैको ध्यान नजानु र यो विषयमाथि पर्याप्त बहस नुहुन अर्को दु:खलाग्दो पक्ष हो । यसले परिवार र समाज नै गैरजिम्मेवार बन्दै गएको संकेत देखाउँछ । यसमा राज्य वा सम्बन्धित पक्षले आँखा चिम्लेर बस्नु आफैँमा उदेगलाग्दो छ ।

बालबालिकाको आत्महत्या आफैँमा एउटा भयानक संवेदनशील विषय हो । यसले भोलिका दिनमा निम्त्याउने संकट अरू डरलाग्दो छ । यति हुँदाहुँदै पनि यस विषयमा खास सरोकार राखेको पाइँदैन ।

कतिपय मुलुकमा बालिबालिकाको मनोसामाजिक समस्या सुन्नकै लागि राज्यको तर्फबाट उचित व्यवस्था गरिएको हुन्छ। उनीहरूको जटिलता, समस्या सुन्नका लागि हटलाइनको व्यवस्था गरिएको हुन्छ । तर हामीकहाँ त्यस्तो व्यवस्था छैन । लामो समयसम्म घरभित्र बसिरहेका बालबच्चाहरुको मनस्थिति कस्तो छ ? उनीहरूको दैनिकी कसरी गुज्रिरहेको छ ? उनीहरू भय, त्रासमा पो छन् कि ? यस सम्बन्धमा चासो राखिएन ।

बालबलिकाको आत्महत्या बढ्नुले हाम्रो मनो–सामाजिक शिक्षामाथि चुनौती थपिएको छ ।

आमाबुवा बालबच्चासँग घरभित्रै थिए । तर, उनीहरूले बालबच्चालाई रचनात्मक समय नदिएको हो कि ? उनीहरूको बोली–व्यवहार बालबच्चालाई सताउने किसिमको पो थियो कि ? यसमा अभिभावकले सोच्नुपर्छ ।

बालबच्चा कस्तो मनोदसाबाट गुज्रिँदैछन् ? उनीहरूको मनस्थिति कस्तो छ ? उनीहरूको मनमा कस्तो भुमरी चल्दैछ ? आफूसँगै बसिरहेका बालबच्चाको भावना बुझ्न नसक्नु अभिभावकको ठूलो गल्ती हो ।

बालबालिकाले खाने खाना, लगाउने लुगा, स्कुल आदि कुराले मात्र बाल मनोविज्ञानको प्रतिनिधित्व गर्दैन । उनीहरु कस्तो खेल्छन्, कति समय सुत्छन्, तपाईंको व्यवहार कस्तो छ, कस्तो समाजमा हुर्किरहेका छन् जस्ता यावत कुरा बालमनोविज्ञानका आधारहरु हुन् ।

उनीहरूले जीवनयापनका विभिन्न सिप आमाबुवाबाट सिकिरहेका हुन्छन् । जीवनोपयोगी सीहरुले उनीहरूलाई मनोसामाजिक रुपमा परिपक्क बनाउँछ । जीवनका अनुकूलता वा प्रतिकूलतामा कसरी अगाडि बढ्ने भन्ने अभ्यास गराउँछ । यी सबैकुरा उनीहरूले आमाबुबाबाटै सिक्ने हो । त्यसर्थ बालबच्चाको मार्गदर्शन वा परिवर्तनका लागि आमाबुबाको बोली–व्यवहारले खास अर्थ लाग्छ ।

बालबालिकालाई सही मार्गदर्शन गराउनका लागि आमाबुबाले आफूलाई सही रुपमा प्रस्तुत गर्न सक्नुपर्छ ।

बालबालिकालाई जीवनोपयोगी कुराहरू सिकाउने, अभाव वा समस्यासँग जुध्न सिकाउने, आशावादी र उत्साहित बनाउने कुरामा आमाबुबाले खास भूमिका खेल्नुपर्छ । यसले उनीहरूभित्र मानसिक लचकता बढ्छ । जस्तोसुकै प्रतिकूलतामा पनि आफूलाई सम्हाल्न वा त्यससँग जुध्न सक्ने क्षमताको विकास हुन्छ । यस्तो क्षमता भएपछि उनीहरू सानोतिनो कुराबाट विचलित हुने भय रहँदैन । आफ्ना अप्ठ्यारा, समस्याहरूलाई मनन गर्ने र त्यसको सामना गर्न सक्छन् ।

त्यसैले बालबालिकासँग क्वालिटी समय बिताऔं । उनीहरूलाई घर व्यवहारको काम सिकाऔं । उनीहरूसँग बातचित गरौं । दुःख र समस्याहरू पनि अवगत गराऔं । भोक, कष्ट, अभाव पनि खेप्न सिकाऔं । आवश्यक परेको अवस्थामा मनोसामाजिक परामर्श दिलाऔं । उनीहरूको भौतिक आवश्यकता मात्र पूरा गरिदिने होइन, मानसिक आवश्यक्ताहरू पनि सम्बोधन गरौं ।

लेखक क्लिनिक मनोविज्ञ हुन्

 

You can share this post!

Total Share : 215 Total Views : 1.5 K

प्रतिक्रिया