news-details

भारतबाट आउनेहरुको सीमानाकामै कोरोना परीक्षण गर्न अनुरोध

Total Share : 43 Total Views : 303

सुर्खेत- कर्णाली प्रदेश सरकारले भारतबाट आउने नेपालीको सीमानाकामै परीक्षण गरी नेपाल प्रवेश गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले भारतबाट आउनेलाई सीमानाकामै परीक्षण गरी सङ्क्रमण नदेखिएका व्यक्तिलाई मात्र आफ्नो प्रदेश र जिल्ला पठाउने व्यवस्थाका लागि केन्द्रीय विपद् व्यवस्थापन केन्द्र तथा नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

भारतबाट आउने व्यक्ति विनापरीक्षण प्रदेशमा प्रवेश गरेको अवस्थामा प्रदेशको प्रवेश विन्दुमै आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, आवश्यक मनोसामाजिक परामर्श प्रदान गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राखेपछि तोकिएको समयपश्चात् पिसिआर टेष्टिङको प्रबन्ध सामाजिक विकास मन्त्रालयले मिलाउने बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

प्रदेशभित्र प्रवेश गर्ने भारत तथा स्वदेशकै जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिको सम्पूर्ण विवरण अद्यावधिक गरी तिनीहरुको उद्धार तथा यातायात व्यवस्थासहित सम्बन्धित जिल्लाको क्वारेन्टिनमा पु¥याउने तथा अत्यावश्यक अवस्थामा नेपाल–भारत सीमाबाट उद्धारको व्यवस्था मिलाउने कार्य आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने निर्णय भएको उनले बताए ।

प्रवक्ता केसीका अनुसार जिल्ला र स्थानीय तहमा स्थापित क्वारेन्टिनको अनुगमन गरी आवश्यक सुधार र सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा निकायसँग समन्वय गर्ने गरी जुम्ला र कालिकोटमा कर्णाली प्रदेश प्रहरी प्रमुख, दैलेख र सुर्खेतमा उत्तर पश्चिम पृतनापति र सल्यान, रुकुमपश्चिम र जाजरकोटमा सशस्त्र प्रहरी बल नेपाल, महेश्वरी बाहिनी मुख्यालयका प्रमुखलाई जिम्मेवारी बाँडफाँटको निर्णय गरिएको छ ।

बैठकले क्वारेन्टिनलाई सुरक्षा र अन्य दृष्टिकोणलेसमेत पायक र सुगम स्थानमा राख्नुपर्ने ठहर गर्दै यातायात साधनको पहुँच हुने उपयुक्त स्थानमा स्थानीय तहको एकल वा दुई वा सोभन्दा बढीको एकीकृत क्वारेन्टिन स्थापनाका लागि जिल्ला र स्थानीय तहलाई आग्रह गर्ने, विकास निर्माणका कामलाई निरन्तरता दिने निर्णय गरेको छ ।

त्यस्तै प्रदेश सरकारको नीतिअनुरुप आयोजना विशेषका लागि आवश्यकपर्ने निर्माण सामग्री र सीपयुक्त जनशक्ति (प्राविधिक जनशक्ति) जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्थामा आयोजना सञ्चालकले आयोजना सञ्चालन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि जुन जिल्लाबाट त्यस्तो जनशक्ति र निर्माण सामग्री ल्याउनुपर्ने हो, सोही जिल्लासँग आवश्यक समन्वय गरी जनशक्ति र निर्माण सामग्री सहज आगमनको व्यवस्था मिलाउने निर्णय भएको छ ।

You can share this post!

Total Share : 43 Total Views : 303

प्रतिक्रिया