news-details

महाशिवरात्रिको लागि सम्पूर्ण तयारी पूरा

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । पशुपति मन्दिर परिसरमा कोषले पत्रकार सम्मेलन गरेर महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । शिवरात्रीमा पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउन ५ हजार जना स्वयंसेवक खटाइने कोषले जनाएको छ ।

यस्तै, कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा भाङ खान नपाइने व्यवस्था गरिएको दावी गरेको छ पर्वका अवसरमा पशुपति मन्दिर दर्शन गर्न चारवटा लाइनको व्यवस्था गरिएको छ । दर्शनका लागि पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ । त्यस्तै बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने छ ।

तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एउटा लाइन बनाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दर्शन गर्न जानेहरु जुन मार्गबाट प्रवेश गर्छन् त्यही मार्गबाट फर्किनुपर्नेछ । बिगतका वर्ष झै यस वर्ष पनि विभिन्न देशबाट साधुसन्त आउने क्रम जारी छ । एक हजारको हारहारीमा साधुसन्त आइसकेको र शिवरात्रीको अघिल्लो दिन सम्ममा साधुसन्तको संख्या ५ हजार पुग्ने अनुमान गरिएको छ ।

You can share this post!


प्रतिक्रिया