news-details

कारागारमा विद्यालय सञ्चालन

Total Share : 0 Total Views : 0

दाङ- दाङ जिल्लामा दुई वटा कारागार छन्– एउटा तुलसीपुर र अर्को घोराहीमा । घोराहीमा रहेको कारागारमा कैदीबन्दीलाई सीप सिक्ने मात्र होइन, अब कक्षामा भर्ना हुने र नयाँ प्रमाणपत्र पाउने गरी औपचारिक कक्षासमेत शुरु गरेको छ ।

घोराहीमा रहेको कारागारभित्र कैदीबन्दी पढिरहेका भेटिन्छन् । भित्तामा वर्णमाला लेखिएका अक्षर कुँदिएका छन् । शिक्षकले त्यहाँ पढाइरहेका हुन्छन् भने विद्यार्थीले पलेटी मारेर सुनिरहेका हुन्छन् । त्यहाँको वातावरण हेर्दा त्यो कारागार कम कक्षाकोठाजस्तो ज्यादा लाग्दछ ।

कारागारमा रहेका कैदीबन्दीलाई शिक्षा दिनका लागि कारागारभित्रै विद्यालय स्थापना गरिएको छ । कारागारभित्रको विद्यालयको नामसमेत राखिएको छ ‘ज्ञानज्योति माध्यमिक विद्यालय’ विभिन्न अपराध गरेर कारागारमा गएका कैदीबन्दीलाई शिक्षित बनाउने उद्देश्यले अङ्ग्रेजी र नेपाली भाषाको कक्षा सञ्चालन गरिएको छ ।

कारागारभित्र टिनले बारेको सानो कोठाको भित्तामा नेपाली वर्णमाला टाँगिएको छ । भित्ता पूरै अक्षरले भरिएका छन् । यो सजावट नभएर कारागारका कैदीबन्दीलाई शिक्षा दिनको लागि कक्षाकोठा निर्माण गरिएको हो । कारागारमा रहेका केही पढ्न चाहने युवाले केही लेख्दै गरेका हुन्छन् भने एक जना शिक्षक युवकले पढाउँदै गरेको पनि देखिन्छन् ।

पढ्दै र पढाउँदै गरेका सबै सजाय काट्न आएका कैदीबन्दी हुन् । कोही लामो सजाय भोग्दै छन् भने कोही भर्खरै सजाय भोग्न आएका बन्दी छन् । विभिन्न समस्याले पढ्न नपाएका र विभिन्न मुद्दामा सजाय काट्न आएका कैदी केही नयाँ कुरा सिक्न पाएकोमा खुशी देखिन्छन् ।

‘गल्ती गरेर जेलमा आइयो त्यसै बस्नुभन्दा केही नयाँ कुरा पढ्न पाउँदा निकै खुशी लागेको छ’ कैदी रेशमबहादुर बुढाथोकीले भने ।

उमेर ढल्किसकेका यादव बुढौली उमेरमा भए पनि कारागारमा पढ्न पाउँदा पहिले ल्याप्चे लगाउने मानिस अहिले आफ्नो नाम आफैँ लेखेर हस्ताक्षर गर्न सिकेको बताए ।

कारागारभित्र यस्तै अनौपचारिक शिक्षा दिन विद्यालय नै स्थापना गरिएको छ भने कारागारमा रहेका कैदीबन्दीमध्येबाट प्रमाण पत्र तह उत्तीर्ण गरेको र योग्य व्यक्ति छनोट गरी शिक्षकसमेत नियुक्ति गरेको कारागारका प्रमुख जेलर विष्णुप्रसाद पाण्डेले बताए ।

आफूले गरेको गल्तीको सजाय भोग्न कारागारमा बन्दी जीवन बिताइरहँदा पाएको अवसरलाई पश्चातापको रुपमा लिँदै ज्ञान बाँड्न पाउँदा निकै खुशी भएको कैदी एवं कारागारका शिक्षक प्रकाश परियारको भनाइ छ ।

कारागारभित्र अक्षर नचिन्नेका लागि अनौपचारिक शिक्षा र शिक्षितलाई अग्रेजी भाषाको शिक्षासमेत सञ्चालन गरिएको अङ्ग्रेजी शिक्षक एवं कैदी मानबहादुर नेपालीले बताए ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया