news-details

पहिलोपटक दुर्गमको अग्र्यानिक स्याउ काठमाडौं र धनगढी लगियाे

बोटमै स्याउ फलेर कुहिने अवस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएपछि पहिलोपटक दुर्गम ठाउँमा फलेको अग्र्यानिक स्याउ जिल्ला बाहिर काठमाडौँ र धनगढी लगिएको छ । किसानका स्याउ बारीमै कुहिने अवस्थामा भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ६०० क्विन्टल ढुवानी अनुदानमार्फत बजारसम्म पुर्याउन शुरु गरेको हो । सहकारी संस्थामार्फत बारीबाट बजारसम्म स्याउ ढुवानी हुन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
ढुवानी अनुदान पाएको सहकारी संस्थाले नै खरीददेखि बिक्री गर्ने भएको छ । पाण्डुसैन पुग्न सदरमुकाम मार्तडीबाट करीब ३१ किलोमिटर दूरीमा रहेको छ भने स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउ उत्पादन हुने ठाउँ पुग्न करीब दुई दिन लाग्ने गर्दछ । बारीमा स्याउ टन्न फलेको छ, बजार टाढा छ । बारीमा कुहिने अवस्था थियो, तर थोरै भए पनि सरकारले यस वर्ष ढुवानी अनुदान दिएपछि पहिलोपटक बाजुराको स्याउ जिल्ला बाहिर जाँदा निकै खुशी भएको स्थानीयवासी बताउँछन् ।
स्याउको मुख्य भण्डारका रुपमा चिनिँदै आएको जिल्लाका पाण्डुसैन, कोल्टी, जुकोट, जगग्ननाथ, कोटिलालगायतका ठाउँमा स्याउ राम्रोसँग फलेको छ । जसरी स्याउ फले पनि त्यसरी बजार भने पाउन नसकेको किसानले दुःखेसो पोखेका छन् । स्याउकै हाँगा भाँच्चिने गरी फल लागेको भए पनि बिक्री नहुँदा स्याउ किसान भैँसीलाई कुँडो खुवाउन बाध्य हुने गरेको जुकोटका उत्तम शाहीको भनाइ छ । यस वर्ष भने थोरै भए पनि आफ्नै बारीबाट स्याउ ढुवानी भएपछि किसानलाई राहत भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।
बाजुरामा हाल २३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क छ । जिल्लामा स्याउ एक हजार ५० मेट्रिक टन उत्पादन हुने कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताउनुभयो । यो वर्ष जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । यो क्षेत्रमा खाद्यान्न सङ्कट हुने गरेको छ । वर्षभरि काम गरेर खेतको उत्पादनले तीन महीना पनि खान पुग्दैन, बाँकी समय बाहिरको खाद्यान्नमाथि निर्भर बन्नुपर्ने बाध्यता रहेको छ । गाउँसम्म सडकको पहुँच नभएकाले बाजुराका स्याले बजार पाउन सकेका छैनन् ।

You can share this post!


प्रतिक्रिया