news-details

चिनियाँ लगानीमा वीरगंजमा विद्युतीय सवारीको एसेम्बल प्लान्ट, जुलुन ब्रान्डमा स्कुटर र बाइक

Total Share : 86 Total Views : 606

वीरगंज। वीरगंज–पथलैया औद्योगिक कोरिडोरको परवानीपुरमा चिनियाँ लगानीको विद्युतीय सवारी एसेम्बल प्लान्ट सुरु भएको छ। प्लान्टमा अहिले स्कुटर, बाइक र इ(रिक्सा एसेम्बल भइरहेको छ।

जितपुर सिमरा उपमहानगरपालिका २३, कृषि अनुसन्धान केन्द्र परवानीपुरको छेउमा यो उद्योगको प्लान्ट सुरु भएको हो। चिनियाँ लगानीकै उद्योग हिमालयन फुड इन्टरनेशनल प्रालिको परिसरमा करिब एक विघा जग्गा भाडामा लिएर चिनियाँ जुलुन ब्रान्डको सवारीसाधन एसेम्बल गर्ने ‘जिआन्ट कार इण्डष्ट्रिज प्रालि’को प्लान्ट सञ्चालनमा अएको उद्योगका लेखापाल गोविन्द कार्कीले बताए।गत वैशाखदेखि उद्योगको भौतिक पूर्वाधार विकास गरी जेठदेखि उद्योगले सवारी साधन एसेम्बल गर्ने काम सुरु गरेको हो।

सरकारले इलेक्ट्रोनिक्स गाडीहरूको आयात र एसेम्बलमा सकारात्मक कदम चालेकोले विदेशी लगानीकर्ता नेपालमा इलेक्ट्रोनिक्स गाडीको कारोबारमा चासो देखाएका हुन्। त्यसैको फलस्वरूप चिनियाँ कम्पनीले नेपालमा श्रीलंका, बंगलादेशपछि प्लान्ट विस्तार गरेको हो।

हाल उद्योगमा जुलुन ब्रान्डको एक लाख २५ हजार पर्ने स्कुटर तथा अढाई लाख पर्ने मोटरसाइकल एसेम्बल गरिरहेको छ भने ३ लाखदेखि साढे ४ लाख पर्ने विद्युतीय रिक्सा पनि एसेम्बल भइरहेका छन्। मान्छे बोक्ने र समान बोक्ने दुई प्रकारका इ(रिक्सामा एसेम्बल भइरहेको कम्पनीले जनाएको छ।

 

४ करोड ९० लाख रुपैयाँको पुँजीमा सुरु गरिएको प्लान्टले चाँडै चार पांग्रे सवारीसाधन पनि एसेम्बल गर्नेगरी यातायात व्यवस्था विभागबाट स्वीकृति लिने प्रक्रिया थालेको कम्पनीका लेखापाल कार्कीको भनाई छ। नेपालमा अन्य एसेम्बल कम्पनी सञ्चालन भइरहँदा स्कूटर, बाइकसँगै, तीन पांग्रे र चार पांग्रे सवारीसाधनको अनुमति लिन लागेको नेपालकै पहिलो कम्पनी भएको सञ्चालकको दाबी छ।

 स्कूटर, बाइकलाई चार घण्टा चार्ज गरेपछि ८० किलोमिटर गुडछ भने इ(रिक्सा एकपटक चार्ज गरेपछि १ सय २० किलोमिटर गुडने कम्पनीले जनाएको छ। कम्पनीले वीरगंज, हेटौँडा, भरतपुर, भैरहवा, नेपालगञ्ज, इटहरी, काठमाडौँलगायतमा शोरुम पनि सञ्चालनमा ल्याइसकेको छ। निकट भविष्यमा निकै आक्रामक हिसाबले कारोबार बढाउने चिनियाँ लगानीको उद्योगको रणनीति छ।

स्कुटर र इ(रिक्साको बिक्री उत्साहजनक रहेको कम्पनीको दाबी छ। चीनबाट एसेम्बल गर्ने पार्टपुर्जा भारत हुँदै वीरगंजको परवानीपुरमा ल्याइन्छ। उद्योगले ३० जना मजदुरलाई प्रशिक्षण दिई रोजगारी दिएको छ।

source: bizmandu.com

You can share this post!

Total Share : 86 Total Views : 606

प्रतिक्रिया