news-details

जिग्री र पाँडे बिनाको ‘भद्रगोल’ को नयाँ भाग रुचाएनन् दर्शकले

‘भद्रगोल’ बाट निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ सहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल ६ हप्तापछि पुन: प्रशारणमा आयो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन) ले लिएका छन् । तर, ‘जिग्री’ र ‘पाँडे’ लगायतका कलाकार बिनाको गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।
गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् । यसअघि भद्रगोलका अधिकांश एपीसोडहरु ट्रेन्डिङमा पहिलो नम्बरमा आउने गरेका थिए । तर, पुरानो टिम तितरवितर भएपछि मिडिया हबलाई यसको लोकप्रियता कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।
यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ । यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यूट्यूवमा सो एपीसोडमा १६ हजार लाइक र १९ हजार डिसलाइक देखिएका छन् । यति मात्र होइन, यसमा आएका ११ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने र बहिष्कार गर्नुपर्ने घोषणा पनि गरेका छन् ।

You can share this post!


प्रतिक्रिया