news-details

धान रोपाइँ पोहोरजत्ति नै

Total Share : 430 Total Views : 3 K

काठमाडौँ - सरकारले मुलुकभर धान रोपाइँ पोहोरकै हाराहारीमा रहेको विवरण सर्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार २०७६ भदौ १ गतेसम्म ९४.४३ प्रतिशत रोपाइँ भएको छ ।
यो २०७५ भदौ १ गतेको तुलनामा करिब १ प्रतिशत विन्दुले मात्रै कम हो । विवरणअनुसार २०७५ भदौसम्म ९५.३९ प्रतिशत रोपाइँ भएको थियो ।
‘समग्रमा धान रोपाइँ क्षेत्रफलकै हाराहारीमा भएको छ,’ कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘सिंचाइ, रोग/किरा नियन्त्रण र मलखाद सहज भए उत्पादन पनि राम्रो हुन्छ ।’ गत वर्ष ५६ लाख १० हजार धान उत्पादन भएको थियो । वर्षभरि ६१ लाख टन धान आवश्यक पर्छ । यो कुल मागको करिब ५ लाख टन अपुग रहेको मन्त्रालयलेजनाएको छ ।
‘धान उत्पादनको अवस्थाबारे अहिले नै भन्न सकिएन, रोपाइँ क्षेत्रफलअनुसारै छ,’ सुवेदीले भने, ‘धानलाई चाहिने मल सिंचाइ भए उत्पादन पनि बढ्छ ।’ मुलुकभर १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमा धान रोपाइँ हुन्छ । यसमध्ये १२ लाख ९५ हजार २ सय ८३ रोपाइँ भएको उल्लेख छ । मन्त्रालयका विवरणअनुसार उच्च पहाडमा साढे १ प्रतिशतले बढेको छ ।
विवरणअनुसार २०७५ मा ९६.४४ प्रतिशत रोपाइँ भएकामा बढेर ९७.९३ प्रतिशत पुगेको छ । मध्य पहाडमा भने रोपाइँको संख्या घटेको छ । २०७६ भदौ १ गतेसम्म ९१.९५ प्रतिशत रोपाइँ छ । २०७५ भदौसम्म मध्य पहाडमा ९४.१६ प्रतिशत रोपाइँ भएको उल्लेख छ । धान रोपाइँ हुने मुख्य क्षेत्र तराईमा १ प्रतिशत रोपाइँ घटेको छ । २०७५ भदौ १ गतेसम्म ९५.७८ प्रतिशत रोपाइँ भएको थियो । २०७६ भदौ १ गतेसम्म ९५.१३ प्रतिशत रोपाइँ भएको उल्लेख छ ।
मन्त्रालयले गत वर्षकै हाराहारीमा रोपाइँ भएको दाबी गरे पनि जानकारहरू तथ्यांक कागजमै मात्रै सीमित रहेको बताउँछन् । ‘तीन तहका सरकारको मापदण्ड स्पष्ट छ । मातहतका कर्मचारीले बढाइचढाइ तथ्यांक दिएका छन्,’ कृषिविज्ञ कृष्ण पौडेलले भने,
‘बाँझो जमिन र प्लटिङ बढिरहेको छ । रोपाइँको तथ्यांक कागजमा मात्रै हो ।’ यस वर्ष रोपाइँ पनि ढिला सुरु भएको थियो ।
रोपाइँ ढिला हुनुको मुख्य कारण मनसुन हो । नेपालको खेती प्रणाली मनसुनमै आधारित छ । पर्याप्त सिंचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुनुपर्छ । मनसुन सक्रिय नहुँदा मन्त्रालयले पनि रोपाइँ घट्ने आकलन गरेको थियो । यस वर्ष झन्डै १० दिन पछि सुरु भएको मनसुन, त्यसपश्चात विभिन्न ठाउँमा आएको बाढीपहिराले रोपाइँ प्रभावित भएको मन्त्रालयको दाबी थियो । ‘त्यसको हिसाबले रोपाइँ २०/२५ प्रतिशतले कम भएको देखिन्छ,’ उनले भने । यद्यपि मन्त्रालयले रोपाइँ गत वर्षकै हाराहारीमा पुगेको दाबी गरेको हो । मन्त्रालयले भने स्थानीय तहसँगको सहकार्यमा विवरण संकलन गर्दै आएको जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा धान रोपाइँको क्षेत्रफल करिब १ प्रतिशतले घटेको छ । भदौसम्म ९३.४९ प्रतिशत रोपाइँ भएको छ । धानको मुख्य उत्पादन हुने क्षत्रे प्रदेश २ र ३ मा रोपाइँ सामन्य भएको उल्लेख छ । विवरणअनुसार २०७५ भदौ १ सम्म ९३.१७ प्रतिशत रोपाइँ भएको प्रदेश २ मा ९३.३१ प्रतिशत रोपाइँ पुगेको छ ।
प्रदेश ३ मा करिब २ प्रतिशतले बढेर ९६.९५ प्रतिशत पुगेको छ । वर्षाका कारण यही दुई प्रदेश बढी प्रभावित भएका थिए । यस्तै गण्डकी प्रदेशमा भने ८ प्रतिशतले रोपाइँ घटेको छ । मन्त्रालयको विवरणअनुसार गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्रै रोपाइँ भएको उल्लेख छ । प्रदेश ५ मा पनि २ प्रतिशतले घटेर ९६.१६ प्रतिशत भएको छ ।
कर्णाली प्रदेशमा पनि धान रोपाइँ घटेको उल्लेख छ । कर्णालीमा ९८ प्रतिशतबाट घटेर ९६ मा झरेको छ । सुदूरपश्चिममा भने रोपाइँ शतप्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।(राजु चौधरी)

 

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया