news-details

नेपालमै छ बेलायती डिग्री’

बेलायतको उल्भरहेप्टन विश्वविद्यालयको सम्बन्धनमा नेपालका दुर्ई कलेजहरु हेराल्ड र मेरिल्यान्डले सोही विश्वविद्यालयको कोर्स पढाइरहेका छन् । उक्त कोर्सको छैटौँ तह पूरा गरेका ७० विद्यार्थीलाई विश्वविद्यालयका उपकुलपति प्रो. जियोफ लेयर आफै आएर प्रमाणपत्र प्रदान गरे । नेपाल आएको समयमा प्रो. जियोफसँग रातोपाटीका वरिष्ठ संवादाता मदन ढुङ्गानाले कुराकानी गरेका छन् । सो अन्तरवार्ताको पूर्ण पाठ ः
तपाईंको नेपाल भ्रमणको उद्देश्य के हो हेराल्ड र मेरिल्यान्ड कलेजको भ्रमणका क्रममा यो मेरो नेपालको पाँचौँ भ्रमण हो । बेलायतको उल्भरहेप्टन विश्वविद्यालय र यी कलेजबीच विगत पाँच ६ वर्षमा सहकार्य निर्माण गरिएको छ । सोही क्रममा यी कलेजका विद्यार्थीले सिक्स लेबल (छैटौँ तह) को कोर्स पूरा गरेको अवसरमा त्यसको प्रमणपत्र विरतण गर्ने उद्देश्यका साथ म यहाँ आएको हुँ । यति धेरैलाई पुरस्कार वितरण गर्न पाउँदा मलाई खुशी लागेको छ । नेपालमा तपाईंहरुले कस्तो खालको डिग्री प्रदान गरिरहनु भएको छ ?नेपालमा हामीले कम्प्युटर विज्ञान, बिजनेस म्यानेजमेन्टसम्बन्धी इन्टरनेसनल विजनेस विषयको कोर्स सञ्चालन गरिरहेका छौँ । आगामी वर्षमा हामीले साइबर सुरक्षा विषयमा पनि नयाँ कोर्स ल्याउँदैछौँ ।
तपाईंले जुन विषयको कुरा गर्नुभयो ती कोर्षको मान्यता कहाँको हुन्छ ?
यी बेलायती डिग्री हुन् । यहाँ जे पढाइ भइरहेको छ, ठ्याक्कै त्यही हामीले बेलायतमा पढाइरहेका छौँ । हामीले यहाँ पढाइरहेको विषयबारे कुरा गर्दा बीएस्सी कम्युटर साइन्सले कम्प्युटर प्रोग्रामिङ नेटवर्किङ सीपको विकास गर्छ । अर्को इन्टरनेसल बिजनेस र म्यानेजमेन्ट क्षेत्रमा केन्द्रित छ । यसले विद्यार्थीलाई व्यापारको ज्ञान र आत्मविश्वास प्रदान गरी कुनै पनि संस्थामा काम गर्न सक्ने बनाउँछ ।
यो डिग्री नेपालमा पनि मान्यता प्राप्त छ ?
हो, नेपालमा स्नातक तहकै हिसाबमा मान्यता प्राप्त छ । नेपालमा मात्र होइन, बेलायतको डिग्रीको विश्वभरी मान्यता छ ।
नेपाल भ्रमणको उद्देश्य तपाईंको विश्वविद्यालयको कोर्स पढाइरहेको कलेजबाट उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र दिन आउनुभएको भन्नुभयो । तपाईंले नेपाली विद्यार्थीको पठनपाठन चाहिँ कस्तो पाउनुभएको छ ?अहिले मैले ७० जना उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र दिएँ । हामीले उल्भरह्याम्पन विश्वविद्यायलका विद्यार्थी र यताका विद्यार्थीको पढाइको स्तर तुलना गर्यौं । एउटै कोर्स, एउटै जाँच प्रक्रियाको आधारमा मापन गर्दा हामीले नेपाली विद्यार्थीले धेरै राम्रो गरेको पाएका छौँ । नेपाली विद्यार्थीको स्तर निक्कै उच्च छ ।
तपाईंको विश्वविद्यालयका विद्यार्थीमाझमा तुलना गर्दा मात्र अब्बल हो या विश्वभरीको विद्यार्थीमाझमा नेपालीको अवस्था राम्रो छ ?
विश्वभरी नै भन्न सकिन्छ । हामी विश्वका धेरै देशमा कम्प्युटर विज्ञान पढाउँछौँ । त्यसमा नेपाली विद्यार्थीको प्रदर्शन निक्कै राम्रो छ ।
यसको कारण तिनको प्रतिभा, उत्साह केले भूमिका खेलेको पाउनुभएको छ ?
मेरो विचारमा नेपाली विद्यार्थीको पढाइको सफलताको रहस्य भनेको तिनको कडा मिहिनेत हो । उनीहरु पढाइलाई गम्भीर रूपमा लिन्छन् । यसमा विद्यार्थीले तिनको घरपरिवारबाट पाइरहेको सहयोगले पनि भूमिका खेलेको छ । बेलायतमा यस कोर्सको मूल्य कति छ ?
बेलायतमा यसको मूल्य अत्यधिक धेरै छ । बेलायतमा नेपाली विद्यार्थीले यस कोर्सका लागि वार्षिक १० हजार पाउन्ड तिर्नुपर्छ । त्यस अतिरिक्त बसाइ खर्चको छुट्टै शुल्क तिर्नुपर्छ । हुन त नेपालमा नि बाहिर जिल्लाबाट आउने विद्यार्थीले काठामाडौँमा बसेर पढ्नुपर्दा दैनिक बसाइ नबेहोनुपर्ने त होइन
तर यहाँको बसाइ बेलायतको तुलनामा निक्कै न्यून छ । त्यही अनुसारको यहाँ हामीले उठाइरहेको शुल्क पनि थोरै छ । यहाँ भर्ना भएर पढ्ने विद्यार्थीले उताको कोर्स, जाँच सबै यहीँ बसेर गर्छन् । तर विद्यार्थीले १५ दिन बेलायतको विश्वविद्यालयको अनुभव लिनुपर्छ । त्यसमा तिनको अङ्ग्रेजी भाषा र अन्य कुराहरु हेरिन्छ ।
तपाईंको विश्वविद्यालयमा नेपालबाट बेलायत पुगेर पढ्ने विद्यार्थीहरु पनि छन् ?
गएका छन् । बेलायतको बसाइ अनुभव गरेर पढ्ने विकल्प रोज्नेहरु त्यहीँ गएका छन् । मानिससँग सबै विकल्प खुल्ला होस् भन्ने हामी चाहन्छौं । तिनले आफूले चाहेको र उपयुक्त हुने जुनसुकै स्थानमा बसेर पढ्ने विकल्प लिन सक्छन् ।
नेपाली विद्यार्थी संयुक्त अधिराज्यमै गएर अध्ययन गरिरहेका छन् भने यहाँ खोल्नुको कारण के हो ?
हामी आफ्नो कोर्स नेपालका धेरैभन्दा धेरै विद्यार्थीको पहुँचमा पुगोस् भन्ने चाहन्छौँ । संयुक्त अधिराज्यको बसाइ निक्कै खर्चिलो छ भनेर अघि पनि भनेँ । त्यो खर्च हाम्रो कोर्स गर्न चाहने यहाँका धेरै विद्यार्थीले बेहोर्न कठिन हुन्छ ।
तपाईंको विश्वविद्यालयको बेलायत र नेपालमा दिइने कोर्समा बसाइ खर्चमा मात्र फरक पर्ने हो र ? कोर्सकै अन्य मूल्यमा पनि भिन्नता होला नि ?
काठमाडौंमा हामीले सञ्चालन गरिरहेको कलेजमा रहेका पूर्वाधार, सुविधा, उपकरण र कर्मचारी बेलायतको विश्वविद्यालयको भन्दा न्यून भएकाले यहाको सञ्चालन खर्च यसै कम छ । यसले यहाँ हामीले न्यून फी लिइरहेका छौं । फेरि फी निर्धारण बजार अनुकूल पनि हुनुपर्यो ।
भावी दिनमा तपाईं अहिले जारी कजेल मात्र आफ्नो कोर्स सञ्चालन गरिरहनु हुन्छ कि थप विस्तार गर्ने योजना छ ?
हामी हेराल्ड र मेरिल्यान्ड कलेजसँग मात्र काम गरिरहेका छौं । अझ सटिक रूपमा भन्ने हो भने ती दुई कजेल एउटा समूहका सदस्य हुन् र हाम्रो समूहसँग सम्बन्ध छ । सम्बन्ध निक्कै घनिष्ट छ । हेराल्ड कजेल नयाँ भवनमा सर्दैछ । हाम्रो पार्टनरको हिसाबले हामी पनि त्यहाँ सरेको मान्नुपर्यो । तर कोर्स लोकप्रिय हुँदै गएको अवस्थामा थप विस्तार हुन सक्छ ।
तपाईंको कोर्समा छात्रवृत्तिको व्यवस्था पनि छ ?
हो, हामीले छात्रवृत्तिको व्यवस्था गरेका छौँ । तर छात्रवृत्ति बेलायत आउने विद्यार्थीहरुका लागि मात्र हो । यहाँका विद्यार्थीको हकमा भने बेलायतमा १५ दिने कार्यक्रममा सहभागिता हुने कार्यक्रमका लागि अवसर प्रदान गरिएको छ ।
त्यसअन्तर्गत विद्यार्थीहरुले दुई हप्ताका लागि बेलायतमा रहेका हाम्रा क्याम्पसमा समय बिताउँछन् त्यसमा तिनको भाषा अभिवृद्धि, तालिम सुधार र अन्य शिक्षण विकासका पक्षका कार्यक्रम सञ्चालन गर्छौं । यो निक्कै ठूलो अवसर हो ।
तर भाषा त आफैमा ज्ञान होइन, यो त एकअर्कासँग सञ्चार गर्ने माध्यम हो । त्यसमा विद्यार्थीले अन्य ज्ञान पनि पाउँछन् ?भाषाबारे तपाईंको भनाइ ठीक हो । तर हाम्रो शिक्षणको माध्यम अङ्ग्रेजीमा हुने भएकाले पढाइएका कुराको राम्रो पकडका लागि त अङ्ग्रेजीको राम्रो ज्ञान हुनु अत्यावश्यक हुन्छ । तपाईंको विश्वविद्यालय कोर्स पढेपछि नेपाली विद्यार्थीले हासिल गर्ने अवसरबारे बताइदिनुस् न ।अवसर त धेरै छन् । नेपालमै बसेर अत्यन्त न्यून खर्चमा बेलायतको डिग्री हासिल गर्न सकिन्छ । यो भनेको विश्वस्तरको कोर्स नेपालमै बसी बसी पढ्ने सुविधा हो । त्यसमा पनि अत्यन्त महत्त्वपूर्ण कम्प्युटर साइन्स र इन्टरनेसनल बिजनेसका कोर्स प्रदान गरेका छौँ ।
आगामी दिन अन्य विषय पनि समावेश गर्दै लाने योजना छ । हामी यहाँका पार्टनरसँग थप के गर्न सकिन्छ भनेर निरन्तर छलफलमा छौँ । तर फेरि पनि हामी धेरै कुरा हतारमा गर्न चाहँदैनौ । हाम्रो उद्देश्य एउटा बलियो आधार निर्माण गर्ने भन्नेमा केन्द्रित हुनेछ ।
तपाईंहरुले नयाँ ल्याउन लाग्नुभएको साइबर सुरक्षा कोर्स कहिलेबाट लागू हुन्छ ?
साइबर सुरक्षा विषय हामी अर्को वर्ष अर्थात सन् २०२० को सेप्टेम्बरमा ल्याउनेछौँ ।

 

 

You can share this post!


प्रतिक्रिया