काठमाडौं - दुई दिनका लागि विदेशी च्यानलहरुको प्रशारण बन्द भएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो। महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ। विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ।
‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन्। ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा जति पनि विदेशी च्यानल छन् ती च्यालनले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख गरिएको छ। अहिले यो ऐन छलफलका लागि संंसद्मा पुगेको छ। यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन बन्द गरिएको हो’ नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले भने।
नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन्। इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ। ऐन लागू गरिएपछि इन्डियन ब्रोडकास्टरले क्लिन फिडमा अमसर्थ जनाएमा विज्ञापन प्रशारण हुने च्यानल नै बन्द गर्नुपर्ने छ। सोको समस्याबारे अवगत गराउन महासंघले २४ घण्टे विरोध गरिएको जनाएको छ। ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’लागू भए डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने पराजुली बताउँछन्। संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुनुपर्ने भन्दै महासंघले गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ।
प्रतिक्रिया