news-details

पाँचथर सामूहिक हत्या प्रकरण : दश दिन बित्दा पनि हत्यारा किटान भएन

Total Share : 430 Total Views : 3 K

काठमाडौं - पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । घटनामा एक बालिका भने भागेर ज्यान जोगाउन बाँच्न सफल भइन् । बिहान सबेरै घटनाबारे गाउँभर खबर फैलियो । पूरै गाउँ स्तब्ध थियो । दुई परिवारलाई नै सखाप पार्ने गरी कसले हत्या गर्यो भन्ने विषयमा अन्यौल थियो । अनेकन अड्कलबाजीहरु भइरहेका थिए । केही समयपछि अर्को खबर आयो – सोही गाउँपालिकाको वडा नम्बर ७ मा हत्या भएको परिवारका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा शव फेला पर्यो । शव भेटिएको स्थान नजिकै हतियार र रगत लतपतिएको कपडा पनि भेटियो ।

त्यसपछि मानबहादुरबारे स्थानीय तथा आफन्तको बयान बाहिर आउन थाल्यो । उनीहरुका अनुसार मानबहादुर र उनको पत्नी मनकुमारीबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । उनीहरुबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको थियो । मनकुमारी पतिसँग बस्न छाडेको लामो समय भइसकेको थियो । उनी माइत नै बस्दै आएकी थिइन् । जसले गर्दा मानबहादुर र मनकुमारीको परिवारबीच सम्बन्ध राम्रो थिएन । यता, घटनामा आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले पनि एक जना हतियारधारी मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् ।

मानबहादुर र हत्या भएको परिवारबीच सम्बन्ध बिग्रिएको कुरा बाहिर आउनु, हत्या भएलगत्तै उनले आत्महत्या गर्नु, आत्महत्या गरेको स्थान नजिकै रगतले लतपतिएको कपडा र हतियार भेटिनु र घटनामा बाँच्न सफल बालिकाले घटना भएको बेला एक जनालाई मात्र देखेको बयान दिनुले सामुहिक हत्यामा मानबहादुरकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान त्यतातिर सोझ्यायो ।  घटनामा मानबहादुरकै संलग्नता हुनसक्ने आधारहरु देखाएर प्रहरीले अनुसन्धान थालेको आज आज १० दिन बितिसकेको छ । हत्या भएको भोलिपल्ट मानबहादुर नै हत्या हुनसक्ने अनौपचारिक ‘किटान’ गरिए पनि हालसम्म वास्तविक हत्यारा को थिए भनेर प्रहरीले सार्वजनिक गर्न सकेको छैन । घटना भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । टोलीले अहिले विभिन्न कोणबाट घटनाकोे अनुसन्धान गरिरहेको छ ।

एक दर्जन बढी व्यक्तिसँग सोधपुछ

घटनाको अनुसन्धान गर्न पाँचथर पुगेका सीआईबीका एसपी उमा प्रसाद चर्तुदेवीका अनुसार घटना भएको २४ घण्टाअघि माखिमसँग टेलिफोन सम्पर्कमा आएकाहरुको टेलिकमबाट कल रेकर्ड झिकाएर १ दर्जनभन्दा बढी व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ । उनले भने, ‘घटना भएको दिन माखिमसँग भेटघाट गरेका व्यक्तिहरु खोजी गरेर पनि सोधपुछ गरिरहेका छौँ । हालसम्मको सोधपुछ र अनुसन्धानबाट घटना पारिवारिक कारण नै भएको देखिन्छ ।’ यता प्रदेश प्रहरी कार्यालयले पनि सामूहिक हत्या घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको र यसको निष्कर्षमा चाँडो पुग्ने बताएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता इन्सपेक्टर अनिल पौडेलले मानबहादुर झुण्डिएको स्थान नजिकै भेटिएको खुकुरी, कपडा र मोबाइल परीक्षणको लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको जानकारी दिए । प्रहरीले अहिले त्यही परीक्षणको रिपोर्ट पर्खिरहेको उनको भनाई छ ।

‘घटनाको निष्कर्षमा पुग्न यति नै समय लाग्छ भन्ने अवस्था छैन,’ उनले भने, ‘तर, रिपोर्ट आएपछि हामी चाँडै नै सत्यतथ्य हामी सार्वजनिक गर्नेछौँ ।’ सामूहिक हत्या प्रकरणमा ज्यान गुमाउनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । बमकुमार फियाक मानबहादुरका ससुरा हुन् । उनीहरूको घर १५ मिनेट पैदल दुरी रहेको छ ।

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया