news-details

दुःखबाट मुक्ति पाउन, सन्तान लाभ हुन, पदोन्नति हुन, निरोगी हुन

Total Share : 0 Total Views : 0

दुःखबाट मुक्ति पाउन, सन्तान लाभ हुन, पदोन्नति हुन, निरोगी हुन यो मन्दिरमा एकपटक दर्शन गर्न पुग्ने हरेकको मनोकामना पुरा हुन्छन् 
महादेवस्थान–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को छ । थुम्कोको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई हलेसी महादेव गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाविसको नाम महादेवस्थान रहन गएको हो । गुफाभित्र प्रवेश गरी करिब ३ सय फिट तल ओर्लिएपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजारभन्दा बढी मानिस अटाउन सक्छन् ।

गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेव र गणेशको प्राकृतिक मूर्ति एकैठाउँ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीका लागि दूध ल्याइरहेको जस्तो आकृति छ, जहाँ निःसन्तानले सन्तान माग्ने चलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्वार, पापद्वार छ । त्यस द्वारबाट धर्मात्माहरू छिर्न सक्ने र अधर्मी छिर्न नसक्ने किंम्वदन्ती छ ।

यसबाहेक जन्मद्वार, स्वर्गद्वार, कर्मद्वार, तेत्तीसकोटी देवताका प्रतिमूर्ति लगायतका विशेष महत्वका ढुंगाका प्राकृतिक मूर्तिसमेत गुफाभित्र छन् । यहाँ एउटा चट्टानै चट्टानको थुम्को परेको डाँडामा अवस्थित छ । यस थुम्कोलाई कैलाशपर्वत भन्ने गरिन्छ । यो थुम्कोको परिधी झन्डै एक किलोमीटर जति छ र उचाई २०० फिट जति छ । यो थुम्कोमा अर्को एउटा ठूलो गुफा छ ।

यसलाई बसाहाथान भनेर चिनिन्छ । जुन गुफाको मुखमा बसाहलाई राखी महादेव आकाशमा निस्के भनिएको छ त्यो वारपार छिचोलिएको गुफालाई बसाहा थान भनिन्छ । यो गुफाको मुखमा आज पनि एउटा अजङ्गको चट्टान छ र यसैलाई बसाहा भनी पूज्ने गरिन्छ । बसाहाथानको गुफा कैलाशपर्वत भनिने थुम्कोको फेदतिरबाट तेर्सो छेडिएर जाँदै झण्डै १५० फिटमा पुगेपछि अङ्ग्रेजी अक्षरको एल (L) जस्तो ९० डिग्रीको कोणमा ठाढै उठेर छिचोल्दै आकाशमा निस्किएको छ ।

यो गुफाको मुखबाट एकै चोटी ८/१० जना सजिलै पस्न सकिन्छ । यसको गर्भ झण्डै ४५ फिट चौडा छ । आकाशतिरको मुख धेरै चौडा छ । यस्को कुना काप्चाबाट पानी रसाएका छन् । एक ठाउँमा भित्तामा गाईका थुनहरू जस्तै चुनढुङ्गाका पग्लँदै गरेका जस्ता चुच्चा आकृतिहरू देखिन्छन् । त्यसबाट चुनमिश्रित चौलेनी रंगको पानी टप्कने गर्दछ ।

भक्तजनहरू त्याहाँ ‘दुध देउमाई’ भन्दै दुध थाप्दछन् । भनाइ छ भाग्यमानीको हातमा दूध चुहिन्छ । नभन्दै केहीका हातमा चौलेनी जस्तो चुनपानी हातमा खस्ने पनि गर्दछ । धर्मभीरू भक्तजन यसलाई कामधेनुको दुध भन्छन् भने भौतिकवादीहरू उता महादेवथानमा महादेवलाई चढाएको दुध रसाएर यता चुहिएको हो भनी अड्कल काट्दछन् । महादेवथानको गुफा बसाहाथानको गुफाको आकाश पट्टिको मुख नजिकै नै उत्तरपट्टी खाल्डे आकारमा अवस्थित छ ।

यसको ठीक माथि गुफाको सिलिङ्गमा चुनढुंगा पग्लिंदै गरेको जस्तो घोप्टे चुच्चाहरू छन् जसबाट निरन्तर चौलेनी रङ्गको पानी तप्किरहेको हुन्छ । माथिका चुच्चाहरू कामधेनुको थुन र पानीलाई उनैका दुध महादेवलाई स्नान गराउन खसेको हो भन्ने किमवदन्ती र जनविश्वास छ । मूर्ति वरीपरीका भाग मैदान परेको छ । यसलाई पहिले बाहिरबाट माटो ल्याई पुरेर बनाइएको हुनसक्छ ।

यस मैदानी मागमा एकै चोटी बीसौं रुद्रीहरू गर्न सकिन्छ । गुफाको सतहसम्म वर्लनको लागि कृतिम १०२ वटा खुड्किलाहरू बनाइएका छन् जो भर्यांग जत्तिकै ठाडो कोणमा छ । गुफाका शिलिङ र भित्ताहमा चट्टान पग्लिएर झरेका जस्ता धेरै आकृतिहरू छन् । कहीं मूर्तिहरू जस्ता बनेका छन् । कहीं माथिबाट चुहिएका भागलाई तलबाट चुलिएका चोसोले छोएर दुलाहरू बनेका छन् ।

ती मूर्तिहरू जस्ता आकृतिहरूलाई महादेवका परिवार सप्तर्षी नन्दी भृंगी र तेत्तिसकोटी देउताहरू भनेर पूज्ने गरिन्छ भने दुलाहरूलाई पापद्वार धर्मद्वार जन्मद्वार घोप्टेद्वार आदि भनेर पूज्ने र छिर्ने गरिन्छ । त्यस्ता द्वारबाट धर्मात्माहरू मात्र छिर्न सक्छन् र पापीहरू बीचमा अड्कन्छन् भन्ने धार्मिक विश्वास छ ।

अड्कनेहरूले आफ्नो पापको बारेमा ओकले पछि मात्र छुट्छन् भन्ने भनाई छ । बसाह गुफा महादेव गुफादेखि करिव सय मिटर पश्चिमतिर करिब २ सय २० फिट लामो र ५० फिट चौडाइमा फैलिएको बसाहा गुफा छ । एकैपटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २ सय १० फिटभित्र प्रवेश गरेपछि खुला र उज्यालो समथर भूभागमा पुगिन्छ । जहाँ चट्टानको प्वालबाट खुला आकाश देख्न सकिन्छ ।

त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेवसँग दूध माग्ने प्रचलन छ । दूध माग्दा भाग्यमानीको हातमा दूध र अभागीको हातमा पानी झर्ने विश्वास गरिन्छ । त्यस्तै सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति छ । बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्ति पनि छन् । भैरव गुफा महादेव गुफादेखि करिब ३० मिटर पूर्वतिर आकर्षक भैरव गुफा छ । यस गुफाको पनि आफ्नै महत्व र विशेषता छ ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ ।

त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया