news-details

आज महानवमी पर्व नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गरिदै

आज बडादशैंको नवौं दिन घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ ।

 

दायाँतर्फको तल्लो हातमा चक्र, माथिल्लोमा गदा, बायाँतर्फको तल्लो हातमा शंख, माथिल्लोमा कमल बोकेकी सिंहमा सवार देवीलाई सिद्धिदात्रीका रुपमा चिन्ने गरिन्छ । चामुण्डादेवीले रक्तबिज असुरको संहार गरेको दिनका रूपमा पनि महानवमीलाई लिइन्छ । हनुमानढोका दरबारका साथै सेनाका ब्यारेकहरूमा बाजागाजासहित बलि दिएर जंगी निशान र कोत पूजा गर्ने चलन पनि छ ।

 

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

 

You can share this post!


प्रतिक्रिया