news-details

डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यी तरिका अपनाउनुस्

काठमाडौं- दैनिक दाँत माझ्नु सामान्य कुरा हो । खाना खाइसकेपछि तथा बिहान र बेलुका दाँत माझ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर दाँत कसरी माझ्ने भन्ने विषय सवैलाई थाहा हुँदैन ।खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्नुपर्छ ।
शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाइमा विषेश ध्यान दिनु जरुरी छ ।
हामीले खाएका हरेक खानेकुराका स–साना टुक्रा दाँतमा अड्किएका हुन्छन् । गिजामा टासिएका हुन्छन् । यसको कारण दाँत किराले खाने, गिजा सुनिने, मुखमा घाउ–खटिरा आउने, गिजाबाट रगत आउने जस्ता समस्या देखिन्छन् ।
वीर अस्पलातका कन्सल्टेट डेन्टल सर्जन डा। प्रकाश बुढाथोकीले भन्छन् ‘मुखमा अड्केका खाद्य पदार्थ त्यहि कुहिन्छन् । कुहिएपछि त्यहाँबाट ‘अम्ल’ निस्कने गर्छ त्यसले दाँतलाई कुहियाएर दाँतमा खाल्टो पार्छ र त्यसलाई चिकित्सकको भाषामा क्याभिटि भनिन्छ ।’
उनले दाँत तथा मुखको सफाइबारे जनचेतनाको कमी हुँदा यस्ता समस्या देखिने बताए । जहाँ फोहोर त्यहाँ रोग भनेजस्तै मुख तथा दाँतको समस्याले हाम्रो शरीरको अरु अङ्गप्रत्याङ्ग पनि बिगार्ने उनले बताए ।
हामीले खाना खाँदा सम्म मात्र त्यो खाना हो । जब त्यो हाम्रो दाँतमा अड्केर बस्छ तब त्यो विष बन्छ । त्यसैले दाँतमा अड्किएको फोहोरलाई सफा गर्नको लागि हामीले ब्रसको प्रयोग गर्नुपर्छ । दाँत माझ्नु पर्छ ।
दिनको दुई पटक बिहान खाना खाएपछि र बेलूका खाना खाएपछि दाँत माझ्ने गर्नुपर्छ । अरु बेलामा खाना खाएपछि मुख कुल्ला गर्नुपर्छ । दाँत माँझ्दा नरम ब्रसको मात्र प्रयोग गर्नुपर्छ । एक पटकमा चार देखि पाँच मिनेट लगाएर सफा गर्यौ भने मुख तथा दाँतमा हुने ८० देखि ८५ प्रतिशत रोगहरुबाट मुक्त भइने डा. बुढाथोकी बताउँछन् ।
दातलाई स्वस्थ राख्न अति चिसो, अति तातो, अति नरम, अति गुलियो र अति अमिलो खाने कुराहरुलाई नियन्त्रण गर्नुपर्छ । सकेसम्म यस्ता खानेकुरा खान छोड्नुपर्छ । सन्तुलित खाना, हरियो साग–सब्जी, दुध तथा दुधजन्य पदार्थ र रेसा जन्य खानेकुराहरु बढी खाने गर्नुपर्छ ।
उनले दाँतको सुरक्षाका लागि आफूले दाँत माझ्न अपनाएको तरिका, प्रयोग गरेको ब्रस, अपनाएको ब्रसिङ टेक्निक, प्रयोग गरेको मञ्जन, खाएको खाना ठिक छ कि छैन त्यस विषयमा समेत राम्ररी जानकारी लिनुपर्छ । प्रत्येक ६-६ महिनामा आफ्नो दाँत तथा मुखको स्वाथ्य परीक्षण गराउन उनले सुझाए । समस्या शुरुमै पत्ता लागेमा सजिलै रोकथाम हुने अन्यथा स्वास्थ्यमा जोखिम निम्तिने समेत उनले बताए ।
दाँतको रङ पहेलो छ भने ब्लिच गर्दा र पटक-पटक स्केलिङ गर्दा दाँत झनै कमजोर हुने उनले बताए । उनले भने, ‘दाँत माझ्ने बेलामा सामान्य सिद्धान्तहरु पनि अपनाएका हुँदैनौं । नेपालमा ९० प्रतिशत भन्दा बढिले दाँत माझेको समय र तरिका मिल्दैन । दाँत माझ्ने सामान्यभन्दा सामान्य तरिका पनि सबैले थाहा पाएका हुदैनन् ।’
प्रायः मानिसहरुले दिनको एक पटकमात्र दाँत माझ्ने गरेको उनले बताए । जुनबेला फोहोर हुन्छ त्यसबेला दाँत माझ्ने गर्नुपर्छ । दाँत सबैभन्दा बढी फोहोर हुने भनेकै कुनै चिज खाएकै बेला हो ।
ब्रसलाई ४५ डिग्रिमा राखेर दाँत माझ्ने गर्नुपर्छ । ९० देखि ९५ ले प्रतिशतले यो कुरा जानेका छैनन् । नरम किसीमको ब्रस प्रयोग गर्नुपर्छ । उनले भने “कडा ब्रसहरु बोलत सफ गर्न तथा जुत्ता सफा गर्न बनाइएका हुन् दाँतका लागि होइनन्।”
फ्लोराइडी भएको मञ्जन प्रयोग गर्नुपर्ने उनी बताउँछन् । ब्रसभरी मञ्जन राखेर मात्रै दाँत सफा हुँदैन । सानो बच्चाहरुलाई सानो केराउको दाना जति मञ्जन राख्ने पुग्छ । ठूलो मानिसका लागि ठूलो केराउको दाना जति ब्रसको माथि राखेर त्यसलाई बुढि औँलाले भित्रसम्मै पुग्ने गरी थिच्नुपर्छ ।
यदि ब्रसको बाहिर मात्र मन्जन रह्यो भने ब्रस पहिला प्रयोग भएको ठाउँमा सकिन्छ । पछि फिज मात्र आउँछ । भित्र थिच्यौं भने जति पटक पटक प्रयोग गर्दा प्रत्यक सतहमा पुग्छ र भित्रको मन्जन बाहिर आउँछ र राम्रोसँग दाँतको सफाइ हुन्छ ।
दाँत दुखेको बेलामा पेन किलर खानु हुँदैन । धेरै पेन किलरको प्रयोगले ग्यासट्रिक बढाउँछ भने कलेजो बिगार्ने सम्भावना अधिक रहन्छ । स्वास्थ्य संस्थामा उपचार नगराई घरमै औषधी खाएर दाँत तथा मुखको उपचार नगर्न डा. बुढाथोकीको सुझाव दिए ।
दाँतको बाहिरी तह इनामेलले बनेको हुन्छ, जुन शरिरको कडा तत्व हो । कुनै कारणबस दाँतमा खिया लाग्यो तथा किराले खायो वा कडा ब्रस प्रयोग गरेर इनामेल गयो भने सामान्य हावा चल्दा पनि दाँत सिरिङ्ग हुने, दाँत टुक्रिँदै जाने समस्या देखिन्छ । त्यसैले दाँत सम्बन्धी समस्या देखिए चिकित्सकको परामर्श लिनु उचित हुने उनी बताउँछन् ।

 

You can share this post!


प्रतिक्रिया