news-details

हेल्प नेपालद्वारा ग्लोबल समिटको तयारी, ३ व्यक्तित्व सम्मानित हुँदै

काठमाडौं- बीस वर्षदेखि परोपकारका क्षेत्रमा सक्रिय संस्था हेल्प नेपाल नेटवर्कले विश्व वार्षिकोत्सव (ग्लोबल समिट) को तयारी गरेको छ । उक्त संस्थाले असोज २५ गते स्थापनाको २० औं विश्व वार्षिकोत्सव काठमाडौंमा मनाउने जानकारी दिएको हो ।


बुधबार आयोजना राजधनीमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अरुणसिंह बस्नेतले दशैंपछि लगत्तै आयोजना हुने ग्लोबल समिटका अवसरमा सामाजिक सेवाका ‘दानवीर र कर्मवीर’ लाई सम्मान समेत गरिने जानकारी दिए । वार्षिकोत्सवमा विश्वका विभिन्न मुलुकका प्रतिनिधि काठमाडौं आउने जनाइएको छ ।

स्थापनाकालदेखि नै नेटवर्कले एक डलर वा एक पाउन्ड उठाएर नेपालमा सहयोग गर्ने अवधारणा बनाएको थियो । विशेषतः शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने उद्देश्य लिएरै संस्था स्थापना गरिएको अध्यक्ष बस्नेतले बताए ।

अध्यक्ष बस्नेतले भने, ‘आफ्नो काम धन्दा गरेर बचेको समय र पैसाले व्यवहारिक परोपकार गर्ने भन्ने हेतुले हामीले हेल्प नेपाल नेटवर्कको स्थापना गरेका थियौँ । हामीले धेरै काम गरेको जस्तो पनि लाग्दैन । तर आज २० वर्ष भइसकेको छ ।’

वार्षिकोत्सवका अवसरमा सो संस्थाले समाजसेवी श्रीजङ्ग शाह, आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत र मोफसलमा रही समाजसेवामा क्रियाशील निरादेवी साहलाई सम्मान गर्ने समेत बताइएको छ ।

डा.रुइतले आँखा उपचारमा ख्याति कमाएका छन् भने श्रीजङ्ग शाहले आफ्नो अर्बौँको सम्पत्ति अस्पताललाई दान गरेका छन् । यसैगरी निरादेवी साहले जनकपुरमा बेवारिसे बालबालिकालाई आश्रय दिएर हुर्काउने, बढाउने र पढाउने काम गर्दै आएकी छन् ।

२० वर्षको अवधिमा हेल्प नेपालले विकट ठाउँमा स्कुलका भवनहरू, स्वास्थ्य शिविर, आँखा शिविर, इ–लाइब्रेरी, प्राकृतिक प्रकोप, आगलागी, भूकम्पमा उदाहरणीय काम गरेको छ । संस्थाले भूकम्पपछि ७ वटा स्कुलका भवनहरू समेत बनाइसकेको छ भने दुईवटा ठूला स्कुलका भवन निर्माणधीन अवस्थामा रहेको जानकारी दिएको छ ।

अस्ट्रेलियाबाट आएका हेल्प नेपालका सहयोगीहरू इन्द्रा वन र लक्ष्मण शर्माले आफूहरूले समाज सेवाका लागि हेल्प नेपालसँग रहेर स्थापनाकालदेखि नै सक्रिय रहँदै आएको बताए ।

 

You can share this post!


प्रतिक्रिया