आज श्रीपञ्चमी



काठमाडौँ, माघ २७ गते । माघ शुक्ल पञ्चमीका दिन आइतबार समस्त हिन्दूले विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको आराधना गरेर श्रीपञ्चमी मनाउँदैछन् । यसै अवसरमा राष्ट्रप्रमुखबाट हनुमानढोका दरबारस्थित नासलचोकमा सरस्वतीको जलघडा अभिषेक ग्रहण गर्दै वसन्त श्रवण गर्ने प्रचलन छ । यसको आवश्यक तयारी सम्पन्न भएको दरबारका पर्व पूजा संयोजक मिठाराम पुडासैनीले जानकारी दिनुभयो । यस दिनलाई नवगृह प्रवेश, जीर्ण गृह प्रवेश, विवाहलगायतका धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने दिनको रूपमा लिइन्छ । यसै दिन शिशुलाई अक्षराम्भ गराउने र नाक कान छेडाउने प्रचलन पनि छ । गैरीधाराको नील सरस्वती, लेलेको सरस्वती कुण्ड, थिमिको सरस्वती खेल, मैतिदेवीको सरस्वती मन्दिर, स्वयम्भूलगायतका मुलुकभरका सरस्वती मन्दिरमा भक्तजनको उल्लेख्य घुँइचो लाग्ने गर्दछ । कतिपय निजी विद्यालयले यो अवसरमा बालबालिकालाई निःशुल्क विद्यालय भर्नाको व्यवस्था पनि गरेका छन् ।


about author
प्रतिक्रिया