​मेलम्ची खानेपानी आयोजना सीएमसीसँगको सम्झौता रद्द



लक्ष्मण दर्नाल 


काठमाडौँ - मेलम्ची खानेपानी विकास समितिले आयोजनाको सुरुङ निर्माण गर्न जिम्मा पाएको कम्पनी सीएमसीसँगको सम्झौता रद्द गरेको छ ।  समितिको बिहीबार बसेको बोर्ड बैठकले सम्झौता रद्द गरेको हो । बैठकले सम्झौता रद्द गरिएको जानकारी सहितको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक तथा बोर्ड सदस्य सूर्यराज कँडेलले जानकारी दिनुभयो ।  अबको केही दिनमा नयाँ कार्ययोजना बनाएर प्रस्ताव मन्त्रिपरिष्दमा पठाउने तयारी गरिएको निर्देशक कँडेलले जानकारी दिनभुयो । उहाँले भन्नुभयो, “अब कसरी अगाडि बढ्ने भन्ने कुरामा हामीले दुईवटा प्रस्ताव बनाएका छौँ, द्रूत गतिमा जाने वा नियमित प्रक्रियाबाट जाने । यी दुईवटा प्रस्तावमा मन्त्रिपरिद्ले निर्णय गरेपछि हामी अगाडि बढ्छौँ वा सरकारले अन्य प्रस्ताव पनि दिन सक्छ ।’’


निर्माण कम्पनीले काम छाडेर गए पनि परियोजना सम्पन्न गर्न दुईवटा प्रस्ताव अगाडि ल्याइएको छ । पहिलो विकल्पमा द्र्ुत मार्गबाट जान सकिने छ । जसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १४५ अनुसार बिशेष परिस्थितिको कारण जनाई खरिद गर्ने प्रक्रिया पु¥याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने उल्लेख छ । त्यसरी गए चार महिनाको अवधिमा परियोजना सकिने बताइएको छ ।  दोस्रो विकल्पमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आह्वानमै तीनदेखि नौ महिनासम्म लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्षसम्म लाग्ने अनुमान गरिएको छ । समितिले यी दुई विकल्प मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन लागेको हो । 


इटालियन निर्माण कम्पनी सीएमसीले पुस १ गते काम गर्न नसक्ने जानकारी गराउँदै निर्माणस्थल छाडेपछि समितिले पटक—पटक आग्रह गर्दा पनि नफर्किएपछि सम्झौता रद्द गरेको हो । सम्झौता रद्द गर्ने आशयसहितको १४ दिनको म्याद दिएर अन्तिम पटक पत्राचार गरे पनि निर्माण कम्पनी सम्पर्कमा आएन ।बिहीबारको बोर्ड बैठकमा पाँचजनामध्ये चारजना सदस्यको सहभागिता थियो । बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष गजेन्द्रकुमार ठाकुर, समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेल, अर्थमन्त्रालयका सहसचिव सुशील पाण्डे र आयोजना प्रभावित क्षेत्र मेलम्चीबाट स्थानीय चन्द्रबहादुर थापाको सहभागिता थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य बैठकमा अनुपस्थिति हुनुहुन्थ्यो । 


मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने योजना छ । दोस्रो चरणको परियोजना सुरु भएपछि याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङमा मिसाएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ । 


याङरी र लार्के खोलाको पानी सुरुङ मार्गमा मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हुन्छ । समिति अनुसार सन् २०२२ सम्ममा याङरी र लार्के खोलाको पानी पनि काठमाडौँ आउने छ । दोस्रो चरणको आयोजनाका लागि सडक निर्माणमा मुआब्जाको ढिलाइ भइरहेको समितिले जनाएको छ । 


काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार काठमाडौँ उपत्यकामा दैनिक ४५ करोड लिटर पानीको माग छ तर वर्षात्मा १६ करोड लिटर र सुक्खायाममा १२ करोड लिटर मात्र आपूर्ति हुन्छ । उपत्यकामा हाल मागको एक चौथाइ पानी मात्र आपूर्ति भइरहेको छ । पुरानो वितरण प्रणाली विद्यमान रहेकाले समान वितरण प्रणाली लागु हुन सकेको छैन । 


इटालीको ठेकेदार कम्पनी सीएमसीले नेपालका सहायक निर्माण कम्पनी, सप्लायर्स र कामदारको डेढ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । सरकारले कम्पनीबाट धरौटी, उपकरण तथा निर्माण सामग्री वापत करिब पाँच अर्ब रुपियाँ जफत गर्नसक्ने जनाइएको छ ।



about author
प्रतिक्रिया