​सोह्रकला सम्पन्न भगवान् श्रीकृष्णको अवतारको रहस्य



मधुसुदन सुवेदी

रोहिण्यासहित कृष्णमासि भाद्रपदेऽष्टमी ।

अर्धरात्रेति योगोऽयम् तारापत्युदये तथा ।

सच्चिदानदरुपाय विश्वोत्पत्यादिहेतवे ।

तापत्रयविनाशाय श्रीृष्णय वयं नुमः ।।

आज भाद्र कृष्ण श्रीकृष्णाष्टमी हो । भगवान् श्रीकृष्ण यो जगत्को उत्पत्ति, स्थिति र प्रलयका कारक हुनुहुन्छ । साथै उहाँ सच्चिदानन्द स्वरुप हुनुहुन्छ । यस्ता भगवान् श्रीकृष्णको हामी सबैले अभिवादन गरौँ ।

भाद्रकृष्ण अष्टमीको रातको बाह्रबजे मथुरा शहरको झ्यालखानामा वसुदेवजीकी पत्नी देवकीको गर्भबाट सोह्रकला सम्पन्न भगवान् श्रीकृष्णको अवतार भएको थियो । अर्धरात्रिको समय जब अज्ञानरुपी अन्धकारको विनाश र ज्ञानरुपी चन्द्रमाको उदय भइरहेको थियो, त्यस समय देवरुपिणी देवकीको गर्भबाट सबैको अन्तःकरणमा विराजमा न पुराणपुरुषोत्तम व्यापक परब्रह्मा विश्वम्भर प्रमु भगवान् श्रीकृष्ण प्रकट हुनुभयो । त्यस समय यस्तो भान हुन्थ्यो कि पूर्व दिशामा पूर्णचन्द्र प्रकट हुुनुभएको हो । 

श्रीकृष्ण भनेको के हो ? उनी को हुन् ? श्री भनेको जलमा, थलमा सारा ब्रम्हाण्डमास्थित रहेको मानिएको हो । कृष्णभन्दा सूर्य, चन्द्र, तारा, बत्ती कुनै चिजको उज्यालो नहुँदा जताततै निराकार आफैँ कालो प्रकट भई जसले हेर्दा पनि केही देख्न नसकिने र कसै–कसैले छकाउँछु भनेर जति–जति कुना खोजेर गयो उति–उति गाढा कालो कृष्ण प्रकट हुँदै जान्छ तैपनि अज्ञानी व्यक्ति केही देख्दैन । यसरी ईश्वरले विषयमा धकेलिदिन्छ । त्यही कालो सर्वव्यापी हुनाले श्रीकृष्ण भनिएको हो ।

जआको ५१४५ वर्ष पूर्व–भाद्र कृष्ण अष्टमी बुधबार, रोहिणी नक्षत्रमा उत्तर भारतको शूरसेन देशको राजधानी मथुराको झ्यालखानामा परब्रह्मा परमेश्वर पूर्ण अंश लिई श्रीकृष्णवतारको रुपमा अवतरण हुनुभएको थियो । शास्त्रअनुसार भगवान्को तीन स्वरुप बताइउको छ सत्, चित्, आनन्द । सत्को अर्थ भूत भविष्यत् वर्तमान तीनै कालमा रहिरहने अविनाशी नित्य भन्ने हुन्छ । चित्को अर्थ चैतन्य स्वरुप सबै पदार्थको ज्ञान हुने हो । जडवस्तुमा सत् मात्र रहन्छ तर चित् आनन्द छैन । जीवनमा सत्, चित् र आनन्द तीनै तत्व प्रकट हुन्छ तर परमानन्द हुँदैन । याने अप्रकट रुपले रहेको हुन्छ, अर्थात् अव्यक्त रुपले रहेको हुन्छ । परमानन्द आफ्नोभित्र आत्मामा नै हुन्छ । तर मानिस त्यो आनन्द खोज्न बाहिर भौँतारिन्छन् । मानिस त्यो आनन्द, भोग, विलास र धनसम्पत्ति आदिमा नै खोज्दछन् जुन सम्भव छैन। आनन्द दुई प्रकारका छन् ;

1. साधनजन्य आनन्द ; साधनाजन्य आनन्द भनेको उच्चपद, प्रशस्त धन दौलत, मनोहर स्त्री, पुत्रादिबाट प्राप्त हुने आनन्द हो वास्तवमा यो आनन्द क्षणिक हुनाले पछिसम्म रहँदैन र अन्त्यमा दुःखदायी हुन्छ ।

२.स्वयंसिद्ध आनन्द ; यो आनन्द भनेको आत्मामा स्वतः प्राप्त हुने आनन्द हो, तृष्णा त्यागी सन्तोषी बनी भगवत् प्राप्ति मार्गमा लागि भगवान्तर्फ सदा उन्मुख भएमा मात्र यो आनन्द प्राप्त हुन्छ । यसैबाट मानव मात्रको कल्याण हुन्छ ।

सत्–चित्– आनन्द ईश्वरमा नै परिपूर्ण छ । परमात्मा श्रीकृष्ण परिपूर्ण आनन्द स्वरुप हुनुहुन्छ, परिपूर्ण ज्ञानी हुुनुहुन्छ । किनभने सोह्रहजार रानीसँग कुरा गर्दा पनि सोही आनन्द र द्वारका आदि नाश हुन लागको बेलामा पनि परमान्दको नाश भएन । त्यसकारण श्रीकृष्ण स्वयं आनन्द स्वरुप हुनुहुन्छ । उत्पत्ति, स्थिति, संहार तीनै अवस्था श्रीकृष्णको लीला हो, यसमा कुनै परिवर्तन आउँदैन सबैमा भगवान् आनन्द मानिबक्सिन्छ ।

आध्यात्मिक, आधिदैविक र आधिभोतिक यी तीन प्रकारको तापको नाश गर्ने भगवान् श्रीकृष्णको हामी अभिभावद गर्दछौँ । यस्ता चिरस्मरणीय भगववान् श्रीकृष्णलाई हामी सबैले हृदयारविन्दमा राखौँ, हाम्रो ताप सधैँ नाश हुन्छ । घर छाडी, परिवार छाडी, अन्यत्र रहेका, दिक्क भएका, तापमा परेका, जो कोहीले पनि श्रीकृष्ण भगवान्को स्मरण गरौँ सबै ताप नाश हुन्छ ।

“कृष्णस्तु भगवान् स्वयम्” शास्त्रले बताएअनुसार सच्चिदानन्द परब्रह्मा परमात्मा सर्वेश्वर भगवान् श्रीकृष्ण सबै प्रभु दिव्यधामबाट पृथ्वीतलमा अवतीर्ण हुनुभएको हो । नित्य विभूतिबाट लीलाविभूतिमा अवतीर्ण हुनुभएको प्रभुको समस्त गुणशक्ति यथावत् रहने छ । यसैलाई अजहद् गुणशक्ति भनिएको छ । युग–गुगान्तर, कल्प–कल्पान्त्रको भक्तहरुको इच्छापूर्ण गर्नको लागि नै श्रीकृष्णको यो अवतार भएको हो ।

सिगुण–साकार हुँदा पनि यही लल व्याप्त–व्यापकता, शक्ति शक्तिमानको अभिन्नता दर्शाउँदछ । सर्वेश्वर सर्वनियन्तृत्व, सर्वव्यापकत्व, सर्वान्तर्यामित्व आदिभाव पनि स्वयं सिद्ध छ । अतः एव भगवान् श्रीकृष्णमा सगुण–साकार, निर्गुण, निराकार अर्थात् सविशेषनिर्विशेष आदि परम्सर विरुद्ध धर्म पनि समान रुपमा विद्यमान रहन्छ । “कर्तुमकर्तुमन्यथाकर्तुं सर्वसमर्थवान् ईश्वरः” यस आप्त व्युत्पत्तिबाट उहाँमा ईशवरत्व अथवा सर्वेश्वरत्व स्वतः सिद्ध रहेको छ ।

आनन्दकन्दब्रजेन्द्रनन्दन वृन्तावनविहारी सर्वेश्वर श्रीकृष्णको नित्य निकुञ्जलीला परम आनन्ददायक शक्ति श्रीराधा एवं नित्य साथीहरुका साथ रहने हुनाले कैशोरभावयुक्त रमुधरातिमधुर छ, अलौकिक एवं दिव्य छ । ब्रजलीलाहरु माधुर्यप्रधान ऐश्यर्य लीलाहरु हुन् । जहाँ मखन चोरी गर्न, ओखलमा बाँधिने आदि लीला दुष्ट दमन गर्ने पनि हो । मथुरा–द्वारकाको लीलाहरु ऐश्यर्वप्रधान, माधुर्य लीलाहरु हो । यी समस्त लीलाहरु देश, काल परिस्थितिअनसार आवद्ध छन्, तैपनि नित्य एवं दिव्य छ । यिनै लीलाहरुको गायन, श्रवण, मनन एवं चिन्तन गरेर भावुक भक्तजनहरु सदा आनन्द सागरमा निमग्न रहन्छन् ।

महाभारतको युद्धमा अर्जुनलाई निमित्त बनाएर भगवान् श्रीकृष्णको मुखारविन्दबाट निक्लिएको भगवद् गीता विश्वको महान् धर्मग्रन्थ भएको छ । गीताको ज्ञान एकपक्षीय होइन । कमृयोग, ज्ञानयोग, सन्यासयोग तथा भक्तियोगको अनेकता गीतामा समन्वयात्मक एकता पाइन्छ । परमात्मालाई जान्नु ज्ञान हो भने उहाँलाई प्राप्त गर्ने कर्म गर्नु भक्ति हो । गीताले कर्तव्य कर्मको लागि आदेश दिन्छ । आजको मानव समाज भने कर्तव्यबाहेक, अधिकारलाई महत्व दिन्छन् । राम्ररी अध्ययन गर्ने हो भन अधिकार पाउनको लागि सबै लालायित रहन्छन् । तर गीताले यो बताउँदछ– कर्तव्य–कर्म गर, अधिकार र फलको आशा छोडिदेऊ । “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” जुन दिन मानिस कर्तव्य–कर्मलाई महत्व दिन थाल्दछन् त्यसै दिन सत्ता र सम्पत्तिको संघर्ष समाप्त हुन्छ ।

हामीमध्ये धेरैले पढेका हौँला कथा, पुराण, महाभारत आदिमा भगवानले जस–जसलाई कृपा गर्नुभएको छ सो दुःखमा नै गनुृभएको छ । जस्तो पञ्चपाण्डव जबसम्म दुःखमा हुनुहुन्थ्यो । तबसम्म श्रीकृष्णले सहायता गर्दै रहनुभयो । जब पाण्डव सिंहासनमा विराजमान भए त्यसपछि श्रीकृष्ण पनि त्यहाँबाट हटिबक्स्यो । तसर्थ सुखको साथी जीव हो दुःखको साथी ईश्वर परमात्मा हुनुहुन्छ । श्रीकृष्ण दयाका सागर हुनुहुन्छ । उहाँ ब्रम्हारुपमा सत्य, त्रेता, द्वापर, कलि चारै युगमा सबै जीवसँग विराजमान हुनुहुन्छ । तर जसजसलाई दुःख आइपरेको छ दुःखीको सामीप्यमा ज्यादा स्नेहमा साथ रहनुहुन्छ । अर्थात् दुःखमा नै भगवान्को स्मरण हुन्छ ।

जुन समयमा श्रीकृष्णले अर्जुजनको मोह निवारण गर्नको लागि जुन कर्मयोगको उपदेश दिनुभयो, त्यो उपदेश अर्जुनको लागि मात्र नभई मानव मात्रको कल्याणको लागि हो । त्यो उपदेश सारा उपनिषद्को सार हो कृष्णद्वैपायनको कीर्तिलाई अमर गर्ने श्रीमद्भावत् गीता हो । यस बारे यसरी बताइएको छ–

सर्वोपनिषदो गावो, दोग्धा गोपालनन्दनः ।

पार्थो वत्सः सुधीभोक्ता, दुग्धं गीतामृतं महत् ।।

अर्थात् सबै उपनिषद् गाई हुन्, श्रीकृष्णले नै यसलाई दुहेको हो, अर्जुन यसको बाच्छा हुन् जसले दूध पगारेर सबै बुद्धिमान् व्यक्तिहर यस दूधको उपभोग गर्न सकून् र सुधारुपी महा गीताज्ञान स्वरुप अमृत पान गर्न सकून् भनी भगवान्ले उपदेश गर्नुभएको हो । वास्तवमा गीतामा उल्लेख भएको कर्मयोग, ज्ञानयोग, भक्तियोग श्रीकृष्णले सर्वप्रथम श्री सूर्यदेवलाई सुनाउनुभएको थियो । त्यसपछि त्यही उपनिषद्को सार सुर्यदेवले मनुलाई बताउनुभयो । सूर्यदेवबाट पाउनुभएको र स्मरण गर्नुभएको योगहरु मनु महाराजले इक्ष्वाकुलाई सुनाउनुभयो । यसरी सुन्ने र सुनाउने गुरु–शिष्य परम्परा टुट्दै गयो ।

राष्ट्रनिर्माताहरुले राजनेताहरुले र सत्ताधारीहरुले यदि गीताको ज्ञान लिछन् गीताले भनेका अवलम्बन गर्दछन् भने यो राष्ट्रको सर्वाङ्गीण विकसा हुनका साथै विश्वलाई एक नयाँ दिशा दिन पनि सक्दछन् । गीताले मानव मात्रलाई जीवन चलाउने, समाज चलाउने शैली बताउँदछ । गीताले अध्यात्मवादको साथसाथै प्रगतिवाद, प्रगतिवादको साथसाथै अध्यात्मवादको शिक्षा प्रदान गर्दछ । गीता धर्म र विज्ञानको समन्वयात्मक रुप हो । “ज्ञानं तेऽहं सविज्ञानम्” विज्ञानको साथसाथै आध्यात्मिक ज्ञानको समन्वय हुन्छ जसले समाजमा रहेको कुरीति, कुसंस्कार, एक आपसमा द्वन्द्व, पार्टीपार्टीमा द्वन्द्व, अहम्भाव आदि कुरा रोक्न सक्तछ । महाभारत युद्धमा अर्जुनले श्रीकृष्णसँग गरेको प्रश्न मानव मात्रको कल्याणको लागि प्रश्न हो । मानव इतिहास र सभ्यताको विसङ्गतिद्वारा आजको युवाजगत् कर्तव्य पथबाट विमुख भएका छन् । युवाहरुमा आलश्य, घमण्ड र कर्तव्यहीनता आयो भने राष्ट्र र समाजको अधोपतन हुन जाने आवश्यंभावी छ । जुन आजकाल हाम्रो देश टड्कारो रुपले देखिएको छ । यही नै ज्यादै दुःखको कुरा हो ।

आखिरमा कुरुक्षेत्रको युद्धमा धनुर्धारी श्री अर्जुनलाई भगवान् श्रीकृष्णले पुनः उपदेश गर्नुभएको हो “गीता” जुन सर्वदेशीय, सर्वकालिक र जातिविशेषमा निरपेक्ष छ । यस्तो अति पवित्र हाम्रो ज्ञान भण्डार सम्पत्ति०को मर्यादा हामी सबैले राख्नुपर्ने कुरा बुझेको खण्डमा हामी सबौके कल्याण हुने थियो । त्यसैले हामी सबैले भगवान् श्रीकृष्णमा समर्पित होऔँ यही मेरो सबैसँग अनुरोध छ ।


about author
प्रतिक्रिया