समसामयिक कथा, सरल प्रस्तुति



सपना महर्जन



काठमाडौं : स्व.बीपी कोइरालाको एउटा जीवनस्पर्शी भनाइ छ, ‘ठूलो मान्छे होइन, असल मान्छे बन्नू।’ चलचित्र ‘गोपी’ले त्यही असल मान्छे बन्न प्रेरित गरेको छ। असल अर्थात् कमसेकम आफ्नो देशप्रति इमानदार। आफ्नै माटोमा पोखाएको पसिनाप्रति विश्वास कायम राख्नू। गोपी मूलधारका ड्रामेटिक फिल्म जस्तो छैन। साधारण अनुहार, लवाइखवाइ र परिवेश छ।



विपिन कार्की गाईपालक युवाको रूपमा चलचित्रमा छन्। उनको हाउभाउ शान्त र सुस्त छ। उनले बोल्ने संवादबाट उनी किसान कम र समाज सुधारक व्यक्ति बढी प्रतीत हुन्छन्। फिल्ममा कहीँ कतै विपिन गाई पाल्ने रहर कसरी पैदा भयो बताइएको छैन। उनी शिक्षित व्यक्ति हुन्। बिहानै ४ बजे गाई दुहुने, दूध बेच्न जाने, गाईको गोठ सफा गर्ने, दाना पानी बनाउने र दिउँसो विद्यालयमा पढाउन जाने काम नै उनको दैनिकी हो। उनको यही दैनिकीलाई फिल्ममा बारम्बार दोहोर्‍याइएको छ। पछिल्लो समय देशको राजनीतिक माहोल नसुध्रिँदा स्वदेशमै केही गर्न खोज्ने युवामा चुनौती अझै थपिएको छ। लगानीको वातावरण नभएको भन्दै दैनिक सयौं युवा बिदेसिएका छन्।



इच्छाएको व्यवसाय गर्न खोज्दा लगानी डुब्ने सम्भावना छ। यसबाट युवा निराश छन्। बिनाअनुभव काम गर्दा सुरुसुरुमा असफल हुने सम्भावना धेरै हुन्छ। त्यसो भन्दैमा हरेस नखान र प्रयास गर्न नछाड्न फिल्मले सुझाएकोे छ। ‘बिजनेसमा कि नाफा हुन्छ, कि घाटा’, नायक विपिन कार्की (गोपी)ले व्यवसायको यही सामान्य नियमलाई आत्मसाथ गर्दै आफ्नो गाई पाल्ने पेसालाई निरन्तरता दिन खोजेका छन् त्यो पनि घर नै धितो राखेर। उनी यसमा सफल हुन्छन् कि हुँदैनन् फिल्मले निष्कर्ष दिएको छैन।



गाई व्यवसायी गोपीको शरीरबाट गोबरको गन्ध आउनु, बैंकको ऋण तिर्न नसक्नु, दूधको मूल्य नबढ्नुजस्ता पक्ष समेटेर फिल्मले किसानको अवस्था उजागर गर्ने कोसिस गरेको छ। ‘गाईलाई हामीले पाल्ने होइन गाईले हामीलाई पाल्ने हो’, चलचित्रको यो एक संवादले पूरै कथा थामेको छ। किसानले व्यावसायिक कृषि पेसा गर्न सिक्नुपर्छ भन्न खोजिएको छ। हाम्रो देश कृषि प्रधान मुलुक हो।



देशको समृद्धि कृषि क्रान्तिबाट मात्रै सम्भव हुने कुरामा दुईमत छैन। तर आज जमिन बाँझो राखेर युवा बिदेसिएका छन्। पढेलेखेका युवा स्वदेशमा बस्न नचाहँदा अवस्था अझै विकराल बनेको छ। शिक्षितले किसानी पेसा गर्नु हुँदैन भन्ने बुझाइ हामीमा व्याप्त छ। घाँसपात गर्नु, गाईको गोबर सोर्नु पढेलेखेका युवालाई सुहाउँदैन भन्ने मान्यता हाम्रो छ। तर स्नातकसम्मको पढाइमा गोल्ड मेडलिस्ट गोपीले गोठालो पेसा रोजेका छन्। जुन ग्रिनकार्डको सपना बोक्नेहरूका लागि पत्याई नसक्नु छ।



चलचित्र गोपीले सरकारको स्वरोजगार योजनाप्रति अप्रत्यक्ष रूपमा असन्तुष्टि जाहेर गरेको छ। व्यवसाय गर्न आर्थिक समस्या सामना गरिरहेको एक युवाको संघर्षले सरकारको नीतिप्रति विद्रोह गर्छ। विदेश जाने कुरामा आफन्त र परिवार दुवैले आर्थिक सहयोग गर्न सजिलै तयार भए पनि देशमै केही गर्न खोज्दा कसैले विश्वास नगर्ने स्वाभाविकता चलचित्रले उठाएको छ। स्वदेशमै उदाहरणीय काम गर्ने युवाप्रति चलचित्रले समर्थन जनाएको छ।



देशमै केही गर्न खोज्दा पारिवारिक, सामाजिक, आर्थिकदेखि राजनीतिक समस्या सामना गर्नुपर्ने अवस्था छ। यी सारा समस्याबाट भाग्नुभन्दा जुझेर सामना गर्न युवालाई प्रेरित गर्न खोजिएको छ। सुखद भविष्यका लागि छोराछोरी बिदेसिनै पर्छ भन्ने सोच आजका अभिभावकको छ।



असल मान्छे बन्न आशीर्वाद दिने तिनै हात आज ठूलो मान्छे नै बन्नुपर्ने दबाब दिन्छन् र हाम्रो समाजमा तिनै व्यक्तिलाई ठूलो र प्रतिष्ठित मानिन्छ जसको हातमा ग्रिनकार्ड हुन्छ। चलचित्र गोपीले हाम्रा यिनै धारणामा परिवर्तनको माग गरेको छ। फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिकामा छन्। निर्देशन दीपेन्द्र लामाले गरेका छन् भने पटकथा सामीत्यराज तिमल्सिनाको छ।


about author
प्रतिक्रिया